कुखुरापालनबाट मनग्य आम्दानी «

कुखुरापालनबाट मनग्य आम्दानी

संखुवासभा चैनपुर–१० खराङ्गका दुर्गाबहादुर कटुवाल पछिल्लो समय निकै व्यस्त छन् । दुई छोराछोरीका बुवा दुर्गा बिहान सवेरै उठ्छन् र कुखुरा व्यवसायमा तल्लिन हुन्छन् । साँझ बिहान सञ्चारकर्मी र बाँकी समय कुखुरापालन व्यवसाय सञ्चालन गरेर उनले मासिक ५० हजार रूपैयाँ आम्दानी गर्ने गरेका छन् ।
उनी स्थानीय अरुण एफएममा समेत काम गर्दछन् । सिँचाइ सुविधा नभएका कारण खेतबारी बाँझै भएको र स्थानीय एफएमबाट आएको आम्दानीले मात्र परिवार पाल्न धौधौ भएपछि दुई वर्ष अघिदेखि विकल्पका रूपमा उनले कुखुरापालन व्यवसाय सुरु गरेका हुन् । दाजुभाई मिलेर खोलेको कुखुरा फर्ममा अहिले एक हजारभन्दा बढी कुखुरा छन् । अहिले उनको फर्ममा उत्पादित कुखुरा सिद्धकाली, सिद्धपोखरी, चैनपुर, खराङ्ग, बानेश्वर, तुम्लिङ्टार र खाँदबारीसम्मको बजारमा पुग्ने गरेका छन् ।
गर्मीयाममा कुखुरापालन व्यवसाय केही सहज भए पनि चिसो मौसममा जोखिमका कारण धेरैले कुखुरा नपाल्ने भएकाले यो समयमा बढी मूल्यमा कुखुरा बिक्री गर्न सकिने उनको अनुभव छ । उनले घर नजिकै खराङ्ग बजारमा मासु पसलसमेत सञ्चालन गरेका छन् ।
मासु पसलबाट मात्रै उनले घरभाँडा कटाएर मासिक २० हजार आम्दानी गरिरहेका छन् । कुखुरापालन व्यवसाय सुरु गरेपछि उनको परिवारको आम्दानी स्रोत थपिएको छ । घरब्यवहार सञ्चालन र छोराछोरीको पढाइ खर्चसमेत यसैबाट धानिएको उनको भनाइ छ । उनले यो व्यवसायमा दुई जनालाई रोजगारीसमेत दिएका छन् । त्यसका साथै श्रीमती, बुवा आमा र आफूले समेत अतिरिक्त रोजगारी पाएको उनको भनाइ छ ।
कुखुरापालन धेरै संवेदनशील व्यवसाय भएको उनको अनुभव छ । ५ सयभन्दा बढी चल्ला र त्यतिनै संख्यामा हुर्किएका कुखुरा देखाउँदै उनले भने, “थोरै लगानी र केही श्रम लगाउने हो भने यो व्यवसायबाट राम्रो आम्दानी लिन सकिन्छ ।” कामलाई सानो वा ठूलो नमानी गाउँघरमै केही गर्ने हो भने युवाले विदेशिन नपर्ने उनको बुझाइ छ । लाखौं खर्च गरेर मासिक २० हजार कमाउन घरपरिवार छाडेर विदेशिनेलाई उनको आग्रह छ, “गाउँघरमै केही शिप सिकेर उद्यममा लाग्नुहोस्, भविष्य सुरक्षित हुन्छ ।”

कृष्णराज शाक्य

प्रतिक्रिया दिनुहोस्