Logo

प्रभावमा नपरी काम गर्न नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई आग्रह

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई आग्रह गरेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गरेका हुन् ।
‘पुँजीबजारको सुधारका लागि धेरै बाँकी कामहरू रहेछन्’, मन्त्री शर्माले भने, ‘तपाईँ यसमा कसैको प्रभावमा नपरी काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । तपाईँले स्वतन्त्र रूपमा काम गर्नुहुनेछ ।’ उहाँले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यसका लागि अध्यक्ष हमालप्रति सफलताको शुभकामना पनि उनले व्यक्त गरे ।
नवनियुक्त अध्यक्ष हमालले आफू सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने बताए । त्यसमा सबैको साथ र सहयोग आवश्यक हुने भन्दै निरन्तर सहयोग गर्न आग्रहसमेत गरे ।
धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना सेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि अध्यक्षमा हमाललाई नियुक्त गरिएको हो । हमाललाई योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले सेबोन अध्यक्षमा सोमबार सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
नवनियुक्त हमालले यसअघि नेपाल विद्युत् प्राविधिकरणमा ९ वर्ष कार्य गरेका थिए । त्यस्तै उनले विभिन्न संस्था तथा कम्पनीहरूमा नेतृत्वको अनुभव लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्