बर्खा लागिसक्दा पहाडतिरका बाटाघाटालाई पानीले खोलेर कुरूप बनाएका छन् । कमसेकम छेउमा नालीसम्म नराखिँदा योजनाबद्ध विकासमा ध्यान नदिएको प्रतीत हुन्छ ।
स्थानीय चुनावमा देखिएका विकृति

स्थानीय चुनावलाई फर्केर हेरिरहँदा विकृति नै विकृतिका चाङ भेटिए । मुलुकमा स्वार्थ, दमन अनि अतिरञ्जित आलोचनाको उरुङ देखियो । दबाब, प्रभाव र वैरभावको मपाइँत्ववादी स्वभाव । न युधिष्ठिरबाट सच्चरित्रको पाठ सिकिएको छ, न त रामायणका रामको आदर्शताबाट । यसर्थ देशमा कैयौँ हर्क साम्पाङ राईको आवश्यकता देखियो । कैयौँ बालेनहरूको खाँचो बढ्यो । वर्षौंदेखि विरासत बोकेका पार्टी पङ्क्तिप्रतिको वितृष्णा बढ्यो । वास्तवमा सात्विक चिन्तनको चरम अभावमा गुज्रँदै छ समाज । नैतिकता, धैर्यता, नम्रता, आदरभावको रत्तिभर पनि अंश बाँकी नरहेको भान हुन थालिसकेको छ राजनीतिमा । कल्मष वृक्षले जरा र पात हालेझैँ लाग्छ । ‘अलिअलि त खानैप-यो नि’ भन्ने मानसिकतामा समाज विक्षिप्त छ । शकुनि बुद्धिको पासा फ्याँक्नेहरू हुन् कि खाण्डप्रस्थलाई इन्द्रप्रस्थ बनाउने पाण्डव भन्ने कुरामा आशङ्का छ । अनेकन अतिरञ्जित दम्भले वर्तमान राजनीतिको गन्तव्य दिशाहीनजस्तो पनि लाग्दो रहेछ । शीर्षस्थ नेतृत्वमा आफ्नो ओहदा र हैसियतको समेत हेक्का हुँदैन । कटुवचनको क्षुद्रतामा न पार्टीगत धारणा हुने, न त राष्ट्रिय सिद्धान्त नै गाँसिने । मपाइँत्वको दोहोरीमा जनताले ताली बजाउनैपर्ने बाध्यता हुने रहेछ ।
कविशिरोमणि लेखनाथ पौड्यालले आफ्नो नव्यकाव्य ‘तरुण तपसी’ मा लेख्नुभएको पङ्क्तिले आज चुनावी मैदानमा होमिएका पार्टी पङ्क्तिको हैसियतलाई दर्साउने रहेछ :
म खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरूँ
म बाँचूँ मै नाचूँ अरू सब मरून् दुर्बलहरू
भनी दाह्रा घस्ने अबुझ सठदेखि छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरीमरी ।
जनताले ‘योभन्दा योचाहिँ तैबिसेक छ’ भनेर चुन्नुपर्ने रहेछ । संविधानका पानाको सन्दर्भ राखेर हिँड्नेहरू आज पार्टी र व्यक्ति स्वार्थको दम्भ ओकलिरहेका देखिन्छन् । भाषणमा ‘म के गर्छु भन्दा अर्काले के गरेन’ भन्ने धम्क्याइ बढेको प्रतीत हुन्छ ।
वर्तमान राजनीति चरित्रहत्यामा चुर्लुम्म डुबेको देखिन्छ । सामाजिक सञ्जालमा घृणित गालीगलौज गर्नेहरूको बिगबिगी उस्तै देखिन्छ, तर नियमन गर्ने सरोकारवालाहरू नै निकृष्ट देखिन्छन् । नीति र कार्यक्रमहरू पनि हरेक साल सुन्दर महत्वाकाङ्क्षा बोकेर आउँछन् अनि उही पार्टीवाद, व्यक्तिवाद, परिवारवाद, कालो धनको पोको बटुल्ने उपायलगायतका शैली र शिल्पमा देशले खँगारिनुपर्ने रहेछ । लोकतन्त्रले स्वतन्त्रता दिएको छ तर तथ्यहीन, आधारहीन तर्कबाजमा मग्न छौँ । निर्लज्ज बन्यौँ । अफबाह फैलाउने शैलीमा हराइसकेका छौँ । आफुलाई मन नपर्नेलाई भए/नभएको कनीकुथी बोक्रे तर्क खोजेर हदैसम्म तिरस्कार गर्न पाउँदा हामीलाई खुब मजा आउन थालेको छ । कथित विज्ञ भनिएकाहरू नै कल्पित पूर्वाग्रही वाक्युद्धमा होमिएका छन् । तथ्यहीन तर्कमा मजा लिइरहँदा रचनात्मक समीक्षाको सत्यतामै प्रश्न तेर्सिएको छ । अब त विज्ञलाई पनि कुन पार्टीको भन्नुपर्ने विडम्बना रहेछ ।
