कलाकारिता र राजनीतिसँगै गाईपालन

दाङको घोराही उपमहानगरपालिका–१८ मसिनाका गणेश वेलवासे कलाकारिता र राजनीतिसँगै अहिले व्यावसायिक गाईपालन सुरु गरेका छन् । गत वैशाखदेखि व्यावसायिक गाईपालनमा लागेका उनले कलाकारिता र राजनीतिलाई पनि सँगै अघि बढाएका छन् ।
“आयआर्जनका लागि भन्दा पनि आत्मसन्तुष्टिका लागि व्यवसाय शुरु गरेको हुँ,” उनले भने, “राम्रोसँग व्यवसाय गर्ने सके आर्थिक रूपमा पनि अगाडि बढाउन सकिने विश्वास लिएको छु ।” उनले अहिले जर्सी र होलस्टेन जातका १० वटा गाई पालेका छन् । बेल्वासेले सञ्चालन गरेकोे भुताहा गाईपालन फर्ममा अहिले तीन वटा दूध दिने र दुई वटा ब्याउने गाई छन् । हाल उनले दैनिक ४० लिटर दूध बिक्री गर्ने गरेका छन् ।
उत्पादित दूध बिक्री गर्न भने उनलाई बजारको समस्या भएको छ । “गाईको दूधको महत्व बुझाउन नसकिएकाले बिक्री गर्न समस्या परेको छ,” उनले भने, “धेरै उपभोक्ताले भैंसीको दूध खोज्ने गरेका छन् ।” उनले उत्पादन गरेको गाईको दूध डेरीमा लगेर बिक्र गर्ने गरेका छन् ।
बेल्वासेले २२ वटा गाई अट्ने क्षमताको गोठ निर्माण गरेका छन् । त्यसका लागि करिब ४० लाख रूपैयाँ लगानी भएको उनले बताए । बेल्वासेलाई गोठ सुधारका लागि पशु सेवा कार्यालयले ५० हजार र चारो मेसिन, घरेलु तथा साना उद्योग कार्यालयले ३० हजार रूपैयाँ सहयोग गरेका छन् । “राज्यस्तरबाट सानो भए पनि सहयोग पाएकाले थप उर्जा मिलेको छ,” उनले भने ।
युवाहरू बेरोजगार भएर कामको खोजीमा विदेशमा भौंतारिनु परेको अवस्थामा समाजमा जागरुकता ल्याउन आफूले गाईपालन शुरु गरेको उनले बताए । स्वदेशमै आयआर्जनको काम गर्न सकिने उदाहरण प्रस्तुत गर्न आफूले गाईपालन व्यवसाय शुरु गरेको उनको भनाइ छ ।
अमरराज आचार्य