आन्तरिक पर्यटकको रोजाइमा इलाम «

आन्तरिक पर्यटकको रोजाइमा इलाम

हरिया डाँडाकाँडा, चियाबारी र समथर बाटो अनि अहिले सामाजिक सञ्जालको तीव्र प्रचारप्रसारले कन्याममा आन्तरिक एवं बाह्य पर्यटकको उपस्थिति बाक्लिएको छ ।

नेपाल एक प्राकृतिक सौन्दर्यले युक्त देश हो । त्यसैले यस देशमा विभिन्न सम्भावनाहरू रहेका छन् । सो सम्भावनाहरूमध्येको एक सम्भावना बोकेको ठाउँ इलाम पनि हो । नेपालका सातै प्रदेशमा आफ्नै किसिमको विशेषता रहेका छन् । त्यसमध्ये आज म आन्तरिक र बाह्य पर्यटनको रोजाइमा पर्न सफल इलामका बारेमा प्रकाश पार्न चाहन्छु ।
स्थानीय र प्रदेश सरकारको सहयोगमा इलामको एक सुन्दर ठाउँ कन्यामले आज काँचुली फेरेको छ । आजभन्दा १५ वर्ष पहिलासम्म पनि कन्याममा खासै चहलपहल हुने गरेको थिएन । हरिया डाँडाकाँडा, चियाबारी र समथर बाटो अनि अहिले सामाजिक सञ्जालको तीव्र प्रचारप्रसारले कन्याममा आन्तरिक एवं बाह्य पर्यटकको उपस्थिति बाक्लिएको छ ।
त्यस्तै श्रीअन्तु, माईपोखरी, सन्दकपुर, कन्यामजस्ता ठाउँहरू पर्यटकलाई लोभ्याउन सफल प्रमुख गन्तव्य हुन् । उल्लिखित स्थानहरूका आ–आफ्नै विशेषता रहेकाले त्यस ठाउँमा पुग्नैपर्ने अनुभूति त्यहाँ घुम्न आएका पर्यटकहरू बताउँछन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र थप पयर्टक भिœयाउने उद्देश्यले सुकिलुम्बा विमानस्थलसमेत सञ्चालनमा आएको छ । सो विमानस्थल सञ्चालनमा आएसँगै थप पर्यटकहरू यहाँका रमणीय ठाउँ घुम्न आउने संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।
विगत वर्षहरूमा रोजगारीका लागि बिदेसिने युवाहरूलाई स्वदेशमा नै केही आयआर्जन गर्न सकिने वातावरण सिर्जना भएको छ । युवा वर्गहरू आफ्नै परिवारसँग बसेर व्यवसाय गर्ने र आर्थिक उपार्जन गर्ने सोचलाई यथार्थमा परिणत गर्नसमेत सफल बन्दै गएका छन् । स्थानीय स्तरमा नै साना व्यवसाय गरी मासिक १ लाखसम्म कमाइ गर्न सकिने यहाँका स्थानीयहरू बताउँछन् ।
इलामको चिया, घिउ, चिज, ललिपप र छुर्पीले यहाँ आउने पर्यटकको मन लोभ्याउँछ । साथै, विभिन्न जातजातिका जातीय वेशभूषा लगाई फोटो खिचिने भएकाले त्यस क्षेत्रमा बसोबास गर्ने जातजातिको लोपोन्मुख सभ्यतासमेत जोगिएको छ । नगरपालिकाले पनि पर्यटन व्यवसायदेखि सिङ्गो इलामको पहिचान गराउन सकिने नीति लिएसँगै विकासले फड्को मार्न सफल भएको छ । त्यसैले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई एकपटक इलाम घुम्न आउन अनुरोध एवं स्वागत गर्छांै ।

प्रतिक्रिया दिनुहोस्