कहिल्यै समयमा पुस्तक पु-याउन नसक्ने हाम्रो देशले आज कति छोटो समयमा मतपत्र छापीओरी गाउँटोलमा पु-याउन सक्छ ! कर्मप्रतिको निष्ठा र त्याग अनि सामूहिक एकताको परिणतिले विकासको मुल फुट्ने रहेछ । वाक्पटुतामा हामी जति माहिर छौँ कर्ममा त्यो स्वच्छता देखिँदैन ।
स्वच्छ र स्वस्थ सञ्चारको क्षेत्र पनि विभाजनको घेराबन्दीमा पर्न थालेको देखिन्छ । पत्रकारहरू नै पार्टीगत झुन्डमा कसरी बाँडिन सक्छन् ! शिक्षकहरू झन्डामुनि बसेर कुर्लिन थालेपछि तिनलाई कसरी पेसागत मर्यादा र कर्तव्यबोध हुन्छ ? हुन त खोज्दै जाँदा धेरै विशिष्ट नेतागणहरू शिक्षक हुँदै उच्च तहमा पुग्नुभएको इतिहास होला पनि । कर्मचारीहरू नै पार्टी वा खेमामा विभक्त हुन्छन् भने मुलुकमा कसरी सुशासन कायम रहन्छ ? कर्मचारीतन्त्र अनि आपराधिक राजनीतीकरणले हामी कहाँ जाँदै छौँ ? न्यायालयमा समेत किन प्रश्न उठ्दै छ अहिले ? त्यसो हो भने स्वच्छता कहाँ छ ? सोच नै सङ्कीर्ण हुँदा माफियाहरूको बिगबिगी बढेको होइन र ! पत्रकारको समाचारमा पनि आशङ्का गर्नुपर्ने अनि उसको व्यक्तिवृत्त अध्ययन गरेर बुझ्नुपर्ने अवस्था बढ्दो छ । कुनै गम्भीर विषय पनि किन गुपचुप भइदिन्छ ? इन्धनजन्य सामग्रीको चर्को मूल्यवृद्धि हुँदा पनि किन पहिला जसरी बजार र सामाजिक सञ्जाल तात्दैन त ! सूचना सम्प्रेषणका निकायहरूप्रति पनि किन त्यस्ता गन्ध आउँछन् र आक्षेप लाग्छन् ? अनगिन्ती यी प्रश्नको ज्वारभाटाले सत्य बोल्ने पनि झुटैजस्ता देखिन थाले । भनिन्छ नि, कुपात्रमा परेको अमृत पनि विष बन्छ । चाहे अमृतमा विष मिसाऊँ, या त विषमा अमृत मिसाऊँ— दुवै अवस्थामा विष नै निर्माण हुन्छ ।
विकृत राजनीतिको पराकाष्ठा
व्यवस्था फेरियो तर जनअवस्था र सोच बदल्ने दलीय सोचमा खोट देखिन्छ । पात्र फेरिए पनि प्रवृत्ति उस्तै हुने रहेछ । उम्मेदवारको स्वच्छ छवि, पारदर्शी व्यवहार, इमानदारिता र कर्तव्यनिष्ठतालाई जनताले धेरै हदमा विश्वास गर्छन् नै । तर, न त नेतृत्वमा सत्यता देखिने, न मतदातामा त्यो चेतले काम गर्ने ! आखिर आर्थिक अपराधको पुस्तान्तरण भएकै देखिन्छ । चुनावी वाचा पनि खालि विकृतिको नवीकरणजस्तो लाग्ने रहेछ । कसैले कहाँ जित्दा कसको दम्भ बढ्ने भन्ने पनि हुने रहेछ । आचारसंहिता एकातिर व्यवहार अर्कातिर । कोभन्दा को कम छ र ! सत्तामा पुग्नका लागि अस्वस्थ प्रतिस्पर्धा गर्न कुत्सित सोच हाबी हुने रहेछ । मञ्चमा उभिएर जनताका अघि ‘जुनसुकै हतकण्ठा अपनाएर भए पनि चुनाव जित्नैपर्छ’ भन्ने खुलेआम अभिव्यक्तिलाई पनि आखिर कानुनी कठघरामा उभ्याउने काम नगरिने नै रहेछ !
