७० लाख लगानीमा ड्रागन फ्रुट खेती «

७० लाख लगानीमा ड्रागन फ्रुट खेती

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ड्रागन फ्रुटको व्यावसायिक खेती गरिएको छ ।
वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले ड्रागन खेती सुरु गरेको हो । कर्णाली प्रदेशमै नयाँ खेतीका रुपमा रहेको व्यवसायिक ड्रागन खेती दुई बर्ष पहिले पद्मा रावतले सुरु गरेकी हुन् ।
ड्रागन फ्रुटले अहिले फल दिन थालिसकेको छ । हालसम्म एक क्वीन्टल बिक्री गरेको सञ्चालक रावतले जानकारी दिइन् । “सुरुवातीमा उत्पादन भएको ड्रागन बिक्रीका लागि बजार खोजिराख्नु परेको छैन, फर्मबाटै बिक्री भइरहेको छ” उनले भनिन्, “उत्पादन वृद्धि भएमा बाहिर लैजानुपर्ने अवस्था छैन तर, बजारसम्म लैजानुपर्ने अवस्था आएमा त्यसको तयारी पनि गरिरहेका छौँ ।”
उनका श्रीमान् वीरबहादुर बुढाले दुई वर्षअघि नै ड्रागन फ्रुट खेतीको लागि तयारी गरेका थिए । तर वीरबहादुरको निधन भएपछि फर्म सञ्चालनको जिम्मेवारी पद्माले सम्हालिरहेकी छिन् । २८ कठ्ठा जमिन भाडामा लिएर करिब ७० लाखको लगानीमा फर्म सञ्चालन गरेको उनले बताइन् । भारतको गुजरातबाट बेर्ना ल्याइएको हो । ड्रागन फ्रुटले वर्षमा चार पटक उत्पादन दिन्छ ।
एक सिजनमा प्रति बोटले न्यूनतम पाँच केजीका दरले १३ हजार केजी उत्पादन दिने अपेक्षा फर्म सञ्चालकको छ । बजार मूल्य अहिले प्रतित आठ सय रुपैयाँ छ । उनको फर्ममा हाल दुई हजार ६ सय ड्रागन फ्रुटका बिरुवा छन् । ड्रागन फ्रुट बिक्रीसँगै बिरुवा पनि बिक्री गर्ने फर्मको लक्ष्य रहेको बुढाको भनाइ छ । एक पटक लगाइएको ड्रागन फ्रुटले १५ देखि २० वर्षसम्म उत्पादन दिने गरेको छ ।
केही दिनअघि मात्रै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले फर्मले सञ्चालन गरेको ड्रागन फ्रुटको उद्घाटन गरेका छन् । फर्ममा पुगेका मन्त्री शाहीले यस्तै पौरखी व्यक्तिका कारण कृषि क्षेत्र व्यावसायिक हुने र ड्रागन फ्रुट उत्पादनपछि बिक्रीका लागि समस्या भएमा सरकारले सहजीकरण गरिदिने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्