विदेशी पर्यटकलाई स्वागत

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आइतबार इटालियन पर्यटकलाई बाजागाजा सहितको साँस्कृतिक झाँकीले भव्य स्वागत गरिएको छ । रुकुम पश्चिम र रुकुम पूर्वका पर्यटकीय क्षेत्र तथा ग्रामीण वस्तीको भ्रमणमा आएका आठजना पर्यटकलाई खलंगा बजार परिक्रमा गरेर स्वागत गरिएको हो ।
उद्योग बाणिज्य संघ र नेपाल पर्यटन सूचना केन्द्र रुकुमको समन्वयमा पहिलोपटक रुकुम भ्रमणमा आएका विदेशी पर्यटकलाई स्वागत गरिएको सूचना केन्द्रका अध्यक्ष दीपकराज खड्काले बताए । उनका अनुसार विदेशी पर्यटकले ११ दिनसम्म दुईवटै जिल्लाका ताल तलैया, उच्च हिमाल क्षेत्र तथा ग्रामीण बस्तीको अवलोकन गर्ने भएका छन् ।
भ्रमणका लागि रुकुम आएका विदेशी पर्यटकले अनाथ बालबालिका तथा ग्रामीण क्षेत्रको शैक्षिक अवस्थालाई बुझेर आर्थिक सहयोग समेत गर्ने बताइएको छ ।