Logo

निर्वाचन आयोगमाथि खनिए ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताले सरकार ढालेको बताएका छन् । एमालेको वैचारिक क्षमता, सुशासनका लागि गरेको काम तथा भ्रष्टाचारविरुद्ध चालेका कदम देखेर पार्टीकै नेताहरुले अरु दलसँग मिलेर सरकार ढालेको उनले बताए ।
पार्टी कार्यक्रमका लागि आइतबार इलाम पुगेका अध्यक्ष ओलीले पूर्व एमाले नेता तथा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालप्रति लक्षित गर्दै एमालेको बलमा सांसद भएकाहरु नै एमालेविरुद्ध उत्रिएको बताए । एमाले कसैलाई पनि झुक्याउने पार्टी नभएको उनको भनाइ थियो । दुई–चार वटा पात झरे पनि एमाले सतिसालका रूपमा रहने भन्दै उनले आसन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका पाँच दललाई एउटै कुचोले बढार्ने दाबी गरे ।
अध्यक्ष ओलीले दुई तिहाइको हैसियतमा पुगेको कम्युनिष्ट पार्टीको सरकारलाई कम्युनिष्टकै बर्को ओढेका ‘जन्तरे–अन्तरे’ले ढालेको टिप्पणी गरे । आफ्नो पार्टीबाट निर्वाचित भएका मेयर र सांसदहरूले राजीनामा नदिएको भन्दै उनले आक्रोश पनि पोखे । आफ्नो पार्टीबाट निर्वाचित भएकाहरुले पार्टीबाट अलग भइसकेपछि भत्ता खाएर बसिरहन नमिल्ने उनको तर्क थियो ।

ओलीले भने, ‘एमाले कार्यकर्ताले जुत्ताचप्पल खियाएर, पसिना बगाएर अन्तरे–जन्तरेलाई भोट हालेकाहरूले राजीनामा गर्नु पर्दैन ? भत्ता खाइराख्ने ? एमालेले लगाइदिएको सांसदको फुली, मेयरको फुली बोकेर फिर्ता गर्नु पर्दैन ? कति साह्रो लाज नभएको ? कमसेकम एमालेले टाँसिदिएका जुँगा त खौरिएर छोड्नुपर्छ नि । एमालेले लगाइदिएको जुँगामा ताउ लगाएर एमालेको बाकस खाली गर्छु भन्ने ? बाकस कसको खाली हुन्छ म भन्दिनँ, तपाईंहरूले जवाफ दिनुपर्छ । यस्ता गुन बिर्सिने र स्वार्थका पछाडि कुद्ने तत्वहरुलाई तपाईंहरूले मुखभरिको जवाफ दिनुपर्छ ।’
ओलीले थपे, ‘हामी चुनाव पर्खिरहेका छौं । वैशाख ३० गते एमालेले देशभरिबाट पाँच दललाई एउटै कुचाले बढार्छ । जबसम्म पाँच दलीय गठवन्धनको भाँडो रित्तिँदैन, तबसम्म हामी एमालेमा प्रवेश गराउँदै जाने हो ।’ एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगमाथि पनि गम्भीर प्रश्न उठाएका छन् । मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंगलाई लिएर प्रश्न गर्दै आएका उनले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा समेत विरोध गरेका छन् । ओलीले भने, ‘मनोनयन दर्ताका लागि दुई दिन किन चाहियो ? गठबन्धनमा खटपट परेर कुरा नमिल्नसक्छ, भोलिपल्ट मिल्न सक्छ भनेर हो ? पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’

प्रतिक्रिया दिनुहोस्