Logo

निजगढ विमानस्थलको निर्माण छिट्टै : मन्त्री आले


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विभिन्न प्राविधिक कारणले रोकिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य चाँडै थालिने बताएका छन् ।
यसका लागि मन्त्रालयगत समन्वयको आधारमा हाललाई सो क्षेत्रमा पर्ने रुख कटानको काम द्रुत गतिमा अगाडि बढाएर बजेटको सु्निश्चित गेर निर्माण प्रकृया सुरु गरिने बताए । बुधबार सिमरामा सञ्चारकर्मीसँगको भेटघाटमा आलेले सबै सरोकारवाला निकाय र मेरो पार्टीले पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम चाँडै सुरु गर्न दिएको निर्देशनबमोजिम निर्माण कार्य अगाडि बढाउन लागिएको मन्त्री आलेको भनाइ थियो ।
मन्त्री आलेले भने, “विमानस्थलको धावनमार्ग बनाउने क्षेत्रमा पर्ने टाङिया क्षेत्रका नागरिकलाई उचित व्यवस्थापन गर्ने र विमानस्थलको निर्माण कार्य सुरु गराउने छौँ ।”
मन्त्री आलेले निजगढ विमानस्थलको काम सरकारले तोकेको स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै सुरु हुनेसमेत दाबी गरेका थिए । “निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डीपीआर तयार भइसकेको छ, सबैको साथ र सहयोग भए हामी हाम्रो काम चाँडै निर्माण सुरुआत गर्ने छौँ ।” मन्त्री आलेले सरकारले निर्माणको मोडालिटी भने जीटूजी वा अन्य क्षेत्रबाट रकम लिएर भए पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्ने बताए ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि यहाँको जितपुर सिमरा उपमहानगरपालिका–१६ टाङियाबस्ती पुनःस्थापना गर्नुपर्ने मुख्य काम रहेकाले यहाँको बस्ती स्थानान्तरणको काम चाँडै सम्पन्न गरिनु पर्ने स्थानीयबासीको माग छ
२०७४ साल भदौ १९ गते निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण गर्न र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटानी गर्ने सम्बन्धमा नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच समझदारी भएको थियो ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको सेक्टर वन कार्यालय, निजगढद्वारा पेरिफेरि रोड निर्माणका निम्ति गणना गरिएका ४ हजार २ सय ३२ वटा रुखको कटान–स्वीकृति सरकारबाट लिनु पर्ने छ । विमानस्थल निर्माणका लागि २०७१ फागुन २९ गते मन्त्रिपरिषद्ले चार किल्ला छुट्याएको थियो । २३ वर्षअघि सन् १९९५ मा नेपिको नामक कम्पनीले नेपालका विभिन्न आठ ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको थियो । सन् २००८ देखि वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको खोजी गर्दै बारामा विमानस्थल निर्माण गरिने बताएको थियो । सो अध्ययनले निजगढलाई सबैभन्दा उपयुक्त ठहर गरेको थियो । नौ वर्षअघि सन् २०११ मा दक्षिण कोरियाको ल्यान्डमार्क कम्पनीले डीपीआर तयार गरेर सरकारलाई प्रतिवेदन बुझाएकोमा सरकारले सोही डीपीआरलाई कार्यान्वयन गर्ने निर्णय गरिसकेको थियो । विमानस्थलका लागि आवश्यक बाहिरी संरचना (पेरिमिटर रोड) बनाउने जिम्मा नेपाली सेनाले पाएको छ । ८० वर्ग किलोमिटर क्षेत्रको वरिपरि रोड बनाउँन र पहुँच मार्गमा पर्ने रुख बुट्यान कटान गर्न पूर्ववर्ती सरकारले नेपाली सेनालाई जिम्मा दिएको थियो । बाहिरी संरचना, रुख कटान निगरानी र सुरक्षाको जिम्मेवारी सेनालाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्