Logo

जहाँज नहुँदा कर्णालीमा हवाई उडान ठप्प

जुम्ला-कर्णाली प्रदेशका हिमाली जिल्लामा एक सातादेखि हवाई उडान प्रभावित भएका छन् । पर्यटक ओसार्न जहाजहरू पूर्वतिर गएपछि कर्णालीका हिमाली जिल्लामा हवाई उडान प्रभावित भएको हो । जुम्ला, हुम्ला, मुगु, डोल्पामा सुर्खेत नेपालगन्जबाट दैनिक उडान भर्ने जहाजहरू विगत एक सातादेखि पर्यटक ओसार्न पूर्वतिर गएपछि कर्णालीमा हवाई यात्रा ठप्प हुँदा नागरिकले सास्ती पाएका हुन् ।
जहाजहरू लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा पर्यटक बोक्न गएपछि कर्णालीका जुम्लालगायतका हिमाली जिल्लामा हावाई यात्रा ठप्प भएको जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले बताए । उनले भने, “जुम्लामा नियमित उडान गर्दै गएका तारा, समिट, सीता, नेपाल एयरलाइन्स लगायतका जहाज पर्यटक बोक्न पूर्वतिर गएका छन् । विमानस्थलमा बिरामी सर्वसाधारण र कर्मचारीलगायत यात्रुहरू अलपत्र परेका छन् । चाँडो कर्णालीमा हवाई उडान सुरु गर्न पहल भइरहेको छ ।”
जुम्लामा चैत २५ गतेसम्म समिट एयरले नियमित उडान गर्ने सम्भावना रहेको प्रमुख अधिकारीले जानकारी दिए । निजी विमान कम्पनीले सेवाभन्दा आफ्नो मुनाफाका लागि बढी काम गर्दा समस्या भएको छ ।
उता मुगु रारा विमानस्थलका प्रमुख सन्तोषकुमार गौतमका अनुसार जहाज नहुँदा विमानस्थलमा यात्रुहरू अलपत्र परेका छन् । जहाज अभावका कारण सुर्खेत, नेपालगन्ज, काठमाडौंतिर गएका कर्मचारी स्थानीय र व्यापारीलाई आफ्नो जिल्ला फर्कन पनि गाह्रो भएको उनको भनाइ छ । नेपालगन्ज विमानस्थलमा जहाज नहुँदा यात्रुलाई मुगु, हुम्ला, जुम्ला र डोल्पा जान कठिन भएको हो । जाडो छल्न तराई झरेका माथिल्लो कर्णालीका नागरिक फर्किने समय भए पनि जहाज नहुँदा सास्ती खेपिरहेका छन् ।
चैत वैशाख लागेपछि वर्षेनी पूर्वमा पर्यटक ओर्सान जहाज त्यतै जाने र मोटो रकम कमाउने दाउमा निजी एयरलाइन्सले कर्णालीका नागरिकलाई बेवास्ता गर्दै आएको कर्णालीबासीको गुनानो छ । कर्णालीका हुम्ला मानसरोवर, डोल्पा सेफोक्सन्डो, मुगु रारा ताल, जुम्ला सिंजा चन्दननाथ तातोपानी आउने पर्यटकहरू जहाज नहुँदा नेपालगन्जमै थन्किएका छन् । निजी एयरलाइन्सले हिमाली जिल्लामा दैनिक एक एकवटा उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लंघन गरी कर्णालीमा उडान ठप्प गरेका छन् ।

जहाज नचल्दा फर्किए विदेशी खेलाडी
जुम्लामा २६ चैतदेखि तेस्रो अल्ट्रा म्याराथन प्रतियोगिता हुँदैछ । कर्णालीको पर्यटन प्रर्वद्धन तथा खेल क्षेत्रको विकाका लागि आयोजना गरिएको प्रतियोगितामा विभिन्न देशका खेलाडीले नाम दर्ता गराएका थिए । तर कर्णालीमा विगत एक सातादेखि जहाज नचल्दा तेस्रो अल्ट्रा म्याराथन प्रतियोगितामा भाग लिन नेपाल आएका खेलाडी फर्किएका छन् ।
पर्यटक बोक्न भन्दै सबै जहाज पूर्वतिर उडान भर्न थालेपछि म्याराथनमा सहभागी हुन आएका विदेशी खेलाडी फर्किएको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनले भने, “बेलायत, नेदरल्याण्ड, फिनल्याण्ड, अमेरिका, इटलीलगायतका देशबाट झण्डै १८ जना खेलाडीले नाम दर्ता गरेका थिए । तर १२ जना आउन तयारी अवस्थामा भए पनि जुम्ला आउने जहाजसँंगै रिटर्न फलाइटसमेत नभएपछि विदेशी खेलाडी नआउने भएका हुन् । निजी विमानहरूले आफ्नो लाभका लागि समग्र कर्णालीलाई बेवास्ता गरिरहेका छन् ।”
शनिबारसम्म विदेशी खेलाडी आउने कुरो भए पनि निरन्तरको पहल पश्चात पनि जुम्ला चल्ने विमानहरूले खेलाडी ल्याउन र रिटर्न फ्लाइटको व्यवस्थापन गर्न नसक्ने भनेपछि विदेशी खेलाडीको नआउने भएका हुन् । जुम्लामा चल्ने सीता, तारा, समिट र नेपाल एयरलाइन्सले पूर्वको पर्यटन प्रवद्र्धन तथा आर्थिक लाभका लागि म्याराथनमार्फत गर्न थालिएको कर्णालीको पर्यटन प्रवद्र्धनमा भने बाधा पु-याएको अध्यक्ष शाहीको दुःखेसो छ ।
निजी विमानले आफू खुसी उडान गर्न पाउने नीतिलाई नियमन गर्नुपर्ने र अनिवार्य उडान गराउनु पर्नेमा उनको जोड छ ।
जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । ४९ किमिका लागि झण्डै ५० भन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेका छन् भने ५ किमि दौडमा ६० जना विद्यार्थीसहित दुई सय जनाले नाम दर्ता गराएका छन् । रुकम, सोलुखुम्बु, भोजरपुर, विराटनगर, कालिकोट, सुर्खेतलगायतका जिल्लादेखि सडकमार्गबाट खेलाडी आउने क्रम सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्