दुईतिहाइको दम्भले सरकार आफैं अप्ठ्यारोमा : कोइराला

बारा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दुई तिहाइको दम्भले सरकार चलाउन खोज्दा सरकार आफैं अप्ठ्यारोमा परेको बताएका छन् । हावाहुरी प्रभावित क्षेत्रको अवलोकनका लागि बारा आइपुगेका कोइरालाले पत्रकाररुसँग कुराकानी गर्दै सञ्चार क्षेत्रलाई कुण्ठित बनाउने निर्णय दुईतिहाइको दम्भका कारण भएको बताए ।
उनले यतिबेला न्यायपालिका निरिह भएको भन्दै चिन्ता व्यक्त गरे । हिजो राजाको शासन कालमा र पञ्चायत कालमा समेत न्यायालयमाथिको विश्वास अहिले दुईतिहाईको हस्तक्षेपले निरिह हुन लागेको उनको भनाइ थियो । सेनालाई प्रधानमन्त्री मातहतमा ल्याउन जुन विधेयक संसदबाट पारित गर्न लागिएको छ, त्यसले लोकतन्त्रका हरेक सिद्धान्त समाप्त हुने भन्दै कांग्रेसले विधेयक पारित हुन नदिने उनले बताए । राष्ट्रिय सुरक्षा परिषद् हुँदाहुँदै सेनालाई प्रधानमन्त्री मातहतमा ल्याउनु कम्युनिष्ट अधिनायकवादतर्फ उन्मुख भइरहेको आरोप उनले लगाए ।
“प्रजातान्त्रिक संसदीय व्यवस्थामा सेनालाई प्रधानमन्त्री मातहतमा ल्याउन खोज्नु, अर्थ तथा गृह मन्त्रालयका विभागहरुलाई आफ्नो मातहतमा ल्याउनुले शक्तिशाली प्रधानमन्त्री बन्ने कम्युनिष्ट तानासाह प्रवृत्ति हावी भएको छ,” कोइरालाले भने ।
एक अर्को प्रसंगमा उनले अंगिकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने सम्बन्धमा कानुन बनाएर व्यवस्था गर्न सकिने भन्दै कोइरालाले सर्वोच्च अदालतले स्टे अर्डरसँगै कानुन बनाएर नागरिकता वितरण कार्य गर्न सुझाउनुुपर्ने बताए ।
पार्टी सभापतिको दौडमा तपाईंको पनि हल्ला छ नि भन्ने पत्रकारको प्रश्नमा कोईरालाले भने, “सभापतिको उम्मेदवारका लागि योग्य म पनि छु । साथीभाइको सल्लाहअनुरुप अघि बढ्छु । जिल्लाका साथीहरुको राय सुझाव लिँदै छु, उहाँहरुको सुझाव र सल्लाहअनुसार उम्मेदवार बन्ने कुरा अघि बढ्ने छ ।”
कोइरालाले बुधबार बाराका हावाहुरी प्रभावित क्षेत्रको अनुगमन गरी जिपि प्रतिष्ठानले संकलन गरेको राहत वितरण गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका पूर्व सचेतक शोभाकर पराजुलीले जानकारी दिए ।