Logo

जुम्बा नाचको बढ्दो लोकप्रियता

नृत्य मन नपराउने मानिसहरू प्रायः कमै भेटिन्छन् । बच्चादेखि वृद्धसम्म सबैलाई नृत्य मन पर्छ । ससाना नानीबाबुहरू पनि गीत सुन्नासाथै हातखुट्टा नचाउने गर्छन् भने अरूले नाचेको देख्दा आफू पनि उक्त धुनमा झुम्न मन लाग्ने गर्छ, जुन अत्यन्त स्वाभाविक आचरण पनि हो । त्यसैले एक सर्वलोकप्रिय भनाइ नै छ, जो धेरै नाच्छ ऊ धेरै बाँच्छ । त्यसमाथि हामी नेपालीहरूलाई नाच्न, रमाइलो गर्नका लागि कुनै अवसर कुर्नै पर्दैन । साथीभाइ, आफन्तजनहरू भेटघाट गर्नेबित्तिकै नाचगान गर्ने बानी नै बसिसक्यो र सबैलाई उत्कृष्ट नाच आउनैपर्छ भन्ने पनि छैन । हामी नेपालीहरूको लोकप्रिय दोहोरी नाच नै यहाँ सबैभन्दा लोकप्रिय नृत्य शैली हो । जुन शैलीमा बच्चादेखि बूढासम्मका मानिसहरूले नाच्ने गर्छन् र विश्वभरि नृत्यका धेरै प्रकारहरू देख्न सकिन्छ । तर, आजभोलि नेपालमा जुम्बा नाच धेरै प्रचलित बन्दै गएको छ । किनकि स्वस्थ रहने विविध उपायहरूमध्ये जुम्बा नाच पनि एक हो ।
बदलिँदो जीवनशैली, रहनसहन, खानपिनको कारण मानिसहरू अनेक थरी रोगको सिकार भइरहेका छन् । रोगले उमेर हेर्ने गर्दैन । त्यसैले अहिले कम उमेरमै पनि मानिसहरू बढी रोगी भएको भेटिन्छ । त्यसैले बच्चा हुन् या वृद्ध, सबैले सन्तुलित भोजन ग्रहण गर्न र नियमित रूपमा व्यायाम गर्न जरुरी छ । जुम्बा संगीतको माध्यमबाट गरिने नाच हो । गीत बज्दा हात फैलाउने, कमर मर्काउने, मुन्टो निहु¥याउने, गोडा उचाल्ने जुम्बा नृत्यका विशेषता हुन् । यसलाई इन्टरनेटको माध्यमबाट घरमै बसेर पनि गर्न सकिने हुनाले पनि आजभोलि यसको लोकप्रियता बढ्दै गएको छ । किनकि संगीत र नाच सबैलाई मन पर्छ । त्यसमाथि जुम्बा नाचलाई ‘सफ्ट एक्सरसाइज’ पनि भन्ने गरिन्छ । यसलाई गर्भवती, वृद्ध, बालबालिका सबैले गर्न सक्छन् ।
जुम्बाले मधुमेह, ब्लडप्रेसर तथा मोटोपनलगायतका रोगबाट टाढा राख्न सहयोग गर्छ । आफूलाई स्वस्थ राख्न विभिन्न योग तथा कसरतमा लागेका युवा, बालबालिकादेखि वृद्धसम्मको उमेर समूहका मानिसहरू अहिले जुम्बामा आकर्षित भएका छन् । किनकि एक घण्टा जुम्बा गर्दा ८ सयदेखि १ हजार क्यालोरी घटाउन सकिन्छ । गीतको तालमा नाचिने भएकाले कसरत गरेजस्तो अनुभव हुँदैन । छोटो समयमा नै तौल नियन्त्रणमा ल्याउनका लागि यो डान्स उत्तम विकल्प हो । जति–जति हामीले शरीरलाई आराम दिने गर्छौं, त्यति नै हामीहरू रोगको नजिक जाने गर्छौं । मोटोपन भनेको यस्तो अदृश्य रोग हो, जसले अनेकौं रोगहरूलाई चुनौती दिइरहेको हुन्छ । त्यसैले शरीरको मोटोपन घटाउनका लागि पनि जुम्बा अति उपयोगी व्यायाम हो । जुम्बा डान्स गर्दा शरीरबाट पसिना निस्कन्छ, शरीर मर्काउने भएकाले हामीलाई स्वस्थ राख्न मद्दत पुग्छ । साथै यसले पाचन प्रक्रियालाई मजबुत बनाउने गर्छ । ‘जुम्बा गरेपश्चात् तनावमुक्त हुनुका साथै शरीरमा एक प्रकारको शक्तिवद्र्धक ऊर्जा वृद्धि, आलस्यपनामा कमी, तनाव घटाउँछ, युरिक एसिड, थाइराइड, मुटुरोगलगायतका समस्यासमेत कम गर्न प्रभावकारी मानिन्छ । किनकि ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो उपाय हो ।
मेरो घरअगाडि एउटा जुम्बा नाचघर अवस्थित छ । त्यहाँ बिहानको ५.३० देखि संगीतहरू बजाएर मानिसहरू उक्त संगीतमा झुमेको प्रस्ट देख्न सकिन्छ । अचम्म तब लाग्यो जब त्यहाँ मानिसहरूको चाप बढी देखियो । संगीत पनि यति मीठो–मीठो बजाउने गर्छन् कि सुन्दै आफूलाई नै नाचौंनाचौं लाग्ने गर्छ । बिहान–बिहान संगीत सुनेर, साथीभाइहरूसँगै मिलेर नाच्दा गाउँदा दिनको सुरुवात नै राम्रो हुन्छ जस्तो लाग्छ र धेरै फ्रेस पनि भइन्छ । यसैको माध्यमबाट रोग मुक्त र कसरत पनि हुने हुनाले आजभोलि धेरै मानिस जुम्बा गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्