Logo

उडानको पर्खाइमा लामीडाँडा विमानस्थल

खोटाङ-‘लामीडाँडा विमानस्थल सञ्चालन नहुँदा जिल्लाबासी तथा हलेसी आउने पर्यटकलाई ठूलो समस्या छ । यसलाई नियमित गराउन सम्बन्धित निकायसँग छलफल गरिरहेको छु । अब यस भेगका बिरामीले काठमाडौंबाट हेलिकप्टर मगाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’ यो भनाइ हो खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सांसद तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको । २०७६ साल ३ असारमा खोटाङको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्रेपछि गरिएको परीक्षण उडानका क्रममा विमानस्थल पुगेका उनले यस्तो आश्वासन दिएका थिए ।
उक्त दिन नेपाल नागरिक उड्डयन प्राधिकरणको ६ करोड ७६ लाख ९३ हजार रुपैयाँ लगानीमा कालोपत्रे गरिएको लामीडाँडा विमानस्थलमा समिट एयरको नाइनएन–एएमजी विमानले परीक्षण उडान भरेको थियो । त्यसपछि स्थानीय विमानस्थलमा उडान थप सहज बन्नेमा ढुक्क थिए । कच्ची विमानस्थल कालोपत्रे गरेर स्तरोन्नति र परीक्षण उडानपछि जिल्लाको यातायात, पर्यटन, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने उनीहरूको विश्वास थियो । तर, नियमित उडान त परको कुरा, त्यसयता परीक्षण उडानबाहेक एउटा पनि उडान हुन सकेको छैन । त्यसअघि कच्ची अवस्थामै नियमित सञ्चालन हुँदै आएको विमानस्थल कालोपत्रेपछि भने उपयोगविहीन बनेको छ ।
५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ धावनमार्ग रहेको यो विमानस्थलमा ट्वीनटर जहाजहरू उडान–अवतरण गर्न सक्छन् । यस विमानस्थलमा एक साथ दुईवटा जहाज रोक्न मिल्ने गरी एप्रोन बनाइएको छ । २०२८ सालबाट सञ्चालनमा आएको यो विमानस्थल धेरै समयसम्म खोटाङबासीको एकमात्र माध्यम थियो ।
४८ वर्षसम्म कच्ची अवस्थामा नियमित उडान हुँदै आएको विमानस्थलमा कालोपत्रे गरिएसँगै उडान बन्द हुँदा स्थानीय बासिन्दा दुःखी बनेका छन् । कालोपत्रे गरिएको विमानस्थलमा नियमित उडान नभएपछि दुर्घटनाका घाइते तथा बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अन्यत्र उपचारमा लैजान समस्या भएको स्थानीय बताउँछन् ।
तीन जिल्लाका स्थानीय बासिन्दा तथा त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने दर्शनार्थी तथा पर्यटकले सेवा लिँदै आएको लामीडाँडा विमानस्थलको उडान कटौती गरेर राज्यले आफूहरूमाथि ठूलो अन्याय गरेको कांग्रेस रावाबेँसी गाउँपालिकाका सभापति फटिककुमार श्रेष्ठले बताए ।
राज्य कोषको ठूलो लगानीमा कालोपत्रे गरिएको लामीडाँडा विमानस्थल उपयोगविहीन भएको अढाइ वर्ष बितिसक्दा पनि सम्बन्धित पक्षले यसमा वास्ता नगरेको उनको भनाइ छ । यहाँ सम्मकि परीक्षण उडानका क्रममा उडान नियमित गर्न पहल गर्ने बताएका सांसद भट्टराईले पनि त्यसपछि भने कुनै चासो देखाएका छैनन् ।

दुई विमानस्थलमा उडान नियमित
जिल्लामा तीनवटा विमानस्थल छन् । तीनवटै विमानस्थल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्रे गरिएको हो ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–४, बडका दियालेमा निर्माण गरिएको थामखर्क र जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिक पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४, खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा भने नियमित उडान भइरहेको छ । खानीडाँडा विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाजले हप्तामा दुई दिन आइतबार र शुक्रबार नियमित उडान भर्दै आएको नेपाल वायु सेवा िनगम खानीडाँडा स्टेसनका प्रमुख सुरेन्द्र कसजुले बताए ।
यस्तै थामखर्क विमानस्थलमा पनि बुधबार र शनिबार नियमित उडान भइरहेको स्टेसनप्रमुख रञ्जितकुमार शाहले बताए । खानीडाँडा विमानस्थल नागरिक उड्डयन प्राधिकरणको सात करोड २४ हजार ३ सय ८० र थामखर्क विमानस्थल १० करोड ६० लाख ७१ हजार लगानीमा कालोपत्रे गरिएको हो ।

पवन खड्का

प्रतिक्रिया दिनुहोस्