Logo

नेपाल प्रहरीको आईजीपीमा सिंह नियुक्त

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एआईजी सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
सिंह गत महिनामात्र एआईजीमा बढुवा भएका थिए । वर्तमान आईजीपी शैलेश थापाले ३० वर्षे सेवा अवधिका कारण आइतबारदेखि नै अवकाश पाएका छन् । सिंह अब ११ महिना आईजीपी बन्नेछन् । ३० वर्षे सेवा अवधिका कारण उनको अवकाश आगामी चैतबाट हुनेछ ।
एसएसपी हुँदा तत्कालीन महानगरीय अपराध महाशाखाको नेतृत्व गरेका सिंह डीआईजी हुँदा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख भएर काम गरेका थिए ।
गृहमन्त्री बालकृष्ण खाणले एआईजीको एक नम्बर वरीयतामा रहेका विश्वराज पोखरेललाई आईजीपी बनाउन सिफारिस गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाको अडानका कारण सिंह नै आईजीपीमा नियुक्त भएका हुन् । आइतबार नै बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाले स्थानीय चुनावको सम्मुखमा वरीयता मिचेर आईजीपी नियुक्त गर्दा हितकारी नहुने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।
त्यसैगरी सरकारले आइतबार नै सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा राजु अर्याललाई पदोन्नति गर्ने निर्णय गरेको छ । उनी पनि सशस्त्रमा एआईजी थिए ।

प्रतिक्रिया दिनुहोस्