१८ वर्षमा ५ गुणा बढ्यो प्रतिव्यक्ति आय «

१८ वर्षमा ५ गुणा बढ्यो प्रतिव्यक्ति आय

विगत १८ वर्षमा नेपालीको प्रतिव्यक्ति आय पाँच गुणा बढेर चालू आर्थिक वर्ष २०७५-७६ मा १०४७ अमेरिकी डलर पुग्ने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । आव २०५७-५८ मा नेपालीको प्रतिव्यक्ति आय २६० डलर थियो । गत आवमा १००५ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकोमा चालू आवमा ३९ अमेरिकी डलर बढेर १०४७ पुग्ने विभागले शुक्रबार प्रक्षेपण गरेको हो ।
तर, राष्ट्रिय योजना आयोगले चालू आवमा नेपालीको प्रतिव्यक्ति आय १०७५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको थियो । हालको सटहीदरअनुसार प्रतिव्यक्ति आय १ लाख १७ हजार ४ सय ५५ रुपैयाँ हुन्छ ।
प्रतिव्यक्ति आयमात्र नभइ आर्थिक वृद्धिमा समेत अपेक्षाकृत सुधार हुन सकेको छैन । चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धि ६.८१ प्रतिशत हुने भएको छ । बजेटमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत गुग्ने प्रक्षेपण गरेपनि मध्यावधि बजेट समीक्षामा ७ देखि ८ प्रतिशतको बीचमा रहने बताएका थिए । तर, विकास साझेदारहरू विश्व बैंकले ५.९ प्रतिशत, एसियाली विकास बैंकले ६.२ प्रतिशत र अन्तर्राष्ट्रिय मुद्रा कोषले ६.५ प्रतिशत हुने प्रक्षेपण गरेका थिए । शुक्रबार तथ्यांक विभागले प्रतिवेदन सार्वजनिक गर्दै चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने बताएको छ । चालू वर्षमा कृषि क्षेत्रमा ५.०३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ७.४८ प्रतिशत विभागको अनुमान छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वार्षिक वृद्धिदरमा आर्थिक वर्ष २०७४-७५ मा ६.३ प्रतिशतको अनुमान छ भने २०७३-०७४ मा जीडीपी वृद्धिदर ७.७४ प्रतिशत थियो ।
कृषि वन, मत्स्य र खानी उत्खनन जस्ता प्राथमिक क्षेत्रले आर्थिक वृद्धिदरमा ५.१० प्रतिशत पुग्ने अनुमान छ । अघिल्लो वर्ष २.८७ प्रतिशत मात्र थियो । निर्माण, उद्योग र विद्युत, ग्याँस तथा पानीलगायतको द्वितीय क्षेत्रले ८.१० प्रतिशत चालु आवमा योगदान दिने अनुमान छ । अघिल्लो वर्ष ९.८२ प्रतिशत थियो । थोक तथा खुद्रा व्यापार, होटेल तथा रेष्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल इस्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासुन तथा रक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत अन्तर्गतको सेवा क्षेत्र अर्थात तृतीय क्षेत्रले ७.२९ प्रतिशत योगदान दिने अनुमान गरिएको छ ।
तथ्यांकले प्राथमिक क्षेत्र र तृतीय क्षेत्रको योगदान बढेको देखिएपनि द्वितीयको भने घटेकोे छ । चालू वर्षमा मौसमका कारण कृषिमा उत्पादन र बिजुली उपलब्धतामा वृद्धिका साथै पुर्ननिर्माण, वन पैदावारको सामग्री तथा उत्खनन क्षेत्रमा भएको वृद्धि लगायतका कारणले यसको प्रभाव बढेको देखिएको छ ।
विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु वर्षमा निर्माण क्षेत्रको वृद्धिदर ८.९४ प्रतिशतको अनुमान छ । जुन अघिल्लो वर्ष १०.८९ प्रतिशत थियो। यसैगरी थोक तथा खुद्रा व्यापार पनि गत वर्ष भन्दा कमजोर अनुमान गरिएको छ । गत वर्ष १२.२६ प्रतिशत रहेको यो क्षेत्रको वृद्धिदर चालु वर्षमा १०.८९ प्रतिशत पुग्ने अनुमान छ ।
त्यसैगरी पर्यटक आवागमन उच्च दरमा बढे पनि पर्यटन र होटल क्षेत्रको वृद्धिदर पनि खुम्चिएको छ । गत आर्थिक वर्षमा ९.७७ प्रतिशतले बढेको यो क्षेत्रमा चालु वर्ष ८.३३ प्रतिशतको वृद्धिमात्रै देखिएको छ । यसैगरी वित्तीय मध्यस्थता क्षेत्रबाट पनि वृद्धिदर घटेको छ । यो क्षेत्रको गत आर्थिक वर्षमा ६.३८ प्रतिशत वृद्धिदर रहे पनि चालु वर्षमा ६.१८ प्रतिशत मात्रै वृद्धिदर हासिल हुने विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७४-०७५ मा ३० खर्ब ३१ अर्ब १० करोड ३४ लाख रहेको नेपालको कूल गार्हस्थ उत्पादन अर्थात् अर्थतन्त्र बढेर चालू वर्षमा ३४ खर्ब ६४ अर्ब ४३ करोड १९ लाख पुग्ने विभागले जनाएको छ । त्यसैगरी कुल राष्ट्रिय आय (जीएनआई) अघिल्लो वर्ष ३० खर्ब ५३ अर्ब ६४ करोड ९० लाख रहेकोमा बढेर ३५ खर्ब ६ अर्ब ७३ करोड १० लाख पुगेको छ ।
जीडीपीमा प्राथमिक क्षेत्रले २७.५९ प्रतिशत, द्धितीय क्षेत्रले १४.६० प्रतिशत र तृतीय क्षेत्रले ५७.८१ प्रतिशत योगदान दिएको पनि विभागले जनाएको छ ।

