Logo

‘गो ग्रिन’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’

हाल विश्वभरि नै ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदिको नारासहित नयाँ अभियान सुरु भएको छ । यस कार्यमा चेतनाको वृद्धिदर पनि बढिरहेको देखिन्छ । चाहे त्यो खाने कुरोमा होस् वा पिउने कुरोमा होस्, वा शरीर ढाक्ने कपडा अथवा भनौं मानिसहरूले आपूmले लगाउने लत्ताकपडा, जुत्ताचप्पल, पैसो बोक्ने ब्याग, बाहिरफेर जाँदा बोक्ने ठूला झोला आदिका लागि पनि मान्छेहरूले हातले बुनेको ढाका कपडा, हातले बुनेको र अल्लो (सिस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी (घर बुना) आदि लगाउने प्रचलन सुरु भएको छ ।
यो क्रम बढ्दै गएको देखिन्छ । त्यसैले भन्न सकिन्छ, अब फेरि मानिसहरू आधुनिक जमानाको नाममा आपूmखुसी जथाभावी गर्नेभन्दा पनि फेरि प्रकृति र प्रकृतिको नियमअनुसार चल्न थालेका छन् । त्यसैले यहाँ नेपाली ढाका कपडाबारे केही लेख्ने जमर्को गरिएको छ । ढाका कपडाको कुरो गर्दा तेह्रथुमे ढाका, पाल्पाली ढाका आदिबारे हामीले धेरै अघिदेखि सुन्दै आएको र केही हदसम्म यिनै नामहरूले नेपाललगायत विश्व बजारमा नेपाली ढाका कपडाले बजार पाएको र प्रचारप्रसार भएको हो । तर, पछिल्लो पटक ‘द हाईल्यान्ड आर्ट’मार्पmत कल्पना ढाका कपडा उद्योगले पनि आफ्नै ढंगले बजार पिटेको देखिन्छ ।
त्यसो त हाते तान बुन्ने काम मानव सभ्यताको विकाससँगै विश्वभरि नै आदिवासी जनजातिहरूमा विकास भएको मानिन्छ । त्यसमा पनि हाम्रो देश नेपालको सन्दर्भमा भन्नुपर्दा विशेषतः कुलुङ (कुलू), लिम्बू (याक्थुङ्बा), सुनुवार (कोइँच) लगायत किरातीहरूको उत्पत्ति कथा÷लोककथा (मिथक) मै हाते तान बुन्ने गरेको कथा छ ।
हुन पनि आधुनिक भनिएको जमानाले गाउँघरलाई असर नपार्दासम्म हाम्रो गाउँघरमा घरघरै एक–दुईवटा हाते तान हुन्थे । नेपाललगायत विश्व बजारमा आजभन्दा ३५÷३६ वर्षअघिदेखि ढाका कपडाको मामलामा तेह्रथुमे ढाका, पाल्पाली ढाकाको नाम सुनिन्थ्यो । यो सत्य हो । तर, तेह्रथुमे ढाका, पाल्पाली ढाकाको नामसँगसँगै आज आएर बजारमा अनेक नाममा ढाका कपडाको उद्योग–व्यवसाय सञ्चालनमा छन्, उनीहरू झन् अघि बढेर विश्व बजार पिट्दै छन् । अझ खासमा भन्ने हो भने पाल्पाली ढाका त हिजोआज ओझेल परेझैँ लाग्छ । किनभने पाल्पाली ढाकाको नाम ढाका कपडा बजारमा अलि कम सुनिन्छ भने पाल्पाली ढाका जेजति उत्पादन हुन्छ, त्यो पनि हाल पाल्पामा नभएर भारतको गोरखपुरमा हुन्छ भन्ने भनाइ छ ।
त्यस्तै पछिल्लो पटक ढाका कपडा र ढाकाजन्य उत्पादनको सम्बन्धमा भन्नुपर्दा पाँचथर जिल्लाको थर्पु गाउँकी कल्पना योङहाङ लिम्बूलाई एक उदाहरणका रूपमा लिन सकिन्छ । उनी हालको अवस्थामा ढाका कपडा र ढाकाजन्य उत्पादनका लागि विश्व बजारमा अकल्पनीय ढंगले उदाइरहेकी छन् । तर, कोरोना महामारीले गर्दा अरू व्यापारी–व्यवसायीको जस्तै उनको व्यापार लगभग ठप्प भयो । तापनि कल्पना योङहाङ लिम्बू ढाका कपडा र ढाकाजन्य बजार पिट्ने एक सफल उद्योगीका रूपमा स्थापित भएकी छन् । स्मरणीय छ, उनले वि.सं. २०६२-०६३ देखि महिलाहरूले सञ्चालन गरेको सहकारीबाट १५ हजार रुपैयाँ ऋण लिएर ढाका कपडा बुन्न सुरु गरेकी थिइन् भने वि.सं. २०६४ मा घरेलु तथा साना उद्योगमा गएर ‘द हाइल्यान्ड आर्ट’ नामक संस्था दर्ता गरी संस्थागत रूपमै ढाका कपडा र ढाकाजन्य उत्पादनमा लागिन् । हाल उनले काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा ढाका कपडा र ढाकाजन्य उद्योग सञ्चालन गरिरहेकी छन्, जहाँ लगभग २ सय जना मानिसले नियमित रोजगारी पाइरहेका छन् ।
नेपाली ढाका र ढाकाजन्य उत्पादनलाई नेपालमा मात्रै नभएर विश्व बजारमा चिनाउने र बजार व्यवस्थापन गर्ने काममा पनि कल्पना लागिपरेकी छन् । यसका लागि उनले ‘द हाइल्यान्ड आर्ट’कै मातहतमा रहने गरी ‘कल्पना ढाका बुटिक’ नामक फेसबुक पेज पनि खोलेकी छन् । त्यही फेसबुक पेजबाटै उनी ढाका कपडा र ढाकाजन्य उत्पादनको बजार व्यवस्थापनमा लागेकी छन् । त्यसो त ११–१२ वर्षको छोटो अवधिमै ढाका र ढाकाजन्य उत्पादनलाई प्रचार, प्रसार र बजार व्यवस्थापन गर्नका लागि कल्पनाले विश्वका ३५ वटाभन्दा बढी देश घुमिसकेकी छन् । अहिले उनको उद्योगमा ढाकाजन्य उत्पादनअन्तर्गत टाई, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, स्कर्ट, मिनीस्कर्ट, ओभर कोट, सल, इस्टकोट, मेख्ली, कोट, ज्याकेट, सुरुवाल, मफलर, पेटी, मेक्सी, बक्खु, जुत्ता, चप्पल, झोला आदि सरसामान तयार हुन्छ । आगामी दिनमा कल्पना योङहाङ लिम्बूको मात्रै नभएर नेपालका सबै ढाका कपडा उद्योगी–व्यवसायीहरूको उन्नति र प्रगति अरू बढ्दै जाओस्, उनीहरूले विश्व बजार पिटून् भन्ने अग्रिम शुभकामना ।

प्रतिक्रिया दिनुहोस्