लोप हुँदै बेठी परम्परा

केहीदशक अघीसम्म बेसीखेतहरूमा तामझामका साथ बेठी लगाएर रोपाइँ गर्ने गरिन्थ्यो ।
बेठीलगाएर धान रोप्ने चलन पुरानो परम्परा हो । पहाडी क्षेत्रका ग्रामीण भेगका बेसीहरूमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ ।
नौमती बाजाबजाएर असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ बेठी परम्परा किसानको संस्कृति अब स्मृतिमा सीमित हुँदै जान थालेको छ । पछिल्लो समय युवाहरू रोजगारको खोजीमा गाउँ छाड्दै जानु र युवाको अभावमा खेतहरूमा खेती हुनै छाडेपछि पुरानो संस्कृति बेठी सम्झनामामात्रै सीमित बन्दै गएको म्यालुङलुङ बुद्धिमान लिम्बु बताउँछन् । “पुर्खादेखि चल्दै आएको चलनलाई जीवन्त राख्न बेठी लगाएको हो,” उनले भने । बेठीले लोप भइसकेको परम्पराको जगेर्ना हुने उनको भनाइ छ ।
दुर्लभ रूपमा रहेको बेठी संस्कृति युवापुस्ताका लागि अत्यन्तै नौलो र रोचक दृश्य बनेको छ । नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहितको बेठी लगाउँदै धान रोपाइँ गरिने दृश्यमा मात्र देखिन्छ । वर्षौं अघिदेखि चल्दै आएको बेठी रोपाइँको चलन अहिले एक देशको कथाजस्तो भएको किसान लालबहादुर लिम्बुले बताए । उनले भने, “म किसानको छोरो भएर पनि अहिलेसम्म बेठी कस्तो हुन्छ थाहा छैन ।” लिम्बुलाई मात्र हैन युवापुस्तालाई बेठी भन्ने के हो ज्ञान नै छैन । पहिले नै हिलोआली सकेर तयार पारेको पर्याप्त पानी पुग्ने खेत, तयारी अवस्थाको धानको बीउ, दर्जनौं हलगोरु, सोही अनुपातमा बाउसे, रोपाहार अनि बाजागाजाको टोली भएपछि मात्र बेठीको रौनक सुरु हुन्छ । मानव जीवन र हिलो माटोबीचको अन्योन्याश्रित सम्बन्धको प्रतीकसमेत बन्दै आएका किसानले माटोको टीका थाप्नुपर्ने बेठीमा नौमती बाजा बजाउने र श्रमिकले आ–आफ्नो भूमिकाअनुसारको खेतमा काम गर्नुपर्ने चलन रहेको स्थानीयबासी रामबहादुर श्रेष्ठले बताए । उनले भने, “बेठी लगाएर धान रोप्दा अन्नमा सह आउँछ भन्ने विश्वास रहँदै आएको छ तर वर्षाैंदेखि बेठी लगाएर रोपाइँ गरेको देख्न पाएको छैन ।”
नौमती बाजाको तालमा रौसिँदै, असारे गीतको भाका हाल्दै, दर्जनौं हलगोरुले जोतेको हिलो माटोलाई लेदो बनाउन दाँदे लाउने, हिलो सम्याउने बाउसे, कोही पानीको मात्रा मिलाउने, कोही ब्याडमा बीउ काढ्ने, कसैले गरागरामा बीउका मुठा ओसारिदिने, रोपाहारले आपसमा उछिन र पाछिन गर्दै लहर मिलाएर बीउ रोपेको दृश्य निकै रोमाञ्चक हुन्छ । सिमेभूमेको पूजा, ठूलो गरामा धान धेरै फलोस् भन्ने कामनासहित भकारी बाँधेर नाचसहित आपसमा हिलो छ्यापाछ्याप गर्दा दिनभरिको सबै थकान मेटिन्छ । रोपाइँ सकेपछि भोज खाने चलन रहेकाले यसलाई किसानले पर्वका रूपमा पनि लिने गरेका छन् । बेठीको दिन आफ्ना चेलीबेटीलाई समेत बोलाएर रोपाइँ गर्ने चलन छ । आफू सानो छँदा अलिअली मात्र थाहा भएको देवीमाया भट्टराईले बताए । “किसानहरूको सबैभन्दा ठूलो पर्व नै बेठी रहेछ,” उनले भने । नेपाली समाजमा यो चलन कहिले सुरु भयो कसैले यकिनसाथ भन्न सक्तैन तर पनि देशमा भूमिसम्बन्धी जिम्मावाल व्यवस्था कायम रहुञ्जेलसम्म जिम्मावालको सान र रवाफको पर्याय बन्दै आएको बेठी परम्परा वि.सं २०२१ मा लागू भएको भूमिसुधार कार्यक्रमपछि गाउँ समाजमा सामाजिक प्रतिष्ठाका रूपमा हुनेखाने वागाउँका धनीमानी वा मुखियाहरूकै प्रतिष्ठा वृद्धिको माध्यमका रूपमा चल्दै आएको थियो । बेठी परम्परा विगतमा जुन हिसाबले थालनी गरिए पनि लोपोन्मुख संस्कृति भएकाले यसको संरक्षण गर्नु किसानको मात्र नभएर सरकारको समेत कर्तव्य भएको सरोकारवालाको भनाइ छ ।