वृद्धिदर प्रदेश–५ मा सबैभन्दा बढी
विभागले सार्वजनिक गरेको तथ्यांकमा प्रदेशअनुुसार सबैभन्दा उच्च आर्थिक वृद्धिदर प्रदेश–५ मा ७.३७ प्रतिशत देखिएको छ भने सबैभन्दा कमजोर कर्णाली प्रदेशमा ५.६८ प्रतिशत देखिएको छ । त्यसैगरी गण्डकी प्रदेशमा ७.०६, प्रदेश ३ मा ७.०४, प्रदेश २ मा ६.५३, प्रदेश १ मा ६.४९ र सुदूरपश्चिममा ६.२५ प्रतिशत रहने अनुमान छ । तर जीडीपीमा सबैभन्दा बढी प्रदेश ३ को १४ खर्ब ३२ अर्ब २७ करोड ५६ लाख छ भने सबैभन्दा बम कर्णाली प्रदेशको १ खर्ब १९ अर्ब २५ करोड ९० लाख छ । त्यैसैगरी प्रदेश १ को ५ खर्ब ५ अर्ब ८४ करोड ८० लाख, प्रदेश २ को ४ खर्ब ४४ अर्ब ४९ करोड ६० लाख, गण्डकी प्रदेशको २ खर्ब ८८ अर्ब २० करोड ७० लाख तथा सुदूरपश्चिमको २ खर्ब २० अर्ब ९५ करोड ६० लाख रुपैयाँ छ ।
जीडीपीको औसत आधारभूत दरमा भने सबैभन्दा बढी प्रदेश ३ र सबैभन्दा कम कर्णाली प्रदेश छ । प्रदेश ३ को ३५.४४ प्रतिशत भने कर्णालीको ७.२२ प्रतिशत छ । त्यसैगरी खरिददरमा पनि सबैभन्दा बढी प्रदेश ३काृ ४१.३६ प्रतिशत छ भने प्रदेश ५ को ३.४४ प्रतिशत मात्र छ ।

प्रतिक्रिया दिनुहोस्