नेपालमा लगानीको वातावरण बन्दै गएको उद्योगमन्त्रीको दाबी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले देशमा लगानीको वातावरण बन्दै गएका बताएका छन् । नेपाल उद्योग परिसंघको नव–गठित कार्यसमितिका पदाधिकारीहरूलाई आफ्नै कार्यालयमा स्वागत गर्दै उनले देशमा लगानीको वातावरण बन्दै गएको तथा वैदेशिक लगानीका धेरै प्रतिवद्धताहरू आइरहेको बताएका हुन् । त्यसैले परिसंघले आफ्ना आगामी कार्यक्रमहरूमार्फत यसको सन्देश देश तथा विदेशमा समेत प्रभावकारी ढंगमा पु-याउन सहयोग गर्नु पर्नेमा मन्त्री यादवको जोड थियो ।
परिसंघका नव निर्वाचित अध्यक्ष लगायत सबै पदाधिकारीहरूलाई बधाई तथा कार्यकालको पूर्ण सफलताको कामना गर्दै उनले हाल देशको लक्ष्यनै दिगो आर्थिक विकास तथा समृद्धि रहेको पनि बताए । नव गठित कार्यसमितिले समेत यसलाई आत्मसात गरी आफ्ना कार्यक्रमहरूलाई अगाडि बढाउने अपेक्षा छ, उनले भने ।
सोहि अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीले नेपालको आर्थिक विकास औद्योगिक विकासमा निर्भर रहने भएकोले लगानीको वातावरणलाई अझै राम्रो बनाउन सरकारपछि नपर्ने कुरा व्यक्त गरे । सरकारले मुलुकका सातै प्रदेशमा निर्माण गर्ने नयाँ औद्योगिक क्षेत्रहरूको सञ्चालन निजी क्षेत्रलाई गर्न दिन सकिने सम्भावना रहेको भन्दै यस तर्फ समेत निजी क्षेत्रको ध्यान आकृष्ट गरेका थिए ।
देशका दुर्गम क्षेत्रमा स्थापना भएका उद्योगहरूको पूर्वाधार निर्माणमा सरकारबाट ढिलाई भएको भए त्यस्ता पूर्वाधारहरू निजी क्षेत्र आफैले निर्माण गर्न चाहे सरकारले वित्तीय प्राविधिक सहयोग गर्ने सोच समेत बनाई रहेको जानकारी उनले दिए ।
स्वागत तथा बधाई कार्यक्रममा परिसंघका नवनियुक्त अध्यक्ष सतिशकुमार मोरले विगत देखिनै परिसंघले सरकारसँग सहकार्य गर्दै रचनात्मक सहयोग र सुझावहरू दिदै आएको र आगामी दिनहरूमा समेत यस्तो कार्य निरन्तर रहने कुरा व्यक्त गरे । साथै, विगत केहि समय देखि सरकारले उद्योगमैत्री नीति लिएको, छोटो समयमानै उद्योगसँग सम्बन्धित धेरै कानुन परिमार्जन गरेकोले देशमा लगानीको वातावरण क्रमशः बन्दै गएको कुरा व्यक्त गर्दे उनले ती कानुनको पूर्ण र प्रभावकारी कार्यान्वयनको लागि नियमावली निर्माणमा समेत निजी क्षेत्र सहकार्य गर्दै आवश्यक सुझाव दिन तयार रहेको बताए । मुलुक आगामी बजेटको तर्जुमामा लागेकोले उद्योगीहरूको प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भएकोले उद्योगीहरूको तर्फबाट नयाँ वजेटसँगै नयाँ जोस तथा स्फूर्ति ल्याउने खालको लगानीमैत्री बजेट आउने अपेक्षा रहेको बताए ।