Logo

बेलहिया नाकाबाट भित्रिए तीन महिनामा ६६ हजार पर्यटक

रुपन्देही-स्थलमार्ग बेलहिया नाका (भैरहवा) हुँदै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या गएको ३ महिना (जनवरी, फेब्रुअरी र मार्च) मा ६६ हजार ६ सय ९२ पुगेको छ । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ हजार ३ सय ६४ ले बढी हो ।
बेलहियास्थित अध्यागमन कार्यालयका अनुसार सन् २०१८ को पहिलो तीन महिनामा कुल ६४ हजार ३ सय २८ पर्यटक आएकोमा यस पटक बढेका हुन् । जनवरी र फेबु्रअरीमा पर्यटक आगमन बढे पनि मार्चमा भने १ हजार १ सय ७९ जना कम आएका छन् । यो वर्षको जनवरीमा १२ हजार ४ सय ५२ र फेब्रुअरीमा २५ हजार ४ सय ५९ विदेशी पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन अधिकृत गिरिराज खनालले बताए ।
सन् २०१८ को जनवरीमा १२ हजार ९ सय ९६, फेब्रुअरीमा २१ हजार ३ सय ७२ र मार्चमा २९ हजार ९ सय ६० पर्यटक आएका थिए । यो वर्षको मार्चमा पर्यटक आगमन संख्या घटे पनि समग्रमा भने पर्यटक आगमन वृद्धि भएको छ ।
३ महिनामा सबैभन्दा बढी श्रीलंकन १८ हजार ५ सय ७२ जना आएका छन् । त्यसै गरी बर्मा (म्यान्मार)बाट १६ हजार ३ सय ३५, थाइल्याण्डका १५ हजार ८ सय ४१, दक्षिण कोरियाका २७ सय ११, चीनका २२ सय ८२, भियतनामका २१ सय ७२ र अन्य देशका १ सय २० पर्यटक आएका छन् ।
यो नाका हुँदै भ्रमणमा आउने पर्यटकहरुको मुख्य गन्तव्य बुद्धको जन्मस्थल लुम्बिनी हो । त्यसपछि काठमाडांै, चितवन, पोखरा, मुस्ताङ, मनाङलगायतका पर्यटकीय गन्तव्यमा जाने गरेका छन् ।
बुद्धिष्ट मुलुकबाट आउने पर्यटकहरु प्रायः लुम्बिनी भ्रमण गरेर फिर्ता जाने गरेका छन् भने अन्य देशका पर्यटक लुम्बिनीसहीत अन्य पर्यटकीय क्षेत्रमा जाने गरेको लुम्बिनीका पर्यटन व्यवसायी तथा सिद्धार्थ होटल एसोसियसन लुम्बिनी नेपालका उपाध्यक्ष मिथुन मान श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार तेश्रो मुलुकका पर्यटकसँगै भारतीय पर्यटक पनि विगतमा भन्दा अधिक आइरहेका छन् । यो नाका हुँदै आउने भारतीय पर्यटकहरुको मुख्य गन्तव्य पोखरा, मुक्तिनाथ, काठमाडांै रहेका छन् भने लुम्बिनी पनि जाने गरेका छन् । केही भारतीय नजिकको सहर तानसेनसम्म गएर रात बिताई फर्कने गर्छन् । गर्मी समयमा धेरै भारतीय पर्यटक गल्मी छल्न नेपालको पहाडी जिल्लामा आउने गरेका छन् । गोरखपुर, लखनउ, बनारस, कानपुरबाट बढी पर्यटक आउने गरेको नेपाः ट्राभल्सका प्रबन्ध निर्देशक तथा नाट्टा प्रदेश ५ का उपाध्यक्ष सञ्जय बजिमयले बताए ।
स्थलमार्गबाट पर्यटक आउने क्रम अत्यधिक बढेपनि पर्यटन व्यवसायीले खासै लाभ भने लिन सकेका छैनन् । धेरै पर्यटक सेम डे टुरिष्टका रुपमा रहेको होटल व्यवसायी एवं सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए । “जुन दिन भ्रमणमा आयो, त्यही दिन भ्रमण गरी फर्कने (सेम डे) पर्यटक बढिरहेका छन् । त्यसमध्ये लुम्बिनीमा बास बस्नेहरु पनि धेरैजना त्यहाँका बिहारहरुले सञ्चालन गरेका आवासगृहमा बसिदिँदा लुम्बिनी, भैरहवा क्षेत्रका होटल व्यवसायीहरुलाई मर्का परिरहेको छ,” उनले भने ।
लुम्बिनी आउने पर्यटकहरुको बसाइ अवधि लम्ब्याउने खालका कुनै प्याकेज हुन नसक्दा व्यवसायीले फाइदा लिन नसकेको नाट्टा प्रदेश ५ का अध्यक्ष विष्णु प्रसाद शर्माले बताए । वर्ष २०७६ लाई प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण बर्षका रुपमा मनाउने घोषणा गर्दै बढी भन्दा बढी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पर्यटक भित्र्याउनका लागि पर्यटक लक्षित योजना, प्याकेज कार्यक्रम ल्याउन जरुरी रहेको पर्यटन व्यवसायीहरुको भनाइ छ ।
पर्यटनको सम्भावना बढेसँगै भैरहवा लुम्बिनी क्षेत्रमा होटल क्षेत्रमा अर्बौंको लगानी भित्रिएको छ भने नयाँ–नयाँ होटल निर्माणको क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्