Logo

पानी नपर्दा बाँकेमा ६० प्रतिशत खेत बाँझै

बाँकेमा लामो समयसम्म खडेरी परेपछि हालसम्म ६० प्रतिशत खेत बाँझै छन् । साउन महिना सुरु भइसक्दा पनि पर्याप्त वर्षा नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने जिल्लाका अधिकांश स्थानमा सिँचाई अभावमा रोपाइँ हुन नसकेको हो ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार पर्याप्त पानी चाहिने बेलामै वर्षात नभएपछि हालसम्म जिल्लामा ४० प्रतिशत मात्र रोपाइँ भएको छ । “पानी नपरेपछि जिल्लाका कतिपय स्थानको रोपाइँ प्रभावित भएको छ” कृषि अधिकृत दिनेश भट्टराईले भने, “अत्यधिक गर्मी र पानी अभावका कारण खेतमा लगाइएको ब्याड सुक्नुका साथै खेतमा धाँजा पर्न थालेको छ ।”
असारको दोस्रो साता पहिलो पटक परेको पानी र सिँचाई सुविधा पुगेका केही स्थानमा धान रोपाइँ गरेपनि आकासे पानीको भर पर्ने जिल्लाका ६० प्रतिशत किसानको खेत बाँझै रहेको उनको भनाइ छ ।
गत वर्ष धान खेतीका लागि पर्याप्त वर्षा हुँदा यतिबेलासम्म जिल्लामा ९५ प्रतिशत रोपाइँ सकिएको थियो । तर यस वर्ष पानी नपर्दा अहिलेसम्म करिव ४० प्रतिशत मात्रै रोपाइँ भएको उनले बताए । जसमध्ये सबैभन्दा बढी राप्तीसानोरीमा ३० देखि ४० प्रतिशत र नरैनापुरमा १० प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

नालाको पानी तानेर सिँचाई
सिँचाइको व्यवस्था नहुँदा र आकासे पानी पनि पर्याप्त नपर्दा नालाको फोहोर पानी मोटर पम्पको सहायताले तानेर यहाँका किसान सिँचाई गर्न बाध्य छन् । जानकी गाउँपालिका ३ का कृषक बिर्जाप्रसाद जरवटले खेतीको समय ढिला हुन थालेकाले पानी नपाएपछि घरमा नुहाएको कपडा धोएर नालामा जम्मा भएको तानेर रोपाइँ गरीरहेको बताए । यस्तो पानीबाट जेनतेन रोपाइँ गरेपनि आकासबाट लामो समय पानी नपर्दा रोपाइँ सुक्न थालेको उनले बताए् । खेतमा पानी सुक्दै गएपछि खेतमा धाँजा परेर जमिन फाट्दै गएको छ । लामो समयसम्म खडेरी पर्दा यहाँका किसानले धान रोपाइँ गर्न सकेका छैनन् भने रोपेको धान र ब्याड पनि सिँचाई अभावमा पँहेलो भएर सुक्न थालेको छ ।
बाँकेमा ३६ हजार ५ सय हेक्टर जमिनमा धानको खेती गरिँदै आएको छ । मलखाद, सिँचाई सुविधा नहुँदा र अकाशे पानीको भर पर्नुपर्दा प्रत्येक वर्ष यहाँका किसानहरुले समयमै धान रोपाइँ गर्न पाउँदैनन ।

बर्दियामा ८० प्रतिशत रोपाइँ
बर्दियामा ८० प्रतिशत रोपाइँ सकिएको छ । विभिन्न परम्परागत कुलो, पम्पिङ सेट, मोटर तथा सिँचाई आयोजनावाट सिँचित पानीले रोपाइँ गरेपनि मनसुनी वर्षा नहुँदा कतिपय खेतमा लगाइएको ब्याड सुक्नुका साथै खेतमा धाँजा पर्न थालेको छ । जिल्लामा संचालित बबई सिँचाइ आयोजनाको नहरमा असार महिना सकिँदासम्म पनि पर्याप्त पानी छैन । मनसुनी वर्षा नहुँदा जिल्लाका विभिन्न नदीनाला र खोलामा पानी न्यून भएकोले पर्याप्त सिँचाइ हुन नसकेको हो ।
बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा कर्णाली नदीको पानीबाट पर्याप्त सिँचाइ हुने गरेपनि अन्य क्षेत्रमा आकाशे पानीको भरमा खेती हुने गर्दछ । कुल ५२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको बर्दियामा पानी मनसुनी वर्षा पर्याप्त नभए धान उत्पादनमा कमी आउने कृषि विज्ञले बताएका छन् ।

सिक्टाले पूर्वी मूल नहरमा पानी छोड्यो
लामो समयसम्म मनसुनी वर्षा नहुँदा खेती गर्न नपाएपछि राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजना बाँकेले पहिलोपल्ट पूर्वी नहरमा ७ क्युमेक्स पानी छोडेको छ । वर्षा नभएका कारण रोपो सुक्न थालेको र कतिपय किसानले रोपाइँ गर्न नपाएका कारण नहरमा पानी छाडिएको आयोजनाले जनाएको छ । नहरमा पानी बगेपछि राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर क्षेत्रका किसानलाई राहत हुने भएको छ ।
आयोजनाका निर्देशक सन्तोष कैनीका अनुसार पूर्वी मूल नहरको २४.६ किलोमिटर दूरीसम्म राप्तीको पानी पुगेको छ भने फत्तेपुर क्षेत्रका किसानले ४ क्युसेक पानी पाएका छन् । खडेरीमा किसानलाई रोपाइँ गर्न सजिलो होस् भनेर नहरमा पानी छोडेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्