मन्त्री आलेले निगमको ३५ लाख फजुल खर्च जोगाइदिएको दाबी «

मन्त्री आलेले निगमको ३५ लाख फजुल खर्च जोगाइदिएको दाबी

नेपाल वायुसेवा निगमको वाइडबडी विमान मर्मतको बहानामा निलम्बित नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षले आफू निकट कर्मचारी र आसेपासेलाई १७ दिनका लागि डलर भत्तासहित पठाउने योजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले तुहाइ दिएको दाबी गरेका छन् ।
निगमको वाइडबडी विमान अन्नपूर्ण जहाज नियमित सि–चेक जाँचका लागि विहीबार इन्डोनेसियाको जार्कता पठाइँदै छ । उक्त विमान त्यहाको पीटी जीएमएफ एरो एसिसा टीबीकेका प्राविधिकहरूको निगरानीमा १७ दिन रहने छ । सि–चेकका क्रममा जहाज पूर्णतया विदेशी एमआरओ कम्पनीको निगरानीमा रहन्छ ।
तर, निलम्बित कार्यकारी अध्यक्ष अधिकारीले आफ्नो चाकरी गर्ने एक दर्जन हाराहारी आसेपासे कर्मचारीलाई दैनिक डलरमा भत्ता, होटल खर्च निगमले व्यहोर्नेगरी पठाउदै गरेको उजुरी परेपछि मन्त्री आलेले फजुल खर्च रोक्नु भएको हो ।

यो निर्णयले कोभिड महामारीका कारण घाटा बेहोरिरहेको निगमको ३५ लाख रुपैयाँ जोगिएको दाबी मन्त्रीको छ । निगमका अनुसार, २१ जनाकोे जम्बो टोली इन्डोनेसिया पठाउँदा कम्तीमा पनि ५० लाख रुपैयाँ लाग्दै थियो । निलम्बित अध्यक्ष अधिकारीले २१ जनालाई बिना उद्देश्य भम्रणमा पठाउँदा ५० लाख रुपैयाँ खर्च लाग्ने भएपछि मन्त्रीसमक्ष केही दिनअघि उजुरी परेको थियो । अनावश्यक संख्यामा कर्मचारी लैजाने निर्णयलाई मन्त्री आलेले रोक लगाउनु भएसँगै उक्त रकम बचत भएको हो ।
मन्त्री आलेले नेपाल वायुसेवा निगमको फजुल खर्च हुन लागेको कम्तिमा पनि ३५ लाख रुपैयाँ जोगाएका छन् । अब आवश्यक पर्ने ६ जना टोलीको खर्च १५ लाख ७४ हजार रुपैयाँ हाराहारी हुने छ । यसरी मन्त्री आलेले गरेको निर्णयबाट नेपाल वायुसेवा निगमको ३४ लाख २५ हजार ६ सय २५ रुपैयाँ जोगिने भएको छ । अधिकारीलाई मन्त्री आलेले यसअघि पनि थुप्रैपटक फजुल खर्च नगर्न निर्देशन दिएका थिए । तर, अधिकारीले मन्त्रीको निर्देशन लत्याउँदै खर्चहरू गर्ने गरेको उजुरी मन्त्रालयमा परेका छन् ।
पर्यटन मन्त्रालयले वैशाखमा स्पष्टीकरण सोधे पछि अधिकारीले विभागीय प्रमुखसँग समन्वय नै नगरी जहाजको सी जाँचका लागि जम्बो टोलीको सूची तयार पारेका थिए । मन्त्री आलेले नेपाल वायुसेवा निगमको अर्थ विभाग प्रमुख अनिसा खड्कालाई बुधबार मन्त्रालयमा बोलाउनु भई आर्थिक मितव्ययीअनुसार, रकम निकासा गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्