Logo

पेट्रोलियम पदार्थको मूल्य महिनामा दुई पटक समायोजन भएको छैनः बडू

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले महिनामा दुई पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्य समायोजन नभएको दाबी गरेका छन् ।
राष्ट्रिय सभामा प्रश्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उठेका विषयको जवाफ दिँदै मन्त्री बडूले प्रस्तावमा उल्लेखित १ र ९ जेठमा लागू हुनेगरि २ पटक मूल्य बढाएको भन्ने विवरणमा कुनै सत्यता नभएको स्पष्ट पारे । उनले २०७८ चैत महिनामा २ गते र २२ गते गरी मूल्य समायोजन भएको र ३१ वैशाख २०७९ र ८ जेठमा एकपटक मात्र मूल्य समायोजन गरिएको बताए ।
मन्त्री बडूले पेट्रोलमा अहिले पनि ३१ रुपैयाँ ४१ पैसा प्रतिलिटर घाटा रही मासिक १ अर्ब ८३ करोड घाटा, डिजेलमा २८ रुपैयाँ ३३ पैसा प्रतिलिटर घाटा रही मासिक ३ अर्ब ७३ करोड घाटा, एलपी ग्यासमा ७५१ रुपैयाँ १४ पैसा प्रतिसिलिण्डर घाटा रही मासिक २ अर्ब ८६ करोड घाटा तथा मट्टितेल र हवाई इन्धनमा मासिक ६५ करोड नाफा रहेको बताए ।
उनले नाफा र घाटा मिलाउँदा हाल मासिकरुपमा निगम ७ अर्ब ७७ करोड घाटामा रहेको उल्लेख गरे । चालु आर्थिक वर्षको हालसम्म नेपाल आयल निगमलाई करिव ४७ अर्ब घाटा भइसकेको पनि उनले बताए । मन्त्री बडूले नेपाल आयल निगमलाई खारेज वा निजीकरण गर्ने भन्ने कुरामा कुनै सत्यता नभएको पनि दाबी गरे ।
राष्ट्रिय सभाको बैठकमा खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भइ सदनमा पेस भएको थियो । देवेन्द्र दाहाल प्रस्तावक र भैरवसुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भइ खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्