मधुमेह र यसबाट बच्ने उपाय

अहिले प्रविधिको विकासले धेरै नै ठूलो फड्को मारिसकेको छ । नयाँ–नयाँ प्रविधिको विकास भएसँगै दिन–प्रतिदिन मानिसहरूमा सौखिनता तथा आलस्यता बढ्दै गएको छ । मानिसहरू ५– १० मिनेट पैदल हिँड्न अल्छी मानेर सवारी साधनको प्रयोग गर्ने गर्छन् । अहिले सबथोक फोन गरेकै भरमा घरको दैलोमा आइपुग्छ । त्यसैले अहिलेका मानिसहरू पहिलेको दाँजोमा निकै कमजोर तथा रोगी हुने गर्छन् । पहिले–पहिले ढिँडो, आँटो, मकै, गुन्द्रुक खाएर गाउँघरमा मेलापात गरेर हुर्केका मानिसहरू धेरै हृष्टपुष्ट हुनुका साथै निरोगी पनि थिए । खानामा ढुङ्गाबाहेक सबथोक पचाउन सक्ने थिए । त्यति बेला रोगले चापेर मृत्यु भएको खबर प्रायः कमै सुनिन्थ्यो । तर, अहिले न त पहिलेको जस्तो खाना स्वस्थ पाइन्छ, न त मानिसहरू नै पहिलेको जस्तो खटेर काम गर्ने गर्छन् । त्यसैले त दिन–प्रतिदिन प्रविधिको विकास भएसँगसँगै नयाँ–नयाँ रोगहरूको पनि विकास भइराखेको छ ।
अहिलेका मानिसहरूले धेरै मात्रामा पसलको तयारी खानाहरू खाने गर्नाले र कसरत गर्नमा अल्छी गर्ने हुनाले पनि अहिले कम उमेरमै मानिसहरूलाई मधुमेह तथा चिनीरोग लाग्ने गर्छ, जसलाई सामान्य भाषामा डाइबेटिज रोग भन्ने गरिन्छ । जुन रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुन्छ र प्यांक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुन्छ भने इन्सुलिन हार्मोनको अनियमितता हुँदा मधुमेह हुन जान्छ । इन्सुलिनले चिनी अर्थात् कार्बोहाइड्रेडलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । तर, जब इन्सुलिनको उत्पादन हुन छाड्छ, रगतमा चिनीको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले पर्याप्त इन्सुलिन उत्पादन नगर्दा वा शरीरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुन जान्छ । रगतबिना रक्तसञ्चार प्रणालीको कल्पना गर्न सकिँदैन । यदि रगतमा भएका कुनै पनि पदार्थको मात्रा अर्थात् गुणमा परिवर्तन भयो भने समग्र रक्तसञ्चार प्रणाली र शरीरको आन्तरिक कार्य सञ्चालनमा बाधा पुग्न जान्छ ।
मानिसहरूको रहनसहन, विलासी जीवनशैली, खानपिन, अल्छीपनजस्ता आचरणले गर्दा पनि अहिले मधुमेहका बिरामी दिनप्रतिदिन बढिरहेका छन् । विश्वमा करिब २२ करोड मानिस मधुमेहबाट प्रभावित रहेको र आगामी २०३० सम्ममा यो संख्या दोब्बर हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । ग्रामीण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याको रूपमा रहेको छ । नेपालको ग्रामीण क्षेत्रमा जम्मा २ प्रतिशत व्यक्ति मधुमेहबाट प्रभावित भएका छन् । विश्वमा रोगबाट मर्नेहरूमध्ये ५ प्रतिशत मधुमेहका रोगी रहेका छन् । यदि तत्काल कुनै प्रभावकारी कदम नचालिएमा आउँदो १० वर्षमा मधुमेहबाट ज्यान गुमाउनेको संख्या ५० प्रतिशतले बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अहिले कम उमेर समूहका मानिसहरूमा पनि मधुमेह रोग देखिने गर्छ । मधुमेहलाई वंशानुगत रोग पनि भनिन्छ र यसबाट स्वयम् म पनि पीडित छु । पाँच वर्षअघि बच्चा गर्भमा रहेको पाँचौं महिनामा मधुमेह देखिएकाले स्वयम् म पाटन अस्पतालमा भर्ना भई एक महिनासम्म बिहान–बेलुका इन्सुलिन लगाउने गर्थें । त्यसमाथि मेरो घरमा आमाबुवा, दाइ, मामाघरमा सबैलाई मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल रोगबाट पीडित भएको हुनाले पनि मलाई मधुमेह भएको डाक्टरको भनाइ थियो । तर मधुमेह भयो भन्दैमा आत्तिहाल्नुपर्ने भन्ने त्यस्तो केही हँुदैन । दैनिक आफ्नो खानपिन र कसरत गर्नमा ध्यान दिएमा यस रोगबाट डराउनु पर्दैन र रोगसँग लड्न सकिन्छ । स्वस्थकर भोजन खाने, शारीरिक व्यायाम गर्ने, धूम्रपान, मद्यपान नगर्ने, शरीरको तौल सामान्य राख्ने तथा सुर्तीजन्य पदार्थहरू खानु हुँदैन । मधुमेहका रोगीहरूले रक्तचाप नियन्त्रणमा राख्नु तथा खुट्टाहरूको हेरविचार गर्नु आवश्यक हुन्छ भने सन्तुलित भोजन खाने, साधारण तर पौष्टिक आहार खाने र व्यायाम गर्ने गरेमा डाक्टरको परामर्शअनुसार बिस्तारै–बिस्तारै औषधि घटाउँदै लान पनि सकिन्छ ।