Logo

रिकन्डिसन सवारी साधनमा आकर्षण

पछिल्लो समय कोरोना महामारीमा देखिएको विभिन्न भाइरस म्युटेन्टका कारण मुलुकले धेरै आर्थिक क्षेत्रहरूमा क्षति बेहोर्नुप-यो । कोरोना नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीले मुलुकको हरेक व्यावसायिक क्षेत्रमा घाटा बेहोर्नुप-यो । समग्रमा मुलुकको अर्थतन्त्र नै खस्कियो । धेरैले आफ्नो रोजीरोटीसमेत गुमाएको अवस्था छ । तर, उद्योगी–व्यवसायी र नेपाल उद्योग वाणिज्य महासंघको पहलमा चौतर्फी दबाबपछि मुलुकमा भएको लकडाउन र बन्दाबन्दी केही खुकुलो भयो र सरकारले सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गरेर आफ्नो व्यवसाय सञ्चालन गर्न अनुमति दियो ।
व्यवसाय त खोलियो तर ग्राहकहरू लामो समयसम्म पनि सन्तोषजनक रूपमा नआउनाले धेरै व्यवसायीले आफ्नो व्यवसायलाई निरन्तरता दिन भए पनि उपभोग्य वस्तुहरूलाई केही रकम घटाएर पुरानो स्टक वा केही सामानहरूमा सहुलियता दिँदै व्यवसाय सञ्चालन गर्न थाले । खस्केको अर्थतन्त्रलाई पुनरुत्थान गर्दै र मानिसहरूको दैनिकीलाई सहज बनाउँदै व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आए ।
तर, कोरोनाको जोखिम अझै कायमै थियो । दैनिक कार्य सम्पादनका लागि महत्वपूर्ण भनेको सार्वजनिक सवारी साधनमा यात्रा गर्नु हो । कार्यालय समयमा अत्यन्तै भीडभाड हुने र सार्वजनिक यातायातमा कुनै भौतिक तथा सामाजिक दूरी कायम नहुने अनि स्वास्थ्यसम्बन्धी मापदण्ड पनि पालना नभएकाले गर्दा दैनिकी कार्य सम्पादनका लागि यात्रा गर्न निकै असहज थियो । त्यसैले गर्दा पनि धेरै मानिसको रोजाइमा दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकलमा प-यो । कसैले नयाँ मोटरसाइकल किने त कसैले पुरानै मोटरसाइकल किनेर भए पनि काम चलाए ।
पछिल्लो तथ्यांक हेर्ने हो भने वागमती अञ्चलमा मात्रै साना सवारी संख्याको दर्ता ह्वात्तै बढेको छ । यही कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न भए पनि धेरै मानिसले आफ्नो हैसियतअनुसार सस्तोमा र केही वर्ष टिकाउ पनि हुने हिसाबले आफूले चाहेअनुसार सवारी खरिद गर्न दिन–प्रतिदिन राजधानीका विभिन्न रिकन्डिसन हाउस जाने र आफूलाई चित्त बुझे खरिद गरेर पनि लाने गरेका छन् ।
केही दिनअघि मैले काठमाडौंको मध्यबानेश्वरस्थित दुईवटा रिकन्डिसन हाउसमा अनुसन्धान गर्दा पनि धेरै मानिसले सवारी साधन सट्टापट्टा गर्नेदेखि पुरानै सवारी साधन लिने गरेको पनि देखियो । कान्तिपुर रिकन्डिसन प्रालिका प्रोप्राइटर सन्तोष श्रेष्ठले दैनिक रूपमा धेरै मानिस आए तापनि धेरैले पल्सर मोटरसाइकल नै रोजेको बताए । यहाँ सट्टापट्टाका लागि पनि नयाँ–नयाँ मोडलका मोटरसाइकल राखिएका छन् । यामाहाको एफजेड एस, पल्सर, ड्युक, रोयल इन्फिल्ड, १२५ सीसीका पनि धेरै मोटरसाइकल राखिएका छन् । तर, रोजाइ भने सबैको केही महँगा मोटरसाइकल नै रहेका छन् ।
यस रिकन्डिसन हाउसमा आएपछि सवारी साधनमा बार्गेनिङ हुन्छ । विक्रेताले आफूलाई सुहाउँदो मूल्य पाए बेच्ने गर्छन् । लिनेले पनि सवारी साधनको अवस्थाबारे बुझेर मात्र लिने गरेका छन् ।
त्यसपछि मध्यबानेश्वरमा नै रहेको प्रसिद्ध अटो इन्टरप्राइजेजमा पनि मानिसहरूको सामान्य आउजाउ देखिन्थ्यो । यहाँ पनि हैसियतअनुसारका मोटरसाइकलहरू राखिएका थिए । नभन्दै त्यस प्रसिद्ध अटो इन्टरप्राइजेजमा केही समयपछि एक जना मानिसले हिरोहोन्डा कम्पनीको मोटरसाइकल क्षणभरमा नै खरिद गरे । राम्रो माइलेज, बलियो, भरपर्दो अनि सस्तो भएकाले पनि मोटरसाइकल ग्राहकले किनेको व्यवसायीहरू बताउँछन् । सकेसम्म रिकन्डिसनको मोटरसाइकल लिँदा आफूले पनि राम्रो, फ्रेस नै लिने गरेको उनीहरू बताउँछन् । यस रिकन्डिसन हाउसमा पनि सस्तादेखि महँगासम्म दुईपाङ्ग्रे सवारी साधन रहेका छन् । कोरोना महामारीले गर्दा पनि होला, मानिसहरूको रुचि रिकन्डिसन मोटरसाइकलमा भएको प्रसिद्ध अटो इन्टरप्राइजेजका प्रोप्राइटर बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्