Logo

पर्यटक पर्खाइमा घटाल देवताथान

डडेल्धुरा पुग्ने हिन्दू धर्मावलम्बीहरूका लागि घटालथान आस्थाको धरोहरका रुपमा रहेको छ । धार्मिक आस्थाका साथै घुमघाम तथा दृष्यावलोकन रुचाउनेहरुका लागि पनि उक्त स्थान उपयुक्त छ ।
डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं. ३ डोटी क्षेत्रमा अवस्थित रहेको घटालथान बाबा मन्दिर बूढीघटालका नामले पनि प्रशिद्ध छ । यसलाई सुदूरपश्चिम क्षेत्रको मुख्य धार्मिक शक्ति पिठका रुपमा लिइन्छ ।
सदरमुकाम बागबजारदेखि पश्चिम दक्षिणतर्फ ५ किलोमिटरको दूरीमा अवस्थित रहेको घटालथानसम्म सडक कालोपत्रे भएसँगै आन्तरिक तथा डडेल्धुरा पुग्ने जोकसैले पनि त्यहाँसम्म पुग्न सजिलो भएको छ । सदरमुकाम नजिकै रहेकाले धार्मिक शक्तिपिठको पूजाआजा तथा अवलोकनका लागि घटालथान एक मुख्य गन्तव्यका रुपमा चिनिन्छ ।
घटालथानसँगै पश्चिमतर्फ प्यागोडा शैलीमा बनेको असिग्राम मन्दिर पनि रहेको छ । चारैतिर डाँडाले घेरेको डोटी घटाल क्षेत्रसम्म परेको घटाल गाड खोला क्षेत्रमा अवस्थित छ । घटाल गाडका बीचमा घटाल बाबाको मूर्ति अवस्थित रहेसँगै ऐतिहासिक ढुंगे नौला र ऐतिहासिक हिङ्लो पिङ पनि रहेकाले घटाल पुग्नेलाई पिङको आनन्द पनि लिन मिल्छ ।
घटालस्थानमा हरेक नयाँ वर्षको पहिलो दिन पूजाआजा हुने गर्दछ । प्रत्येक वर्षको २ गते मेला लाग्छ । त्यहाँका धामीहरूले आ–आफ्ना समस्या समाधानका निम्ति गएकाहरूलाई म्याद दिएरै समस्या हल गरिदिने आश्वासन दिन्छन् ।
देउताको प्रभाव र शक्तिलाई कसैले चुनौति दिए भने मूल धामीले बालुवा खानुका साथै अरु धामीलाई पनि बालुवा खुवाएर शक्ति देखाउने गर्छन् । स्थानीयवासीहरू धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गरेको विश्वास गर्दछन् । धामीहरूले पहिले–पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंवदन्ती स्थानीय रुपमा प्रचलित छ । मुखभरीको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको धामीहरूले दावी गर्ने गर्छन् ।
आफ्नो मनोकामना पूरा भएकाहरूले यहाँ बोकाको बली दिन्छन् । किंवदन्ती अनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहिन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लग्न नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ । पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहेको पाइन्छ । खडेरी परेको वर्ष स्थानीयबासीले पानी देऊ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशीलाको प्वालमा हाल्छन् र वर्षाको कामना गर्छन् ।

