Logo

इन्धन आपूर्तिमा देखिएका समस्या समाधान गर्ने आश्वासन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम क्षेत्रमा देखिएका समस्या वैज्ञानिक तवरबाट समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संगठनका प्रतिनिधिहरुसँग आइतबार भएको भेटमा मन्त्री बडुले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको संकटको असर नेपालमा पनि परेकोले यसको वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए । आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायतका समस्याको वैज्ञानिक तवरबाट समाधाना गरिने मन्त्री बडूको भनाइ छ ।
यस क्षेत्रमा कार्यरत उद्योगी व्यवसायी र ढुवानीकर्ताको समस्या एवं माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको स्पष्ट पार्दै उनले सबै मिलेर पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुनेमा उपभोक्तालाई आस्वस्त पार्नुपर्ने बताए ।
नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम ढुवानी महासंघ र पेट्रोलियम पदार्थ डिलर्श एशोसिएशनका प्रतिनिधिले पछिल्लो समय देखिएका समस्या समाधानका लागि मन्त्रीलाई संयुक्त रुपमा ध्यानाकर्षण गराएका थिए । सो अवसरमा व्यवसायीहरुले पेट्रोलियम क्षेत्रमा देखिएका समस्या समाधान हुनेमा विश्वस्त रहेको बताएका थिए ।
व्यवसायीहरुले ढुवानी कमिसन वृद्धिको माग राख्दै एक साताअघि इन्धन वितरण ठप्प गर्दा बजारमा अभाव भएको थियो । डिजेलको मूल्य वृद्धिसँगै ढुवानी कमिसन पनि बढाउनुपर्ने माग राखेर विरोधका कार्यक्रम गर्दै आएका थिए । सरकारले व्यवसायीका माग जेठ महिनासम्म पूरा गर्ने सम्झौता गरेपछि व्यवसायीले विरोधका कार्यक्रम स्थगन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्