Logo

अरुको जीवन बचाउन रक्तदान गरेर खुसी हुनेहरू


धादिङ-भनिन्छ ‘रक्तदान नै जीवन दान’ हो । तर कयौ मानिस रक्तदान गर्न मन भएर पनि ग्रामीण भेगमा बसोबास भएका र दीर्घरोग भएका कारणले पाएका छैनन् । तर भौगालिक सुगमता र निरोगीले भने कयौ पटक रक्तदान गरेर मनलाई खुसी बनाएका छन् ।
रक्तदान गरेर खुसी हुनेमा नीलकण्ठ नगरपालिका–३ सुगमटोलका किरणकुमार श्रेष्ठ हुन् । श्रेष्ठले अहिलेसम्म ४७औं पटक रक्तदान गरिसकेका छन् । वि.सं २०६३ सालदेखि निरन्तर रक्तदान गर्दै आइरहेका श्रेष्ठले नियमित रक्तदानदेखि तत्कालै रगत आवश्यक परेका सुत्केरी, बिरामी तथा दुर्घटनाका घाइतेलाई रगत दिँदै आएका छन् । श्रेष्ठ भन्छन्, “अरुको जीवन र मेरो जीवन व्यक्तिमात्र फरक हो । म यसैमा खुसी छु,” श्रेष्ठले भने । रक्तदान गर्दै स्थानीय समुदायलाई पनि हौसला र सहयोग गर्न पाउँदा खुसी लागेको बताए । “सुरुमा शरीरबाट रगत निकाल्दा लडिन्छ कि, कमजोर हुन्छु कि भन्ने लाग्थ्यो अहिले मैले दिएको रगतले अरुको ज्यान बच्दा खुसी हुन्छु । रक्तदानलाई नै संस्कृति बनाएका उनी रक्तदाता मात्र होइनन्, अरूलाई रक्तदान गर्न प्रेरणा दिने व्यक्ति पनि हुन् । अरूलाई हौसला दिनेमात्र होइनन्, परोपकारी मन भएका प्रेरणाका स्रोतका रूपमा उनलाई लिन सकिन्छ । जिल्लामा रगत अभाव भइरहेको समयमा समेत आफ्नो जन्मदिनको अवसर पारेर दुई वर्षअघि आफैले रक्तदान कार्यक्रमको आयोजना गरेका थिए । त्यतिबेला जिल्लामै सबैभन्दा धेरै १ सय ९२ जनाले रक्तदान गरेका थिए । अहिले त्यो रेकर्ड ब्रेक भइसकेको छ । “व्यक्तिअनुसार खुसी हुने तरिका फरक हुन्छ । हामीलाई रक्तदानमै खुसी मिल्छ,” उनले भने ।
उनीमात्र नभई परिवारका अन्य सदस्य पनि रक्तदानमा सामेल हुँदै आइरहेका छन् । रक्तदान गरेको २५औं दिनमा समेत इमरजेन्सी रगत दिएको अनुभव श्रेष्ठको छ । उनले भने, “रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै हानी गर्दैन बरू एक हिसाबको ताजगी र आत्मसन्तुष्टि प्रदान गर्दछ, कसैको ज्यान जोगाउन डाक्टर नै हुनपर्दछ भन्ने पनि छैन ।” नेपाल रेडक्रस सोसाइटी धादिङको आकस्मिक रक्तदान कार्यक्रममा उनले धेरै पटक रगत दिइसकेका छन् । बिरामी, सुत्केरी तथा दुर्घटनाका घाइतेहरूलाई तत्काल रगत आवश्यक परेको समयमा तुरुन्तै आकस्मिक कक्षमा आइहाल्छन् ।
धादिङबेसीका नारायणकुमार श्रेष्ठ पनि नियमित रक्तदाताका रूपमा चिनिन्छन् । संघसंस्था तथा अन्य निकायले गर्ने रहेक रक्तदान कार्यक्रममा सहभागी हुन्छन् । आफ्ना साथीहरूलाई पनि रक्तदान गर्न हौस्याउने उनले अहिलेसम्म ५१औँ पटक रक्तदान गरिसकेका छन् । वि. सं २०५४ साल २७ पुसमा पहिलो पटक रक्तदान गरेका उनले रक्तदान गर्न हरेक व्यक्तिलाई प्रेरित गरिरहेका हुन्छन् । “केही साथीहरू रगत दिन मान्दैनन्, रक्तदान गर्न जाउँ भन्यो भने के–के बहाना बनाउँछन्, केहीलाई कमजोर हुन्छु भन्ने छ, केही डराउँछन् केहीले बुझ्दैनन्, दुब्लो छु, भनेर बहाना गरेर आग्रह टार्छन्,” उनले सुनाए ।
