Logo

विपद् व्यवस्थापनमा सजगताको आवश्यकता

मुलुकमा विपद्का कारण हुने असर र प्रभावको वैज्ञानिक अनुसन्धान जरुरी छ । त्यसका लागि क्षेत्रगत विकास योजना सञ्चालन गर्न जरुरी छ ।

नयाँ वसन्तको आगमनसँगै मौसम परिवर्तन भएको छ । चिसो मौसमलाई बिदा गर्दै गर्मी मौसमतिर जाँदै छौँ हामी । कोरोनाको त्रास केही मत्थर भएको छ । विगत वर्षमा जस्तो खडेरी धेरै महसुस भएन यसपालि, तर बाली लाउने बेला र भिœयाउने बेला सबैको सातो लियो वर्षाले । देशमा पोस्ट मौसमको समय भनेको १५ असोजदेखि १५ मंसिर हो, यतिबेला औसत ९० मिमि पानी पर्नुपर्ने हो । १६ मंसिरदेखि १५ फागुनको समय हिउँद हो । यो समयमा ६०.९ मिमि पानी पर्नुपर्ने हुन्छ । मार्च महिना भनेको प्रि–मौसमको समय हो । यतिबेला हावाहुरी, आगलागी, चट्याङको समस्या धेरै हुने गर्छ ।
भूकम्प, बाढीपहिरो हाम्रा विपत्तिहरू हुँदै हुन् । साँच्चै भन्नुपर्दा देशको विपत्ति भनेको आगलागीको घटना पहिलो श्रेणीमा पर्छ र दोस्रोमा पर्छ, चट्याङको घटना । गत वर्ष प्रि–मौसममै लमजुङको एक विद्यालयका विद्यार्थीले चट्याङका कारण ज्यान गुमाए, दुई घाइते रहे । सुर्खेतमा यसैका कारण घर, गोठ र पशु धनको क्षति भयो, सिन्धुली र ताप्लेजङमा चट्याङकै कारण मानिस घाइते भए, धेरै धनमालको क्षति भयो । अघिल्लो वर्र्ष चट्याङका २ सय ३२ घटना हुँदा ६७ जनाले जीवन गुमाए । चट्याङकै कारण ६२ लाख २९ हजार ५ सयबराबरको धनमाल नोक्सान भएको विपद् न्यूनीकरण प्राधिकरणको भनाइ थियो । चैत–वैशाखमा किसानहरू प्रायः मकैबारीको काम, चैते धानका कारण खेतबारीतिरै रहन्छन् । यस्ता विपत्तिमा पर्ने पनि तिनै हुन्छन् । देशमा पाँचवटा मौसम पूर्वानुमानका संकेत दिने स्थानहरू छन् र पनि तिनमा या त प्रविधिको अभाव छ या आर्थिक व्यवस्थापनको । त्यसैले त अधिकांशले आपूm जोगिन आकाशको कालो बादल या मेघ गर्जन या अन्य कुनै प्राकृतिक इसारा बुझ्नुपर्ने बाध्यता छ ।
देशमा पानी धेरै छ तर अधिकांश हाम्रो जमिन सुक्खा छ, जसका कारण जीवजन्तुलाई जिउन त कठिन छ नै, पिउने पानीको अभाव छ । पानीको अभावमा काठमाडौँवासी वाक्कदिक्क छन्, ट्यांकीको सहारा, जारको सहारामा छन् । उर्वर जमिन प्लटिङमा परेको छ, उत्पादन घटेको छ, खाद्यान्नको समेत आयातले गर्दा व्यापारघाटा उच्च छ । प्रि–मौसमको समय शिवरात्रिका दिन छिटाछिटी काठमाडौँमा पानी पर्नुबाहेक खासै जमिन भिजेको अवस्था थिएन, गत वर्ष । सुक्खा मौसममै आगलागी, डँढेलो, चट्याङ आदि विपत्ति बढी हुने हो । पहाडी जनजीवन, जंगलका कारण चट्याङको सम्भावना बढ्ने र यसकै कारण बढी आगलागी हुने गरेको अनुभव पुरानै हो । तराई हाम्रो उस्तै जोखिममा छ जहाँ गर्मी धेरै हुने, घरहरू फुसका, खरका छाना हुन्छन्, खाना पकाइसकेपछि सामान्य लापरबाहीले ठूलो आगलागीमा परी ज्यान जोखिममा परेका घटना धेरै छन् । तराई क्षेत्र मात्र नभएर यस्ता विषम परिवेश हाम्रो पाँचथर, ताप्लेजुङ, भोजपुर, इलाम आदि पनि हुन् । ताप्लेजुङको गत वर्ष फागुन १८ गते दोभान बजारमा भीषण आगलागी भएको थियो, यस वर्ष पनि हालै ठूलो आगलागी भएको छ । त्यसो त पश्चिमी भूभाग लुम्बिनी त्यस्तै छ ।
