Logo

होलीको उमंगमा अर्थको पीर

रंगहरूको पर्व फागुपूर्णिमा अर्थात् होली भन्नासाथ मनमा अर्कै आनन्द अनि सकारात्मक ऊर्जा उत्पन्न हुने गर्छ । सप्तरंगी रंगहरूको रौनकले हाम्रो जीवन पनि यस्तै रंगीन होस् भन्ने लाग्छ । प्रत्येक वर्ष एकदम हर्षोल्लासका साथ मनाइने पर्वमध्ये होली एक हो । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड पनि हो । हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फाल्गुन शुक्ल पूर्णिमाको दिन होली मनाइन्छ । तर, यस वर्ष भने चैत ३ गते चतुदर्शीको दिनमा होली परेको छ । त्यस दिन हिमाली र पहाडी भेगमा रहेका मानिसहरूले होली मनाउने गर्छन् भने चैत ४ गते पूर्णिमाको दिन तराई क्षेत्रमा होली खेलिन्छ ।
पौराणिक मान्यताअनुसार होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ र त्यसपश्चात् होलीको दिन पुरानो कटुता समाप्त गरेर, मनमुटाव हटाएर एक–अर्कामाथि विभिन्न प्रकारका रंग लगाएर होली खेल्ने गरिन्छ । नेपालमा हिन्दू धर्म मान्नेहरूको बाहुल्य रहेकाले होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भव्य हुन्छ । फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा वृद्धवृद्धाहरू हातमा रंग लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी दुस्मनीलाई बिर्सेर उत्साह–उमंगका साथ मनाउने गर्छन् ।
जतिसुकै मनमुटाव भए पनि यस दिन हामीहरू सबै एकजुट भइ शुभकामना आदानप्रदान गरी, नाचगान गरी, मिष्ठान्न पक्वान्नहरू ग्रहण गरी खुसीसाथ रंगसँग घुलमिल भएर पर्व मनाउने गर्छाैं । अझै विशेष रूपमा यस पर्वप्रतिको जिज्ञासा, हर्ष अनि खुसी अधिकतम रूपमा बालबालिकाहरूमा देखिने गर्छ । होली मनाउने भन्नासाथ बच्चाहरू अत्यन्तै खुसी हुन्छन् । त्यसमाथि बच्चाहरूले पानी खेल्न अत्यन्तै मन पराउने हुनाले पनि होली नजिकिनेबित्तिकै उनीहरूको पहिलो माग नै होलीको टिसर्ट, रंग, पिचकारी तथा बेलुनहरू हुने गर्छन् ।
होली पर्व बच्चादेखि वृद्धसम्मले मनाउँछन् । झनै बच्चाबच्चीहरूले होली खेलेको देख्दा आफ्नो बालापनको पनि याद आउने गर्छ । तर, त्यति बेला अहिलेको जस्तो सामानहरू कहाँ पाइन्थ्यो र ! न त अहिलेको जस्तो समय थियो, न त पैसा नै । हामी सानो हँुदा पूजा गर्ने अबिर र केशरीको रंग प्रयोग गरिन्थ्यो भने पिचकारीको रूपमा बाल्टिनमा पानी थापी जगले पानी छ्याप्ने गथ्र्यौं । जति पर्व मनाउनुको मज्जा बालापनमा थियो, उमेर बित्दै जाँदा त्यस्तो उमंग अनि रमाइलो पनि कम लाग्ने रहेछ । आफू सानो हँुदा कसैको पर्वाह नगरी आनन्दले होली खेलिन्थ्यो । तर, आफूमाथि पारिवारिक जिम्मेवारी परेपछि आफ्नो खुसीभन्दा पनि परिवार र बालबच्चाको खुसीलाई पहिलो प्राथमिकता राखिँदोे रहेछ । त्यसमाथि हिजोआज होलीलाई पनि एउटा फेसनको रूपमा लिने गरिन्छ । होली नजिकिनेबित्तिकै बजारभरि होलीका लागि भनेर सेता लुगा, कुर्ता, पाइन्ट, टिसर्ट, पिचकारी तथा रंगहरू बेचबिखनका लागि राखिएका हुन्छन् र प्रत्येक पसलमा खरिद–बिक्रीका लागि भीड पनि हुने गर्छ । विद्यालयहरूमा पनि अनिवार्य रूपमा होली मनाइने हुनाले टिसर्ट, रंग अनि पिचकारीहरूको माग अहिले बढी छ ।
देशभरि ठाउँठाउँमा होली विशेष कार्यक्रमहरू आयोजना गरिने हुनाले पनि यस्ता वस्तुहरूको माग बढेको हो । जुन आर्थिक हिसाबले देशको लागि राम्रै हो । यसमार्फत अधिकांश मानिसले रोजगारी पाएका छन् भने कैयौंले आफ्नो व्यवसाय फस्टाउने मौका पनि पाएका छन् । तर भनिन्छ नि, सबै कुराको सकारात्मक र नकारात्मक पक्ष हुने गर्छ । आफ्नो स्वेच्छाले पहिरन लगाउनु, पर्व मनाउनु राम्रो हो । तर, अर्काको देखासिकी गरी, अरूलाई देखाउनका लागि आफ्नो क्षमताभन्दा माथि गएर खर्च गरी पर्व मनाउनु केवल मुर्खता हो र यही मुर्खता आजकाल बजारमा जताततै प्रचलित छ जस्तो मलाई लाग्छ ।

प्रतिक्रिया दिनुहोस्