कहाँबाट आए घटाल देवता
घटाल देवताको उत्पति कहिले र कुन अवस्थामा भयो भन्ने कुरामा एकमत नभए पनि महाभारतमा वर्णित भिमपुत्र घटोत्चक यहाँ जुन देवताको रुपमा पूजित भएका छन्, तिनको स्थान पहिले हालको घटाल भन्ने ठाउँमा थियो भन्ने किंवदन्ती छ । घटाल मसानमा बस्ने हुँदा त्यस ठाउँमा सधै मुर्दा जलाउने गरेको र बूढी घटाल नजिक हाटा गाउँमा धेरै पहिले एउटा वृद्धा ब्राम्हणी बस्दथिन् । तिनि सधै डोटी खोलामा नुहाई देवताको पूजा पाठ गरी नित्य मध्यान्ह कालमा भोजन गर्ने गर्दथिन् ।
प्रत्येक दिन त्यस ठाउँमा मुर्दा जलाउने गरेको समयमा पूजापाठ र भोजन गर्ने कुरामा बाधा पर्न गएको रहेछ । एक दिन तिनले घटाल देवताको आह्वान गरिछन् । घटाल देवताले तिनलाई परेको असुविधालाई महसुस गरि त्यहाँबाट हाल रहेको ठाउँ एकान्त स्थल हुँदा त्यहीं बसोवास गरेका छन् । त्यही बगि आएको घट्टको चक्कामा पूजा गर्ने र बलि दिने प्रचलन आएको छ । घटाल देवताले साक्षात शक्ति देखाएका थुप्रै उदाहरणहरू छन् । यिनलाई भिमसेन पत्र घटोत्चक तथा कसैले शिवको रुपमा लिन्छन् । जे भए पनि यी मसानबासी ठूला देउता हुन् भन्ने कुरामा यहाँका भक्तजनहरू विश्वस्त छन् ।
हरेक वर्षको वैशाख २ गते यहाँ लाग्ने मेलामा श्रद्धालु भक्तजनहरू यो शक्ति सम्पन्न देवता अपार श्रद्धा र भक्ति प्रकट गर्छन् । घटालको गरगहना चम्साल भन्ने गाउँमा राखिने तथा त्यहाँका बासिन्दा भरिया हुने व्यवस्था छ । पूजाको दिनमा देउरोको साथमा धामि झाँक्रिहरू नाचेर बाजागाजाको साथ घटालस्थलमा पूजा सामग्री लगेर पूजा तथा जात्रा सिध्याएपछि पुनः भण्डारमा फिर्ता ल्याउने परम्परा छ । यहाँका स्थानीय घटाल देवताको पूजा गरेपछि पानी पर्ने विश्वास गर्दछन् । नेपालको नक्शामा घटालथान मन्दिर २९.२९ डिग्री उत्तर र ८०.४८ पूर्व छ । घटाल क्षेत्र विकास समिति बनेसँगै घटाल क्षेत्रको संरक्षण र प्रवद्र्धनमा काम गरी रहेको अध्यक्ष गणेश भण्डारीले बताए ।
जीर्ण बनेको पिङ पुनःनिर्माण, भत्केका पर्खाल बनाउने, घटाल बाबाको मूर्तिमात्रै रहेको गाड वरिपरी पर्खाल लगाई संरक्षण, खोला तर्न पुल, पिकनिक घर बनाई पर्यटकका लागि विश्रामस्थल पनि निर्माण गरिएका छन् । उनले भने, “घटालथान पुग्नेहरूका लागि समितिले केही आचारसंहिता पनि बनाई निरन्तर रुपमा खटिई काम गरिरहेको छ ।” असिग्राम क्षेत्रमा ऐतिहासिक ढुंगाका देवलहरू पनि रहेकाले पार्क निर्माणको काम पनि समितिले गर्दै आएको वडा अध्यक्ष गोविन्द बोहराले बताए ।
घटालथान धार्मिक शक्ति पिठसँगै रमाइला दृष्य र ऐतिहासिक जीवित संरचनाहरू पनि रहेकाले अध्ययन, अवलोकन र मनोरम रहेको उनले बताए । पछिल्लो केही वर्षयता पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको घटाल देवता शक्तिको रुपमा चिनिनुको साथै देश तथा विदेशबाट पनि पर्यटकको घुइँचो लाग्ने गर्छ । घाटाल देवताको शक्तिले निःसन्तानलाई सन्तान र समस्या परेको व्यक्तिलाई शक्ति दिने भएकाले मासीहरूको आस्था घटाल देवताप्रति अहिलेसम्म पनि कम हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्