राजनीति सेवा हो कि सजिलोसँग कमाइ खाने भाँडो ? चुनावमा क–कसले के–कसरी खर्च गरे ? यसअघिका जनप्रतिनिधिको बरबुझारत हुँदा सम्पत्ति विवरण किन खोजिँदैन अनि नयाँ जनप्रतिनिधिहरूको सम्पत्ति विवरणलाई किन सार्वजनिकीकरण नगर्ने त ? अहिले कसले कति खर्च गर्छ र कसरी मतदातालाई किन्छ भन्ने विकृत प्रवृत्तिले ‘राजनीति फोहोरी खेल’ हो भन्ने कुराको पुष्टि भइरहेको देखिन्छ । वर्तमान राजनीतिमा सिद्धान्त समाप्त भएर खुलेआम स्वार्थको ढोलमा गठजोड भइरहेको देखिन्छ । हामीले जिताएका नेतृत्वसँग हामी कस्तो अपेक्षा राख्छौँ वा स्वार्थको भावनाले हेर्छौं । आँखामा पट्टि बाँधेर नैतिकतालाई बन्धक बनाउने अनि आफुलाई सर्वोपरि ठान्दै आसेपासेलाई सन्तुष्ट पार्ने वर्तमान विकृत शैलीले हामी कता जाँदै छौँ भन्ने प्रश्न उब्जिएको छ । अनि, हामी नायक रोज्दै छौँ कि खलनायक पोस्दै छौँ ?
मुलुकभरबाट ५ हजारभन्दा बढीले स्वतन्त्र उम्मेदवारी दिइनु वर्तमान राजनीतिक विकृतिप्रतिको विद्रोह हो । मुलुकमा विचार र सिद्धान्तको स्खलन हुँदा पार्टी र स्वार्थको सोचप्रति जनवितृष्णा बढ्ने रहेछ । अस्वस्थ आलोचनाको त बाढी नै आएको देखिन्छ । उच्चस्तरका नेता भनिएकैहरूको वाक्शैली घृणित र दरिद्र प्रकृतिको लाग्न थालेकाले निष्ठाको राजनीति समाप्त भएझैँ लाग्छ । आस्था हुनु, कसैलाई मन पराउनु वा कसैको विचारलाई समर्थन गर्नुको अर्थ अर्कोलाई समाप्त पार्नु कदापि होइन । कसैलाई नङ्ग्याएर आफु बन्छु भन्ने निर्घिणी बुद्धिले हामी स्वयम् अधोगतिको मार्गमा रहेको पुष्टि हुन्छ । सामाजिक सञ्जाललाई फोहोरको डङ्गुर बनिरहँदा हाम्रो हैसियतलाई बोध गराउने रहेछ । असल कर्म गरेर सेवक बन्नेभन्दा कल, छल, बलले अरूलाई सिध्याउने सङ्कीर्ण र प्रतिशोधवादी प्रतिस्पर्धाले आखिर भ्रष्टाचारलाई प्रश्रय दिँदैन भन्नै नसकिने भय छ । वस्तुतः नेपालमा नेता र कार्यकर्ताको सोच नै विकास, समृद्धि र सुशासनतिर मोडिन नखोजेको हो कि भन्ने लाग्छ । केवल विरोधका लागि विरोध गर्नेहरूले आफ्ना नेताका कर्तुत बिर्सेर अर्काको उछितो काढ्न मात्रै जानेका छन् । नेताहरू कामले जनतालाई आफ्नो बनाउने भन्दा दाम र महत्वाकाङ्क्षाको दुःस्वप्न बाँढ्न तँछाडमछाड गरेको देखियो तर सबै कुरा बाहिर नआउने रहेछ । कतिपय अवस्थामा विकास त भए तर दिगो विकास भएन, त्यसैले राज्यको सम्पत्तिलाई सदुपयोग गरिएन । बर्खा लागिसक्दा पहाडतिरका बाटाघाटालाई पानीले खोलेर कुरूप बनाएका छन् । कमसेकम छेउमा नालीसम्म नराखिँदा योजनाबद्ध विकासमा ध्यान नदिएको प्रतीत हुन्छ ।
यद्यपि, निर्वाचित नेतृत्वलाई अब प्रभावभन्दा अभावको समाधान गर्ने दबाब आवश्यक छ । बाटोघाटो र पुलपुलेसाभन्दा बढी अब शिक्षा र रोजगारको सम्बन्धसहित प्रत्यक्ष अनुभव हुने अवसरको खाँचो छ । हिजो मत दिएका युवाशक्तिले भोलि महिना दिन नबित्दै म्यानपावरमा पासपोर्ट बुझाएर लाखौँ तिर्दै परदेसिनुपर्ने अवस्था नआओस् । अबको विकास अवसरको खोजीमा केन्द्रित हुने हो भने मात्रै जनमतको कदर हुने देखिन्छ । अर्कातर्फ, अब दलीय विरासतलाई सर्वस्व ठान्नेभन्दा स्वच्छ छविलाई रोज्ने सचेतना बढेको पुष्टि हुँदै गएको छ । वस्तुतः अब जनताले रोजेको नेतृत्वले तिनले खोजेको स्वच्छता, पारदर्शिता र विश्वासजन्य कार्य नगरीकन सुख पाउने अवस्था छैन ।