रगत हाम्रो शरीरका लागि नभई नहुने पदार्थ हो । यसको कुनै देश, जाति, राज्य र धर्म हुँदैन । मैले दिएको रगतले कसैको ज्यान बच्छ भने हाँसीखुसी दिन तयार हुनुपर्ने तर्क उनी राख्छन् । जीवन महत्वपूर्ण हुन्छ, हाम्रो सहयोगले कसैको जीवन जोगिन्छ भने किन रक्तदान नगर्ने, सबैले रक्तदान गर्नुपर्ने कुरामा यसरी जोड दिन्छन् । उनले भने, “रक्तदान गरेकै कारणले पनि एउटा आमाबुबाले आफ्ना बच्चा फिर्ता पाउन सक्छन्, एउटा परिवारले आफ्नो प्रिय सदस्यको जीवन पाउँन सक्छ र समाजले अकालमै कोही सदस्य गुमाउन नपर्ने वातावरण बन्न सक्छ ।”
धेरै मानिस रक्तदान भन्ने बित्तिकै डराउने गर्दछन् । तर पछिल्लो समय महिला पनि यस कार्यमा सक्रिय भएर लागेका छन् । अधिवक्ता तोलाकुमारी पाठक पनि नियमित रक्तदाता हुन् । उनले २३औं पटक रक्तदान गरिसकेकी छन् । १२ वर्ष अघिदेखि रक्तदान गर्न सुरु गरेका उनले सुत्केरी, दुर्घटनामा परेका व्यक्तिहरुलाई दिने गरेको बताइन् । “हाम्रो सानो सहयोग कसैका लागि ठूलो योगदान बन्छ भने किन सहयोग नगर्ने ?” पाठकले भनिन् । आफूहरूको स–सानो सहयोगबाट मान्छेहरूको मुहारमा हाँसो ल्याउन सक्ने बताउँछिन । पहिलो पटक रगत निकाल्दा डर लागेको अनुभव सुनाउँदै उनी भन्छिन्, “रगत दिँदा केही हुँदैन, रगत त समयसमयमा दिन सकिन्छ । आफूसँग भएको कुरा किन नदिने ?” स्वास्थ्य स्थिति, महिनावारीलगायतका प्राकृतिक समस्याका कारण पुरुषको तुलनामा महिलाहरूले कमै रक्तदान गर्ने गर्छन । तर पछिल्लो समय रक्तदान गर्न महिलाहरुको पनि सक्रियता बढेको छ ।
स्वस्थ मानिसको शरीरमा पाँचदेखि ६ लिटरसम्म रगत हुने बताइन्छ । रगत नभएमा मस्तिष्क चार मिनेट र मुटु ६ घन्टामा निष्क्रिय हुन्छ । आवश्यकताअनुसारको रगत शरीरले उत्पादन गरिरहेको हुन्छ । रक्तदानपछि शरीरमा रगतको परिणाम वा प्लाज्माको मात्रा २४ घन्टाभित्रमै परिपूर्ति हुन्छ । मानव शरीरबाट निकालिएको रगतलाई प्लास्टिकका पोकाहरूमा संकलन गरिन्छ । संकलन गरिएको रगतलाई जम्न नदिन केमिकलहरूको प्रयोग गरिएको हुन्छ । त्यस्ता पोकामा ४ सय ५० मिलिलिटर रगत जम्मा गर्न सकिन्छ । यसरी जम्मा गरिएको रगतलाई सीपीडीए एन्टिकोएगुलेनट सलुसनमा राखी न्यूनतम २–४ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गरिने हो भने ३५ दिनसम्मका लागि काम लाग्छ ।
धादिङ घर भएका व्यक्तिहरूलाई डाक्टरको सिफारिसका आधारमा केन्द्रीय रक्तसंचार केन्द्र काठमाडौँ र धादिङको रक्तसंचार केन्द्रबाट पूर्णरूपमा निःशुल्क रगत प्रदान गर्दै आइरहेको छ । यो कार्यका लागि जिल्ला भित्रका स्थानीय तहहरुले समेत सघाएको छ ।

प्रतिक्रिया दिनुहोस्