कोरोना कालमा पाँच लाख पर्यटकद्वारा लुम्बिनी भ्रमण

भैरहवा-कोरोना कालमै बुद्ध जन्मस्थल लुम्बिनीमा वर्ष २०२१ मा स्वदेशी, भारतीय र तेस्रो मुलुकका गरी कुल ५ लाख ८ हजार ८ सय ९२ जना पर्यटक आएका छन् ।
लुम्बिनी भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक नै छन् । कोरोना भाइरस संक्रमण र जोखिम बढेसँगै २०२१ का ३ महिना मे, जुन, जुलाई पूर्णरुपमा लुम्बिनी क्षेत्र पर्यटकका लागि बन्द रहेको थियो । ९ महिनाको समयमा ५ लाख ८ हजार ८ सय ९२ जना पर्यटकले लुम्बिनीलाई आफ्नो भ्रमण गन्तव्य बनाएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए । ४ लाख ६३ हजार ९ सय ६३ जना आन्तरिक पर्यटकले लुम्बिनीलाई गन्तव्य बनाउँदा ९ महिनामा कुल ४३ हजार ७ सय ३२ भारतीयले लुम्बिनी भ्रमण गरे । २०२० मा २ लाख १ हजार ३३ जना, २०१९ मा ११ लाख ७८ हजार १ सय ४० तथा २०१८ मा ११ लाख ७० हजार नेपालीले लुम्बिनी भ्रमण गरेका थिए ।
त्यसैगरी तेस्रो मुलुकका पर्यटकको संख्या १ हजार १ सय ९७ रह्यो । तेश्रो मुलुकका पर्यटकमा सबैभन्दा बढी अमेरीकाका १ सय ४० जना, चीनका १ सय ३९, जर्मनीका १ सय ८, रसियाका ८१, ब्राजिलका ५५, स्पेनिस ५३, श्रीलंकन ४१, डच २१, म्यान्माका २६, दक्षिण कोरियायाली ३६, युक्रने ३४ जापानी १३, थाई १० लगायतका ६८ मुलुकका पर्यटक आएका छन् ।
सन् २०२० को पहिलो ३ महिनामा ४५ हजार ३ सय २९ विदेशी पर्यटक लुम्बिनी आएका थिए । त्यसपछि भने कोरोना संक्रमणका कारण विदेशी पर्यटकको अवस्था शुन्य प्राय रहेको छ । सन् २०२० मा ८४ मुलुकका नागरिक लुम्बिनी भ्रमणमा आउँदा २०१९ मा ११५ मुलुकका पर्यटक लुम्बिनी आएका थिए ।
वर्तमान समयमा कोरोनाको प्रतिकुलताको बाबजुद आन्तरिक र भारतीय पर्यटकको लुम्बिनी आगमन संख्या राम्रो मान्नु पर्छ र विदेशी पर्यटकको हकमा अन्तर्राष्ट्रिय स्तरमा उडान अझै सुचारु नभएकाले कम भएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।
लुम्बिनी क्षेत्र भ्रमणमा आउने पर्यटकको संख्या तथ्यांकको आधारमा ठिकै रहेको लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा (जुपिटर) ले बताए । “हाल दिनको चार पाँच जना विदेशी पर्यटक लुम्बिनीमा देख्न पाउनु ठूलो कुरा हो । आन्तरिक र भारतिय पर्यटक संख्या राम्रो मान्नु पर्छ” उनल भने, “आन्तरिक र भारतिय पनि हाम्रो छिमेकका नै धेरै आउने गरेको हामीले पायौं, आन्तरिक र भारतिय पनि सेम डे रिटर्ननै बढी रहे ।”