ब्रोकरप्रति कडा हुने सेबोन अध्यक्षको चेतावनी

नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष रमेश हमालले ब्रोकरप्रति कठोर हुने संकेत दिएका छन् । सोमबार बोर्डले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘टी प्लस टु’मा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताए ।
ब्रोकरहरूले लगानीकर्तालाई पैसा नदिने र अन्यत्र लगानी गर्ने गरेको पाइए तत्काल कारबाही गर्ने भन्दै उनले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता पनि जनाए । हाल लगानीकर्तालाई लागत बढी लागिरहेको स्वीकार गर्दै उनले शुल्क घटाउने विषयमा अध्ययन गर्ने पनि उल्लेख गरे । अध्यक्ष हमालले इन्साइडर ट्रेडिङ गरेको प्रमाणित भए तत्काल कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।
त्यसैगरी अध्यक्ष हमालले धेरै नाफा कमाउने रियलस्टेट कम्पनीहरूलाई पनि बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न दिएर पुँजी बजारमा ल्याउने बताए । “घरजग्गा कारोबार गर्ने कम्पनीहरू नेप्सेमा आए बोर्डले सहजीकरण गर्न तयार छ,” उनले भने । उनले नेपालमा १२ सयभन्दा धेरै सरकारलाई राजस्व तिर्ने कम्पनीहरू नै नेप्सेमा सूचीकृत नभएकाले त्यस्ता कम्पनीलाई नेप्सेमा सूचीकृत गर्न बोर्डले सहजीकरण गर्ने योजना आफ्नो रहेको पनि जानकारी दिए । “ठूला कम्पनी नेप्सेमा आउँदा लगानीकर्ताको लागि राम्रो हो । लगानीकर्तालाई जोखिम कम हुन्छ,” उनले भने ।
अध्यक्ष हमालले वित्तीय साक्षरता बढाउनको लागि क्यापिटल मार्केट सेन्टर नै खोल्ने तयारीमा बोर्ड लागेको पनि जानकारी दिए । उनले हाल १८.५ प्रतिशत वित्तीय साक्षरता रहेको भन्दै त्यसलाई बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले आफ्नो कार्यकालमा क्यापिटल मार्केट सेन्टरको फाउन्डेसन भए पनि तयारी पर्ने योजनामा आफू रहेको बताए । “सबै मार्केटको इकोसिस्टममा काम गर्ने कर्मचारीहरूको सर्टिफिकेसन प्रोग्रामको खाका तयार गरेर बनाउँछौं,” उनले भने ।
नयाँ स्टक एक्सचेन्ज नेपालमा आवश्यक भए–नभएको विषयमा अध्ययन गर्नु जरुरी रहेको भन्दे हमालले निजी क्षेत्रको लगानीमा स्टक एक्सचेन्ज खोल्दा पारदर्शिता हुने उल्लेख गरे । “नेपालमा अर्को स्टक एक्सचेन्ज चाहिन्छ कि चाहिँदैन भन्ने विषयमा अध्ययन भइरहेको छ,” उनले भने ।
यस्तै, उनले विदेशमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिने विषयमा पनि अध्ययन भइरहेको बताए । “अनौपचारिक माध्यमबाट आउने रेमिट्यान्सलाई रोक्नका लागि विदेशमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिनु आवश्यक रहेको छ,” उनले भने, “साथै बैकलाई ब्रोकर लाइसेन्स दिने वा निदने विषयमा पनि गहन अध्ययन गर्नुपर्छ ।”