Logo

टेकोको भरमा कारागार

ओखलढुंगा-कारागार भन्नासाथ सबैले अपराधमा सजाय भुक्तानका लागि अभियुक्तलाई राखिने उच्च सुरक्षायुक्त ठाउँ भन्ने अनुमान गर्छन् । तर, ओखलढुंगाको जिल्ला कारागार हेर्दा भत्किएको भग्नावशेष जस्तो लाग्छ ।
सजाय तोकिएर अपराधी करार व्यक्ति राखिने ठाउँ सुरक्षाकर्मीको चौबीसै घण्टा सुरक्षा गर्ने सुरक्षित हुनुपर्ने हो । तर, ओखलढुंगा कारागार ०७२ सालको भूकम्पमा जीर्ण बन्यो । महिला र पुरुष वार्ड छुट्याउने पर्खाल भत्किएपछि सेना र प्रहरीले रातारात कच्ची पर्खाल बनाए ।
यस्तो जीर्ण संरचना भएको कारगारमा ६२ कैदीबन्दी बस्छन् । सुरक्षाकर्मी बस्ने बुर्जा ठूलो हावा चल्दा उडाउने अवस्थामा छ । मक्किएका बाँसका टेकाको भरमा पानी चुहिने जस्ताले बेरिएको छ । यो कारागारको जम्मा क्षमता महिला र पुरुष गरी २५ जनाको हो । तर ६२ जनासम्म कैदीबन्दी राख्ने गरिएको छ ।
“बस्न साह्रै कठिन छ, खानेपानी र शौचालयको पनि उस्तै समस्या हुन्छ, शौचालय जना पालो बस्नुपर्छ,” कारागारका नाइके नवराज बस्नेतले भने, “वर्षात्मा पानी चुहिने समस्याले सताउँछ ।” यस्तो जीर्ण कारागारका सुरक्षा पोष्ट समेत उस्तै जीर्ण छन् । २४ सै घण्टा प्रहरी बसेर सुरक्षा दिने बुर्जा बाँसका मक्किएका टेकोका भरमा छन् । “ड्यूटीमा बस्दा राती नै हावाहुरीले उडाउला भन्ने त्रास हुन्छ,” कारागारमा कार्यरत एक सुरक्षाकर्मीले भने । कारागारको जीर्ण अवस्थाबारे सरोकारवाला निकायलाई जानकारी भए पनि चासो नदिएको सुरक्षामा खटिएका सुरक्षाकर्मीको गुनासो छ ।
राष्ट्रिय मानवअधिकार आयोगले कारागार पुनः निर्माण गर्न अनुगमन गरेर एक वर्ष पहिले नै सरकारको ध्यानाकर्षण गराएको थियो । कारागारका सुरक्षा पोष्ट मर्मत गर्न सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानले प्रतिबद्धता जनाएका छन् । “बुर्जा मर्मत त जिल्ला तहबाटै होला, तर, कारागार नै जीर्ण भएकाले गृह मन्त्रालयमा अनुरोध गरिएको छ,” प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले भनिन् ।
सुरक्षा र मानवअधिकारको दृष्टिकोणले कारागार पुनः निर्माणको विकल्प नभएको सरोकारवालाको भनाइ छ । यस विषयमा महान्ययधिवक्ताको कार्यालयले समेत कारागार अनुगमन गरेर पुनः निर्माण आवश्यक भएको निवकर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्