Logo

दुई सयलाई चालीस ‘रुप्पे’ कम

नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको छ । पटक–पटक मूल्यवृद्धि भइरहँदा उपभोक्ता निकै मारमा परेका छन् । यद्यपि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाइरहे पनि सिंगो निगमले भने घाटा बेहोरिरहनुपरेको छ । हाल पेट्रोलको ऐतिहासिक मूल्य कायम भएको छ । चैत २२ गतेको राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य नयाँ निर्धारण भएको छ । प्रतिलिटर पेट्रोलको रु. १ सय ६०, डिजेल रु. १ सय ४३, मटीतेल रु. १ सय ४३, हवाई इन्धन आन्तरिकतर्फ रु. १ सय ५६, त्यस्तै बाह्यतर्फ १.५४५ यूएस डलर कायम भएको छ भने खाना पकाउने एलपी ग्यास भने प्रतिसिलिन्डर रु. १६ सय कायम गरेको छ । पटक–पटकको मूल्यवृद्धिले नेपालीको घरघरमा अनि भान्साभान्सामा महँगी बढेको छ । आम उपभोक्ताले खरिद गर्नै नसक्ने गरी मूल्यवृद्धि भइरहँदा दैनिक जनजीवन कष्टकर बन्दै गएको छ ।
बारम्बार बढिरहने पेट्रोलियम पदार्थको मूल्यले गर्दा अभाव बढ्दै गइरहेको छ । सबैभन्दा बढी मूल्य कायम भएको पेट्रोलको मूल्य रु. १ सय ६० छ, अब रु. २ सय प्रतिलिटर पुग्न धेरै बाँकी नै छैन । यही रफ्तारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहने हो भने त्यो दिन नजिकिँदै गइरहेको अनुमान लगाउन गाह्रो पर्दैन । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहनुमा इन्धनको आपूर्ति हुन नसक्दा युरोपेली मुलुक, त्यस्तैै छिमेकी राष्ट्र भारतमा समेत ऊर्जामा अत्यधिक मूल्यवृद्धि भएको छ । त्यसको असर नेपालमा समेत देखिएको छ ।
रूस–युक्रेनबीच जारी युद्धको आर्थिक प्रभाव विश्वभरि देखिएको छ । नेपालजस्ता विकासोन्मुख राष्ट्रहरू झनै बढी प्रभावित छन् । प्राकृतिक ग्यासका लागि रूसमा अत्यधिक निर्भर भएको युरोपमा ग्यास आपूर्ति नभएपछि ऊर्जामा अत्यधिक मूल्यवृद्धि भएको छ । त्यसैको असर नेपालमा समेत परेको स्पष्ट हुन्छ । रूस–युक्रेन युद्धकै कारण इन्धनमा भारी मूल्यवृद्धि हँुदा नेपालमा हरेक वस्तुको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले छोटो–छोटो अवधिमै धेरै पटक पेट्रोलियम पदार्थको मूल्य बढाइसकेको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च दर कायम गरी पेट्रोल, डिजेल तथा मटीतेललगायतमा नयाँ मूल्य निर्धारण गरेको छ ।
सहरमा सवारी चाप अत्यधिक मात्रामा छ । न सवारी चाप व्यवस्थापन गर्ने सरकारसँग ठोस पहलकदमी छ, न त व्यवस्थापनमा कुनै सरोकार राखेको छ । सडकको क्षमताभन्दा दोब्बर–तेब्बर मात्रामा सवारी साधन चलिरहेका छन् । पेट्रोलबाट चल्ने सवारीकै कारण आज सहर प्रदूषित बनेको छ । मुलुक चरम ऊर्जा संकटबाट गुजे्रर यो अवस्थासम्म आइपुगेको छ । सधैं बढिरहने पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको विकल्पमा इन्डक्सन चुलो, त्यस्तै विद्युतीय सवारीमा आयात बढाउँदै त्यसकोे उपयोगिता पनि बढाउनुपर्ने भएको छ । यस्ता साधनको प्रयोगले वातावरणमा पनि स्वच्छता राख्न मद्दत पुग्छ ।

प्रतिक्रिया दिनुहोस्