सामाजिक सुरक्षा भत्तासँगै सीप सिकाउन सांसदहरुको सुझाव «

सामाजिक सुरक्षा भत्तासँगै सीप सिकाउन सांसदहरुको सुझाव

गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा उनले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताए । उनले बैंकिङ प्रणालीमार्फत नगर्दा भत्ता दिएबापत् राज्यले नभई व्यक्तिले जस लिनेगरी दुरुपयोग हुने उनले बताए । मन्त्री खाँणले ७५३ वटा स्थानीय तहमध्ये ७५२ वटा स्थानीय तहमा बैंक पुगेको र बाँकी एउटा स्थानीय तहमा यही असार मसान्तसम्ममा पुग्ने जानकारी दिए ।
नेकपा एमालेकी सांसद विमला विकले कुमारी आमाहरुलाई पनि एकल महिलाको रुपमा लिइ सामाजिक सुरक्षा भत्ता दिनुपर्ने बताइन् । उनले कुमारी आमाहरु सामान्य महिलाको जस्तो जीवनमा फर्किन कठिन हुने भन्दै उनीहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुपर्नेमा जोड दिइन् ।


नेकपा एमालेका सांसद नवराज सिलवालले लोकप्रियताका लागि बढी सामाजिक सुरक्षा भत्ता बाँड्दा राष्ट्रले धान्न नसक्ने अवस्था आउने हो कि भन्नेतर्फ ध्यान दिनुपर्ने बताए । उनले श्रम गर्नसक्ने एकल महिलाहरुलाई भत्ता दिनुभन्दा आयआर्जनका काममा लाग्न राज्यले प्रेरित गर्नुपर्ने बताए । उनले कुनै श्रममा तथा आयआर्जनमा नजोडिएका एकल महिलालाई मात्र भत्ता दिनुपर्ने धारणा राखे ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राज्यले धेरै धन, सम्पति हुने मान्छेहरुको नाम सार्वजनिक गर्नुपर्ने बताए । धनी मान्छेहरुको नाम प्रतिष्ठित व्यक्तिको नाममा सूची बनाएर सार्वजनिक गर्नुपर्ने उनले बताए । उनले उमेर भएका मान्छेहरुलाई सामाजिक सुरक्षा भत्ता सँगसँगै सीपमुलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्