आइएमई लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम

आइएमई लाइफ इन्स्योरेन्सले संस्थाका कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम सञ्चालन गरेको छ । कम्पनीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि सुर्खेतमा सो तालिम प्रदान गरेको हो ।
कम्पनीका अनुसार तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पत्ति शुद्धीकरण निवारण किन गर्ने, सम्पत्ति शुद्धीकरणको लक्ष्य, आतंककारी कार्यबाट संकलित कालो धनलाई बिमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, वित्तीय जोखिमांकको चरण, कम्पनीको भूमिका, कारबाही तथा सजाय आदि विषयमा अन्डरराईटिङ प्रमुख सुदीप राणाले जानकारी दिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, हेड एजेन्सी बिजनेस कर्म राज पौडेल, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख प्रेम तिमल्सिना, प्रमुख वित्त अधिकृत जगत बोहरा, प्रशासन र मानव संशाधन विभाग प्रमुख मनोज चौधरीसमेत तालिममा सहभागी थिए ।