Logo

सुधार हुँदै नेपाली पर्यटन

नेपाल भ्रमणमा आएका विदेशी पर्यटक संख्याको कुरो गर्ने हो भने सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको देखिन्छ । तर, सो संख्या निरन्तर कायम रहन सकेन । सन् २०२० मा उल्टै घटेर २ लाख ३० हजार ८५ जनामा झ-यो । यसरी एकै वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या घट्नुको मुख्य कारण सन् २०१९ को अन्त्यतिर सुरु भएको कोरोना महामारी नै हो । त्यसैको फलस्वरूप सन् २०२१ मा त १ लाख ३१ हजार चानचुन विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए ।
यसरी तथ्यांक नै हेर्ने हो भने सन् २०२२ को पहिलो र दोस्रो महिनामा भने नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा १ सय १६ प्रतिशतले बढेको देखिन्छ । यही रफ्तारमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेमा सन् २०२२ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या ३ लाख ५० हजारदेखि ४ लाख १० हजारसम्म पुग्न सक्ने सम्भावना देखिन्छ । हामीले नेपालको पर्यटन इतिहास हेर्ने हो भने नेपाल सरकारले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको आधिकारिक रूपमा तथ्यांक राख्न थालेको सन् १९६३ देखि हो । नेपालको पर्यटनको इतिहासमा लगभग ४३ वर्षपछि अर्थात् सन् २०२१ मा धेरै कम संख्या अर्थात् १ लाख ३१ हजार चानचुन विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ भनी माथि नै उल्लेख गरिएको छ ।
सन् १९९० मा नेपालमा आएको राजनीतिक परिवर्तनसँगै नेपाली पर्यटन क्षेत्रमा खास प्रगति सुरु भएको मान्न सकिन्छ । किनभने सन् १९९० पछि बनेको प्रजातान्त्रिक सरकारले आर्थिक उदारीकरण र खुला अर्थव्यवस्थाको वकालत गरेर सोहीअनुसारको नीति तथा कार्यक्रम ल्याएको थियो । नेपालको पर्यटन विकासकै लागि भनेर सरकारी तवरबाट खासै गर्व गर्न लायक कामहरू भएनन् । तथापि तत्कालीन श्री ५ को सरकारले पर्यटन क्षेत्रमा हामीले गर्व गर्न लायक र बाहिरबाटै देखिने काम भनेको ‘नेपाल पर्यटन बोर्ड’ (एनटीबी) को गठन एक हो ।
हुन त पर्यटन विभागले सार्वजनिक गरेको ‘नेपाल टुरिजम् स्टाटिस्टिक–२०२०’ नामक पुस्तकमा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिपर्यटक बसाइ अवधि १५.१ दिन र प्रतिव्यक्ति प्रतिदिन खर्च गराइ ६५ अमेरिकी डलर रहेको थियो । विश्वव्यापी रूपमा फैलिएको र विश्वका प्रायः सबै देश र ती देशका आम सर्वसाधारण जनताबीच त्राहिमाम, त्राहिमामको अवस्थामा रहेको कोरोनाको महामारी (कोभिड–१९) ठीक अवस्थामा फर्किंदै गरेको अवस्था देखिएकाले अब (पछिल्लो समयमा) नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढाउने दायित्वका साथै गुणस्तरीय पर्यटक ल्याउन अभैm सुधारका कामहरू गर्नुपर्ने देखिन्छ । यस सम्बन्धमा अब हामीले बहस र छलफल अघि बढाइहाल्नुपर्ने देखिन्छ । कम्तीमा हामीले सन् २०२० मा नेपाल घुम्न आएका विदेशी प्रतिपर्यटकको बसाइ अवधि १५.१ दिन जुन रहेको छ, सो कायमै राख्नुका साथै नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रतिव्यक्ति प्रतिदिन खर्च गराइ ६५ अमेरिकी डलर पुगेको जो छ, सो दर-रेटलाई बढाउन नसके तापनि सोलाई कायमै राख्न प्रयास गर्नैपर्ने देखिन्छ ।
जे होस्, समग्रमा हेर्दा वि.सं. २०६२-०६३ को तेस्रो जनआन्दोलनको दोस्रो राजनीतिक परिवर्तनपछि नेपाल आउने विदेशी पर्यटकको संख्या लगातार बढिरहेको थियो । त्यसो भए तापनि नेपाल आउने विदेशी पर्यटकले गर्ने प्रतिव्यक्ति दैनिक खर्च र प्रतिदिन नेपाल बसाइअवधिमा भने हालसम्म पनि सुधार हुन सकेको छैन । जबकि विदेशी पर्यटकले नेपाल आएर गर्ने प्रतिदिन, प्रतिव्यक्ति दैनिक खर्च र उनीहरूको नेपाल बसाइ अवधि पनि क्रमशः बढ्दै जानुपर्ने हो । तर, त्यसो हुन नसकेर उल्टै घट्दै गएको स्थिति छ । तथापि सन् २०२० मा चाहिँ नेपालमा विदेशी पर्यटकले गर्ने प्रतिव्यक्ति दैनिक खर्च र उनीहरूको नेपाल बसाइ अवधि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्