गर्मीमा छालाको हेरचाह गर्ने तरिका «

गर्मीमा छालाको हेरचाह गर्ने तरिका

मानिसहरू आफ्नो सौन्दर्यता जोगाउनका लागि अनेकौं खर्च गर्ने गर्छन् । शारीरिक व्यायाम, खानपिनमा ध्यान दिनेदेखि लिएर अनेकौं प्रकारका औषधि तथा क्रिमहरूको पनि प्रयोग गर्ने गर्छन् । त्यसैले बजारमा मौसम र छालाको स्तरअनुसार लगाउने क्रिमहरू अलग–अलग रूपमा पाइन्छ । त्यस्ता सामग्रीहरूको बजारमा माग हुनु व्यावसायिक तथा आर्थिक हिसाबले राम्रो पनि हो । यसले रोजगारी तथा देशको राजस्वमा वृद्धि हुनुका साथै मानिसहरूले सुपथ मूल्यमा गुणस्तरीय सामानहरू पाउने गर्छन् ।
पछिल्लो समय इन्स्टाग्राम, फेसबुक, टिकटकजस्ता विभिन्न सामाजिक सञ्जाल तथा इन्टरनेटको पहुँचले सबैलाई सुन्दर हुने इच्छा बढेको देखिन्छ । किनकि आफूलाई सुन्दर राख्ने चाहना हामी सबैमा हुन्छ । तर, समयमाथि कसैको लगाम लाग्दैन । उमेर बढ्दै जाँदा व्यक्तिको सौन्दर्यमा ह्रास आउन थाल्छ । त्यसमाथि पनि गर्मी महिनाको चर्को घाम, पानी, धूलोधूवाँले निकै नै असर गर्ने गर्छ । गर्मीयाममा तापक्रम बढ्ने भएकाले छालामा धेरै प्रकारका समस्या जस्तै— घमौरा, पसिना, रौँको एलर्र्जी, खटिरा, शरीर चिलाउने समस्याहरू देखा पर्छ भने पसिना धेरै निस्कने भएकाले शरीरमा सुक्खापन अर्थात् डिहाइड्रेसन हुनुका साथै ‘फर्मल इन्फेक्सन’ समेत हुन सक्छ र सुक्खापनको कारणले गर्दा छाला फुट्ने, चिलाउने समस्या देखा पर्छ । त्योबाहेक युभी–लाइटको डेन्सिटी बढ्नाले घामको एलर्जी हुन्छ । जब पसिना निकाल्ने ग्रन्थि नै थुनिएर पसिना निस्कन पाउँदैन तब शरीरमा घमौरा आउँछ, त्यसैले कपडा लगाउँदा खुकुलो लगाउनुपर्छ ताकि पसिना सजिलै निस्कियोस् । त्यस्ता मानिसहरूमा पनि यस्ता समस्या देखा पर्छ जो धेरै समयसम्म नुहाउँदैनन् । त्यसैले गर्मी महिनामा शरीरलाई गर्मी गराउने खानेकुराहरू कम खानुपर्छ भने अत्यधिक मात्रामा पानी तथा झोलिलो पदार्थहरू खानुपर्छ । त्यसमाथि गर्मी मौसममा घाम यति धेरै चर्कन्छ कि एकछिन बिनाछाता घाममा हिँड्नाले पनि छाला घामले डढेर रातो भई केही समयपश्चात् कालो हुनुका साथै शरीरमा खटिरा तथा एलर्जीसमेत आउने गर्छ । त्यसैले घाममा निस्कनुअघि नै छाता बोकेर हिँड्नुका साथै घामबाट जोगिनका लागि आफ्नो छालालाई उपयुक्त हुने क्रिम लगाएर मात्र हिँड्नुपर्छ ।
अहिलेको समय घाम चर्किनुका साथै हावाहुरी अत्यधिक लाग्ने समय हुनाले धूवाँधूलोका कारण पनि छालालाई असर पार्छ । यस्ता समस्याको साधारण उपचार भनेको चिसो पानीमा रुमाल भिजाएर छालालाई सफा गर्नु हो, जसले पसिना निकाल्ने ग्रन्थिको प्वाल खुलाउँछ । साथै, घमौरा आएको अवस्थामा कटनको लुगा लगाउने, सरसफाइमा ध्यान दिने गर्नुपर्छ । कसैलाई धेरै आयो भने माइल्ड स्टोरोइड क्रिम, क्यालामाइन लोसन लगाउनाले पनि केही कम हुन्छ । यदि इन्फेक्सन भएमा एन्टिबायोटिक क्रिम लगाउनुपर्छ । तर, डाक्टरको सल्लाहबिना कुनै पनि क्रिम वा पाउडरको प्रयोग गर्नु हुँदैन ।
चिसो पानीले नुहाउने तथा कटनको खुकुलो अनि शरीर छोप्ने लुगा लगाउनाले समस्या आउन कम हुन्छ । यस्तै लोसन, मोस्चराइजर लगाउने, फेसका लागि फेसवास, सनस्क्रिन क्रिम लगाउने, छाताको प्रयोग गर्ने गर्नुपर्छ । भिटामिन ए, भिटामिन सी, भिटामिन ई र एन्टिअक्सिडेन्ट भएका फलफूल र तरकारी खाँदा राम्रो हुन्छ भने बाहिरका खानेकुरा ‘जंकफुड’ कम खानुपर्छ । त्यसमाथि अहिले व्यस्त जीवनशैलीका कारण मानिसहरूले तनाव एवं थकान बढी महसुस गर्न थालेका छन् । यसले पनि छालालाई असर गरिरहेको हुन्छ । तनावको प्रत्यक्ष असर अनुहारमा देखिन्छ । त्यसैले डाक्टरको सल्लाहबिना आफूखुसी बजारमा पाइने विभिन्न प्रकारका कस्मेटिक सामग्रीहरू प्रयोग नगर्दा राम्रो हुन्छ ।
—रन्जिता गिरी पोख्रेल

प्रतिक्रिया दिनुहोस्