Logo

बेरोजगारी समस्याका कारण र समाधान

बेरोजगारी भन्नाले जीविकोपार्जनका लागि आवश्यक पर्ने काम, इलम, पेसा वा व्यवसाय नभएको अवस्थालाई बुझिन्छ । बेरोजगारीका कारण एकातर्फ पारिवारिक कलह, झैझगडा, गरिबी, अशान्ति, हिंसा, कुलत र दुव्र्यसनीजस्ता विकृति बढ्न गई सामाजिक अपराजन्य घटनाहरू बढ्न जान्छन् भने अर्कातर्फ मुलुकमा आर्थिक प्रगतिले गति लिन सक्दैन । नेपालमा बेरोजगारी समस्या उत्पन्न हुनुको कारण देशमा पर्याप्त रोजगारीका अवसरहरू सिर्जना नभएकाले हो ।
मानव सभ्यताको विकासको सुरुवातदेखि नै श्रम र रोजगारीको समाजमा महत्व रहिआएको छ । श्रम र रोजगारी जीवनरक्षा, व्यक्तित्व विकास, स्वाभिमान र समृद्धिको आधारशिला हो । रोजगारीबाट नै समाजमा गरिबी न्यूनीकरण हुन्छ । तर, दुःखको कुरा, अहिलेसम्म नेपालमा पर्याप्त रोजगारीका अवसरहरू सिर्जना हुन सकेका छैनन् । दक्ष र शिक्षित जनशक्तिले पनि रोजगारी पाउन नसकेको अवस्था छ । बेरोजगारी मुलुकको आर्थिक, सामाजिक र राजनीतिक समस्याको कारक बनेको छ । तसर्थ, बेरोजगारी नेपालको एउटा प्रमुख समस्या बनेको छ ।
एक तथ्यांकअनुसार हाल नेपालमा बेरोजगारी दर ११.४ प्रतिशत छ । कोरोना महामारीका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या ८६ प्रतिशतले घटेको छ । त्यसैले कोरोना महामारीको कारणले पनि नेपालमा बेरोजगारीको संख्या बढेको छ । कोरोना महामारीका बेला स्वदेशमा समेत रोजगारीको अवसर नपाएको अवस्था छ । बेरोजगारीकै कारण नेपाल हरेक क्षेत्रमा पछि परेको छ ।
नेपालमा बेरोजगारी बढ्नुका कारणहरू धेरै छन् । उद्योग, पर्यटन, कृषि, निर्माणजस्ता रोजगारीका क्षेत्रहरू फस्टाउन नसक्नु, व्यावहारिक शिक्षा प्रणाली र व्यावसायिक सीपको विकास हुन नसक्नु, भौतिक पूर्वाधारहरूको विकासले गति लिन नसक्नु, लगानीमैत्री वातावरण निर्माण र श्रमको सम्मान गर्ने संस्कृतिको विकास हुन नसक्नु, स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धन गर्ने सम्बन्धमा राज्यले स्पष्ट नीति लिन नसक्नु आदिजस्ता कारणहरूले गर्दा नेपालमा बेरोजगारी बढ्न गएको हो ।
तसर्थ, बेरोजगारी समस्यालाई कम गर्न सरकारले स्पष्ट नीति निर्माण गरी निजी र सरकारी क्षेत्रसँगको सहकार्यमा मुलुकमा लगानीको वातावरण तयार पार्नुका साथै रोजगारीका सम्भावित अवसरहरूको सिर्जना गर्नुपर्छ । त्यसैगरी सरकारले लगानीमैत्री वातावरण बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गरी रोजगारीका क्षेत्रहरूको विस्तार गर्नुपर्छ । कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरण गर्नुपर्छ । उद्योग, व्यापार, पर्यटन, निर्माण आदि क्षेत्रको प्रवद्र्धन गर्नुपर्छ । त्यसैगरी स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाई उपलब्ध स्रोत र साधनको परिचालन गर्नुपर्छ । उद्यमशीलता तथा स्वरोजगारिता प्रवद्र्धनका कार्यक्रमहरूलाई स्थानीय स्तरसम्म वितरण गर्नुपर्छ । यी यस्ता कार्यहरूलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्