लगानी सम्मेलनलाई शुभकामना

लगानी सम्मेलनको सफलतासँग नेपालको भविष्य पनि जोडिएकाले यसलाई असफल हुनबाट सबैले जोगाउनुपर्छ ।
‘सुखी नेपाली, समृद्ध नेपाल’को आकर्षक नारासहित अघि बढेको सरकारले समृद्धिको नारालाई व्यवहारमा उतार्न शुक्रबारदेखि राजधानीमा नेपाल लगानी सम्मेलन, २०१९ को आयोजना गर्दैछ । मुलुकको दिगो आर्थिक विकासका लागि स्वदेशी पुँजीमात्र पर्याप्त नहुने भएकाले विदेशी लगानीको आवश्यकताप्रति सिंगो मुलुक एकजुट भएका बेला हुन लागेको लगानी सम्मेलन सफल हुनुपर्छ भन्नेमा कसैको असहमति छैन । यसको तयारीका क्रममा केही कमी–कमजोरी रहे पनि समग्रमा नेपाल लगानी सम्मेलन भनेको सरकारको मात्र नभई सिंगो मुलुककै कार्यक्रम हो ।
सरकाले यो लगानी सम्मेलनलाई विगतका लगानी सम्मेलनभन्दा फरक रूपमा अघि बढाए पनि समग्रमा नेपालको इतिहासमा भएको यो तेस्रो लगानी सम्मेलन नै हो । हुन त अढाई दशकअघि भएको पहिलो सम्मेलन धेरैले बिर्सिसके पनि दुई वर्षअघि भएको दोस्रो सम्मेलनले नेपालमा वैदेशिक लगानीसम्बन्धी चर्चा जनस्तरसम्म विस्तार भएको थियो । यसको श्रेय तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई नै जान्छ । हुन पनि त्यसबेला साढे १४ खर्बबराबरको लगानी प्रतिबद्धता प्राप्त भए पनि सो अनुपातमा न्यूनमात्र लगानी कार्यान्वयन अघि बढेको पाइन्छ । त्यसो त अघिल्लो सरकारले गरेको लगानी सम्मेलनभन्दा यसपटकको अवस्था निकै पृथक् पनि छ । अहिले मुलुकमा दुईतिहाइ बहुमतको सरकार छ । वैदेशिक लगानीप्रति मुलुकका नीतिनिर्माता, अर्थशास्त्री, योजनाविद्, उद्यमी–व्यवसायीमात्र नभई सर्वसाधारण जनतालाई प्रतिनिधित्व गर्ने सबैजसो राजनीतिक दल सकारात्मक छन् । वामपन्थी दलहरूको दुईतिहाइ बहुमतको सरकार भए पनि खुला हृदयले वैदेशिक लगानी आमन्त्रण गर्ने प्रयास आफैंमा सकारात्मक भए पनि नेपालका केही मौलिक संरचनागत समस्या भने समाधान निकै चुनौतीपूर्ण छ । खासगरी राज्य सञ्चालनमा पारदर्शिताको अभावका कारण वैदेशिक लगानी भित्रिँदादेखि उसले लाभांश फिर्ता लैजाँदासम्म अनेकौं टिप्पणी हुने गरेका छन् । सरकारले लगानी सम्मेलनको पूर्वाद्र्धमा केही नीतिगत सुधारका काम गरेको छ, निश्चय पनि यो प्रशंसनीय छ । तर, हामीले बारम्बार भन्दै आएका छौं कि नीति वा ऐन–कानुन आएर मात्र पुग्दैन, यसको कार्यान्वयन पनि हुनुपर्छ भन्नेमा सन्देह छैन । यस्तै, ऐन कानुनमा स्पष्टता र निरन्तरता हाम्रो लागि अर्को महत्व पूर्ण आवश्यकता हो । कुनै पनि ऐनमा उल्लेख भएका व्यवस्थाको आफूखुसी व्याख्या गरिदिने प्रवृत्तिको अन्त्य हुनैपर्छ भने अहिले ल्याइएको नीति तथा ऐनहरू चाँडोचाँडो संशोधन हुनु हुँदैन । लगानी भित्रिनका लागि अन्य तŒवहरू पनि उत्तिकै आवश्यक पर्छ । स्पष्ट रूपमा भन्नुपर्दा लगानीको वातावरण नबन्दासम्म लगानी आउन सक्तैन । अहिले नेपालमा लगानीको वातावरण त्यति राम्रो बन्न सकेको छैन । लगानीका लागि अति नै आवश्यक पूर्वाधारको विकास हुन सकेको छैन । सुशासन वैदेशिक लगानी आकर्षण गर्ने अर्को कारक हो । तर, हामीकहाँ भ्रष्टाचार बढेको बढ्यै छ र पारदर्शिताको अभाव छ । भ्रष्टाचार र पारदर्शिताको अभावमा उत्पादन लागत बढ्न जान्छ र प्रतिस्पर्धी क्षमता घट्न जान्छ । यसैले लगानी सम्मेलनसँगै मुलुकमा सुशासन र विधिको शासन स्थापना हुन सक्यो भने लगानी ल्याउन भने सकिन्छ । समग्रमा लगानीका लागि केही आधार तयार भएका छन् र विदेशी लगानीकर्ता पनि आकर्षित छन् तर त्यसका लागि सरकारकै कोर्टमा बल छ ।