विपद्को खतरा सूचीमा संघीय राजधानी एक नम्बरमै परेको हो । हिउँदमा पानी कम पर्नाले, झाडी, वन, बुट्यान, पतझरहरू सुक्नाले आगलागीका घटना बढी हुने गर्छन् । यहाँ मात्रै होइन विकसित देश अस्ट्रेलियामा पनि पानी कम परेकै कारण विगतमा आगलागीका धेरै घटना घटेका थिए । विगत १० वर्षको स्मरण गर्ने हो भने देशभर १५ हजार २ सय ४६ यस्ता घटना घटेका, जसमा ६ सय ८९ जनाले ज्यान गुमाएका, २ हजार ३४ जना घाइते भएका र रु. १९ अर्ब ४१ करोड १७ लाखबराबरको धनमाल क्षति भएको तथ्यांक छ । यसै सेरोफेरोमा काठमाडौँ जिल्लामा मात्रै १ हजार २ सय २२ घटना भएको, ५२ जनाको ज्यान गएको र २ सय ११ घाइते भएको तथ्यांक छ । पूर्वको मोरङमा ८ सय ९७ घटना घटेको, २२ जना मरेका र ९१ जना घाइते भएका थिए । बारा, पर्सा, महोत्तरी, सप्तरीमा यस्ता घटना धेरै छन् । ताप्लेजुङ दोभान बजारको आगलागी घटनामा ४० करोडभन्दा बढीको धनमाल नोक्सान भएको विपद् न्यूनीकरण प्राधिकरणको भनाइ थियो । त्यसो त यो जिल्ला यस्तो विपद् घटनामा निकै अगाडि रहेको भुक्तभोगीहरू बताउँछन् । ताप्लेजुङमा यस्ता घटना वि.सं १९९४, १९९५, २००६, २०१३, २०१८, २०३५, २०६० देखि ६५ सम्म हरेक वर्ष र २०७०, २०७१ सालमा पनि ठूला घटनाहरू भएका थिए । ताप्लेजुङमा ठूलो आगलागीका कारण २०६० मा ४५ घर नष्ट भई रु. ५१ करोडको, २०६८ मा ८ घर नष्ट भई ८ करोडको, २०६९ मा ५ घर नष्ट भई ५ करोेडको, २०७१ मा ४४ घर नष्ट भई ४१ करोडको र गत वर्ष ७ घर नष्ट हँुदा साढे ७ करोडबराबरको धनमाल नष्ट भएको थियो ।
मौसम पूर्वानुमानभैmँ चट्याङको पूर्वानुमान गर्न सकिने प्रविधि जडान गर्ने सरकारी भनाइ छ र पनि प्राकृतिक र मानवनिर्मित मानौँ सधैँ आइरहने विपत्ति सहिरहनु नेपालीको नियति नै भएको छ । च्याउ खाँदै गर्दा मानिसले मृत्युवरण गरेका, विगतमा त महोत्तरीमा मदिरा सेवनबाट १० जना बितेका थिए । म्याग्दीमा डिंगोको प्रकोप थियो भने पूर्व मोरङतिर ठेउला र दादुराको प्रकोपका खबरहरू छरपस्ट बाहिर आएका थिए, अहिले पनि बर्डफ्लुका केसहरू देखिएका छन् । सर्लाहीमा हावाहुरीले १ को मृत्यु, चट्याङका कारण रोेल्पामा २ जनाको मृत्यु, भनौँ चट्याङकै कारण बर्सेनि हामीकहाँ औसतमा १ सय जना मानिसको ज्यान जाने गरेको विगतको तीतो सत्य छ । वसन्त ऋतुमा हावाहुरीले तराई क्षेत्र खासगरी बारा, पर्साको जीवन अस्तव्यस्त बन्ने गरेको छ, हरेक याममा यस्ता घटना घटिरहेका छन्, हामी हेरिरहन्छौँ, अनि हाम्रो काम तथ्यांक कलेक्सन मात्र हुन जान्छ, सहनुको विकल्प भएन । सबैको अभिभावक सरकार हो, उसलाई सत्ता जोगाउन, चुनावमा होमिन, कार्यकर्ता उकास्नमै समय पुग्दैन । प्रतिनिधिसभा नाराबाजीमा व्यस्त रहन्छ, देश चलाउने गठबन्धन दल आपैmँ सदनदेखि सडकसम्म छरिएको छ । सत्ताको अंकगणित, जोडघटाउ र दलहरू तानातानको अवस्थामा सधैँ व्यस्त छ देश, एमसीसीले बेहाल बनाइरहेको छ । सबै दल एकजुट भई राष्ट्रिय एजेन्डामा जान सकेका छैनन् । बाढीपहिरो, हावाहुरी, चट्याङ र आगलागीका घटनाहरूले मुलुकलाई आक्रान्त नै पारेको छ । हामीसँग विश्वव्यापी जलवायु परिवर्तन र प्रकोप व्यवस्थापनको दक्षता, सीप र क्षमता छैन । बर्सेनि भूक्षय, बाढीपहिरोले उर्वर मलिलो माटो बगेर खेर गएको छ भने पानीको धनी देश भएर पनि त्यसको उपयोग गर्न सकिएको छैन । पेट्रोलियम पदार्थको मूल्यवृद्धि कहालीलाग्दो छ, बजारभाउ धान्न नसकिने भएको छ । कहिले भूकम्प, कहिले अतिवृष्टि, कहिले अनावृष्टि त कहिले बाढी र पहिरो अनि हावाहुरीलगायत आगजानीको चपेटोले मुलुक आक्रान्त छ । चट्याङ, खडेरी, विभिन्न रोगका महामारी मात्रै होइन, शीतलहर र हिमपात, तालतलैयाहरूको विस्फोटको सम्भावनाले पनि देशलाई आक्रान्त बनाएकै छ । हैजा र बर्डफ्लु, स्वाइनफ्लुका घटनाले पनि जीवन धराशायी भएकै हो । विपद् न्यूनीकरणका लागि केन्द्र, जिल्लाहरूमा व्यवस्थापन समिति, आपत्कालीन गोदामघरको स्थापना, मानवीय सहायता कक्षको स्थापना पनि नभएको होइन, आपत्कालीन कार्य सञ्चालन केन्द्र पनि नभएका होइनन् । मौसम राम्रो हुँदा पनि कोरोना सन्त्रासमा घरभित्र थुनियो । घरबाहिर विचल्ली र हाहाकार भयो ।

प्रतिक्रिया दिनुहोस्