आन्तरिक उडान प्रभावित

आइतबार प्रतिकूल मौसमका कारण ११ वटा आन्तरिक उडान रद्द भएको छ । यस वर्षको मनसुन प्रणाली आइतबारबाट नेपाल प्रवेश गरेसँगै आन्तरिक उडान प्रभावित भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ बाट मनसुन विकसित भएको र क्रमशः देशभर नै विकसित हुने क्रममा छ । आइतबार लुक्लाको ८ उडान रद्द भएको छ । जसमा समिट एयरको–३, सिता एयरको–२ र तारा एयरको–३ लुक्लाको लागि उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनले जनाएको छ ।
त्यस्तै नेपाल वायुसेवा निगमको भोजपुर, दाङ, खानीडाँडा गरी ३ उडान रद्द भएको छ । आइतबारका लागि १ सय ३९ उडान तालिका रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक टर्मिनल व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुडालले बताए । बेलुका ७ बजे सम्म ११ उडान रद्द भएको हो । अन्तर्राष्ट्रियतर्फ भने सामान्य नै रहेको विमानस्थल कार्यालयले जनाएको छ । मौसमका कारण आँखाले हेरेर गरिने उडान अर्थात भिएफआर नभएका विमानस्थलमा उडान रद्द भएको जनाइएको छ । सामान्यतयाः भीएफआर उडानका लागि भिजिबिलिटी ५ हजार मिटर हुनुपर्छ तर आइतबार काठमाडौं लगायत मोफसलको भिजिबिलिटी ३ हजार मिटरको पेरिफेरीबाट माथि जान सकेको थिएन ।