चुनावको सँघारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि
संघीय गणतन्त्र र लोकतन्त्रको रक्षा गर्दै मुलुक स्थानीय चुनावको दोस्रो चरणमा होमिरहेको अवस्थामा यता गठबन्धनको सरकारले भने रातारात पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । महिनामै दुई–तीन पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा परेका आमनेपाली जनता मूल्यवृद्धिको गहिरो खाडलमा परेका छन् । तर पनि आयल निगम भन्छ, करोडौं रुपैयाँ घाटा छ । गए राति शनिबारदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजेलमा १०/१० रुपैयाँ बढाएको थियो । अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ उपभोक्ताले तिर्नुपर्नेछ । यसरी पेट्रोलियम पदार्थको अचाक्ली मूल्यवृद्धि हुँदा दैनिक उपभोग्य वस्तुको पनि मूल्य वृद्धि हुने देखिन्छ । यातायातको ढुवानी लागत बढ्नेबित्तिकै उपभोग्य वस्तुहरूको पनि लागत बढ्न थाल्छ ।
आयल निगमका अनुसार रूस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनले नेपालमा पनि यसको असर परेको बताएको छ भने अन्तर्राष्ट्रिय डलरको भाउ बढ्दा पनि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुन्छ । पहिले निकै नाफामा गएको आयल निगम पछिल्लो समय भने यति धैरै पटक वार्षिक रूपमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा पनि किन घाटामा जान्छ त ? यो एउटा निकै चासोको विषय पनि हो । आयल निगमको घाटा बेहोर्नका लागि सधैं नेपाली जनताको ढाड सेक्नैपर्ने हो त ?
केही दिनअघि शनिबार मात्रै स्थानीय तहका दोस्रो चरणको निर्वाचन छिटपुट घटनासहित उत्साहपूर्ण रूपमा सम्पन्न भयो । दुःखको कुरा त मुलुकको २४ स्थानमा चुनाव अशान्तिपूर्ण हुँदा, झडपले गर्दा चुनाव स्थगित हुन पुग्यो भने समग्रमा चुनाव उत्साहपूर्ण रूपले सम्पन्न भएको छ । कतै मत गन्ने प्रक्रियामा छन् त कतै–कतै स्थानीय निकायमा दलहरूले विजय पनि हासिल गरेका छन् । मतगणना जारी रहिरहँदा अहिलेको तथ्याङ्कलाई हेर्ने हो भने नेकपा एमालेले ६ ठाउँमा जित हासिल गर्दै १ सय ७५ स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै नेपाली कांग्रेसले पाँच ठाउँमा विजय हासिल गर्दै २ सय ३४ स्थानमा अग्रता लिएको छ । नेकपा समाजवादीले २ ठाउँमा जित हासिल गर्दै २२ ठाउँमा अग्रता लिएको छ । त्यस्तै गरी माओवादी केन्द्रले १ स्थानमा जित हासिल गर्दै ४२ ठाउँमा अग्रता लिएको छ अन्य २२ ले अग्रता लिएका छन् । तर, यी चुनावीय मैदानमा रहेका आ–आफ्नो सबै दलका नेता तथा कार्यकर्ताहरूको मत सार्वजनिक भइरहँदा र सबैको ध्यान चुनावमा नै केन्द्रित रहँदा आयल निगमले भने एक्कासि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा मानिसहरूले सामाजिक सञ्जालमा यसको चौतर्फी विरोध जनाएका छन् । कसैले लेखेका छन्, “उता जनता मत परिणाम हेर्दै मस्त, यता आयल निगम मूल्य बढाउनामै व्यस्त ।” अर्को व्यङ्ग्य, “गठबन्धनकारीहरूले चुनावकै मुखमा रातारात पेट्रोलियम पदार्थको मूल्य बढाएछन् ।”
त्यस्तैगरी सामाजिक सञ्जालमा अर्को व्यङ्ग्य, “दलहरू मत परिणाम हेर्दै व्यस्त, मचाहिँ कहिले–कहिले मूल्यवृद्धि कतिकति पटक बढेको रहेछ भनेर पोस्ट गर्न व्यस्त” लगायत धेरै सामाजिक सञ्जालभरि मूल्यवृद्धिको चौतर्फी विरोध भएको छ । आम सर्वसाधारण भन्छन्, यसरी चुनावको सँघारमा मूल्यवृद्धि हुनु भनेको जनताप्रति सरकार उत्तर दायित्व नहुनु हो । एमसीसी पास गरेसँगै अत्यन्तै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा मानिसहरू पर्नु भनेको राजनीतिक दलहरूले निकट भविष्यमा नै मुलुकलाई श्रृलङ्काजस्तो बनाउनु हो भन्ने तर्क दिएका छन् । उनीहरूको एउटै माग छ, मूल्यवृद्धि तत्काल फिर्ता होस् ।