Logo

कारागारमा क्षमताभन्दा कैदीबन्दी बढी

नेपालगन्ज-बाँकेको नेपालगन्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ ।
३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखेपछि उनीहरुले विभिन्न सरुवा रोगको सामना गर्नुपरेको र न्यूनतम सुविधासमेत पाउनबाट वञ्चित बनेका हुन् । धेरै कैदीबन्दीको चापका कारण नयाँ कारागार भवन निर्माण कार्यमा पनि समस्या देखिएको नेपालगन्ज कारागारका जेलर राजकुमार सोनकरले बताए । उनले क्षमताभन्दा बढी कैदीबन्दीका कारण लुतोलगायतका सरुवा रोगको समस्या र शौचालयको समस्या हुने गरेको बताए ।
कैदीबन्दीलाई व्यवस्थित रूपमा राख्ने उद्देश्यले सरकारले बाँकेको बैजनाथ गाउँपालिका–३ नौंबस्तामा तीन हजार क्षमताको अत्याधुनिक क्षेत्रीय कारागार भवन निर्माण सुरु गरेको पाँच वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा थप समस्या बढेको उनको भनाइ छ । जेलर सोनकरले क्षेत्रीय कारागार भवन निर्माणमा ढिलाइ हुँदा कारागार प्रशासनलाई कैदीबन्दीको व्यवस्थापन गर्न सकस भएको बताए ।
कारागार निर्माण गर्न मूल्य अभिवृद्धि कर भ्याटबाहेक ५३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा ठेकेदार कम्पनी पप्पु–रसुवा जेभीले ३८ करोड ६८ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो । २०७३ कात्तिक ८ गते सम्झौता हुँदा ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न ३६ महिनाको समय दिइएको थियो । तर, यो समयमा काम पूरा नहुँदा सो निर्माण कम्पनी कालोसूचीमा परेको छ । अहिले रसुवा निर्माण कम्पनीले एक्लै काम गरिरहेको छ । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले २०७६ कात्तिक ८ गतेसम्म कारागार भवन निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
तर अहिलेसम्म करिब ८० प्रतिशत काममात्रै पूरा भएको छ । पटक–पटक म्याद थपेर चैत समान्तसम्म पु¥याइएको तर बाँकी अवधिमा २० प्रतिशत काम पूरा हुने सम्भावना कम रहेको बताउँछन् संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्ज, बाँकेका इन्जिनियर सुदिप भा । उनले कारागार व्यवस्थापन विभागले निर्माण कार्यलाई तीव्रता दिन निर्माण कम्पनीलाई ताकेता गर्दै आएको पनि बताए ।
बाँकेमा मात्रै नभएर देशभरका कारागारमा क्षमताभन्दा धेरै कैदी बन्दी छन् । कारागार व्यवस्थापन विभागको पछिल्लो तथ्यांकअनुसार देशभरका कारगारको क्षमता करिब १६ हजार छ । तर नयाँ कारागार भवन निर्माण नहुँदा क्षमताभन्दा झन्डै दोब्बर बढी कैदीबन्दी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्