Logo

महाकालीको पानी पिउन अयोग्य

भित्री मधेस पर्शुराम धाम नजिक नेपाल भारतको सीमा महाकाली नदीको पानी दूषित रहेको पाइएको छ । पानीको शुद्धीकरण मापन गर्दा नदीबाट पानी सिधै पिउन योग्य नरहेको पाइएको हो । महाकाली नदीमा मिसिने नेपाल–भारत दुवैतर्फका खोलाको पानीको शुद्धता गुणस्तर मापन गर्दा सिधै पिउन योग्य नरहेको भेटियो ।
पहिलो पटक पानीको शुद्धता गुणस्तर मापन गर्दा दूषित पानी रहेको पाइयो । समुदायका स्थानीयहरूलाई नै पानीको शुद्धता गुणस्तर मापन गराउँदा खोलाबाट पानी सिधै पिउनका लागि उपयोग गर्न नसकिने पाइएको हो । महाकाली नदीमा मिसिने खोलाको महाकाली किनारबाटै पानी निकाली शुद्धता गुणस्तर मापन गर्दा दूषित पाइएको वातावरणविद् कृष्णदेव जोशीले बताए । पानी शुद्धता गुणस्तरका लागि अपनाइने २७ विधिमध्ये सामान्यतया दूषित रहे–नरहेको पत्ता लगाउन पाँचवटा विधि अपनाउँदा दूषित रहेको पाइएको उनले बताए ।
पानी शुद्धीकरण गुणस्तर मापन गर्दा अपनाइने विधिहरूमध्ये सामान्य तथा स्थानीयहरूले नै जानकारी लिन सक्ने गरी जिपिएस तरिकासँगै पिएच (पानीको गुणस्तर), टिडिएस (पानीमा घुलित तत्व), डिओ (जैविक तत्वको मात्रा) र टिएम (तापक्रम) मापन गर्दा खानयोग्य नरहेको अर्थात् दूषित पाइयो । वातावरणविद् जोशीले भने, “सामान्यतया स्थानीयले नै शुद्धीकरण गुणस्तर मापन गर्ने गरी दुईवटा मेसिनको प्रयोग नेपालतर्फको खोला पर्शुराम नगरपालिका–५ को रंगुन पन्तुरा खोला र भारततर्फ उत्तराखण्डअन्तर्गत चम्फावत जिल्लाको कालीगुँढ पूर्णागिरी ग्रामपञ्चको चल्थी नालाको महाकाली नदीमा मिसिने स्थानबाट सिम्पल संकलन गरी जाँच गर्दा दूषित पाइएको हो ।
बस्ती समुदाय हुदैँ बगेका खोला नै महाकालीमा मिसिने भएकाले महाकाली नदीको पानीमा मिसिने स्थानबाट पानी संकलन गरी शुद्धता गुणस्तर मापन गर्दा दूषित पाइएकाले पानीको थप डिओ र बिओडी जाँच गरी शुद्धता गुणस्तर मापन पत्ता लगाउन ल्याबमा गर्नुपर्ने भएकाले पानी संकलन गरी जाँचका लागि धनगढी पठाइएको उनले बताए । जोगबूढा तथा सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पानीको शुद्धता गुणस्तर मापन गर्ने ल्याब नभएका कारण नमुना संकलन गरी धनगढी पठाइएको उनले बताए ।
उनका अनुसार रंगुन पन्तुरा खोलाको महाकाली नदीमा पानी मिसिने एउटा स्थान समुद्री सतहदेखि ३ सय मिटर उचाइ जिपिएसमा उत्तरमा २९ डिग्रीतर्फ ०८ मिनेट ३९ सेकेन्ड र पश्चिममा ८० डिग्रीतर्फ १६ मिनेट ३७ सेकेन्डमा पिएच (पानीको गुणस्तर) महत्व ८.२ पाइएको छ । टिडिएस (पानीमा घुलित तत्व) ७४ पिपिएम रहेकाले सामान्यतया दूषित नै देखियो, जुन शून्यदेखि ५० अंकसम्म प्रयोग गर्न सकिने रूपमा लिइन्छ, जुन उच्चतम ७ सम्म पानी उपयोग गर्न सकिन्छ । पानीको गुणस्तर ८.२ पाइएकाले दूषित भन्न सकिने र खोलाबाट पानी सिधै पिउन प्रयोग गर्न नमिल्ने तर उमालेर वा फिल्टर गरेर गर्न सकिने खालको पाइएको छ । उनले भने, रंगुन पन्तुरा खोलाकै दोस्रो स्थान र भारतको चल्थी नालामा पनि एक–दुई अंकको तलमाथि रहेकाले दूषित नै रहेको छ ।
बाँकी शुद्धताको गुणस्तर मापन पानीमा कुन–कुन घुलित पदार्थ छ, कुहिने कति छ लगायतका जानकारी ल्याब टेस्टबाट प्राप्त हुने भएकाले पानीको नमुना संकलन गरेको २४ घण्टाभित्र ल्याबमा राखी पाँच दिनभित्र जानकारी लिन सकिने उनको भनाइ छ । पानीमाथिको सुशासनका लागि महाकाली नदी तटीय क्षेत्रमा काम गर्दै आएको ट्रोसा परियोजनाको प्राविधिक सहयोगमा पहिलो पटक महाकाली नदीको पानीमा शुद्धता गुणस्तर मापन गरिएको पर्शुराम नगरपालिका–६ का वडाअध्यक्ष मीन बहादुर चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्