जाने होइन पाथीभरा ? «

जाने होइन पाथीभरा ?


पाथीभरा देवीको दर्शनका लागि अहिले उपयुक्त समय होइन । मंसिर लागेसँगै चिसो बढ्दा दर्शनार्थीको संख्या घट्दै जान्छ । तर, यसपटक मंसिरको तेस्रो साता लागिसक्दा पनि पाथीभरा दर्शन गर्न जानेहरूको चहलपहल पहिले जस्तो घटेको छैन ।
अटल सौभाग्यकी प्रतीक मानिने पाथीभरा देवीको दर्शनका लागि विशेष गरी दशैँ बिदाको सदुपयोग गर्न पुग्नेको लाम लाग्छ । मुलुकमै पहिलो घामको झुल्को पर्ने जिल्लाको रुपमा परिचित सुदूर पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा अवस्थित पाथीभरा ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ ।
वर्षायाम सकिएपछि आन्तरिक र बाह्य पर्यटकको घुँइचो लाग्ने गरेको छ पाथीभरा मन्दिरमा । हिउँदमा चिसो बढेपनि दर्शनार्थीको चाप भने घटेको देखिँदैन । नेपालका विभिन्न स्थान तथा भारतबाट पाथीभरा माताको दर्शन गर्न मानिसहरू पुग्ने गर्छन् । मनोकांक्षा पुरा हुने आशामा पाथीभरा माताको दर्शन गर्न पूर्वी जिल्लाबाट मात्र होइन काठमाडौँ, धनगढी, पोखरा, भारतको आसाम, दार्जीलिङ र तेस्रो देशबाट आउने मानिसहरूसमेत भेटिन्छन् ।
पछिल्लो समय पदयात्रा र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने युवापुस्ताको जमात पनि बढ्दै गएको छ । उनीहरूका लागि पनि पाथीभरा सुरक्षित र आरामदायी गन्तव्य हो भन्दा फरक पर्दैन ।
कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने पाथीभरा मन्दिर क्षेत्रबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा, कुम्भकर्ण, मकालु, काङ्वाचेन, लोत्से हिमालको दृश्यावलोकन गर्न सकिन्छ । उदाउँदो र अस्ताउँदो घामको दृश्यावलोकन, जैविक विविधता अनुसन्धाताहरूका लागि प्राकृतिक संग्रालयका रुपमा यो क्षेत्र मानिन्छ ।
कसरी पुग्ने ?
समुन्द्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाईमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा हिमाली जिल्लामा पर्छ । सडकमार्गबाट झापाको बिर्तामोड, इलाम, पाँचथरको फिदिम हुँदै ताप्लेजुङ पुग्न सकिन्छ । झापाको बिर्तामोडदेखि ट्याक्सी तथा बसमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङसम्म पुग्न १ हजार रुपैयाँ गाडी भाडा लाग्छ । फुङलिङ बजारबाट सुकेटार विमानस्थल हुँदै सानोफेदीसम्म पुग्न ३ सय रुपैयाँ भाडा लाग्छ ।
फुङलिङ बजारबाट सुकेटारसम्म पक्की सडक भएपनि सुकेटार विमानस्थलदेखि सानोफेदीसम्म भने कच्ची सडकमा यात्रा गर्नुपर्ने हुन्छ । कच्ची सडकका कारण होचा गाडी र मोटरसाइकलमा यात्रा गर्नेहरूले पनि सुकेटार विमानस्थलदेखि अघि बढ्न सकिँदैन । सानोफेदीसम्म पुग्न ट्याक्सीमा नै यात्रा गर्नु पर्छ ।
झापाको बिर्तामोडबाट विहान सवेरै हिँड्ने यात्रु साँझ ५ बजेसम्म सानोफेदी पुग्न सक्छन् । सानो फेदीबाट सोही दिन अधिकांश भाग उकालो चढ्दै माथिल्लो फेदी गएर बास बस्न सकिन्छ । जसका लागि २ देखि ३ घण्टा पदयात्रा गर्नुपर्छ । दुवै फेदीमा बस्नका लागि होटलको व्यवस्था छ ।
ठूलोफेदी पुगेर बास बस्ने दर्शनार्थी पाथीभरा माताको दर्शनका लागि विहान ३ बजेदेखि नै गन्तव्य तय गर्ने गर्छन् । ठूलोफेदीबाट अक्सर ४ घण्टा पदयात्रा गरेमा पाथीभरा पुग्न सकिन्छ । ठूलोफेदीदेखि उकालो लागेसँगै बाटोको छेउमा धागो बाँधेर पदयात्रा गरिन्छ । बाटोमा धेरै स्थानमा घण्टी झुन्डाइएको, पैसा चढाइएको भेटिन्छ ।
उकालो चढ्न सक्नुभएन ? चिन्ता नलिनुस्
पाथीभरा दर्शनको पदयात्रा जति उचाइमा पुग्छ, त्यति शारीरिक थकान र स्वास्थ्य समस्या पनि देखिनसक्छ । उकालो बाटोसँगै तापक्रम शून्य रहने हुँदा पदयात्रीले टाउको दुख्ने समस्या झेल्न सक्छन् । त्यसैले पाथीभरा यात्रा गर्नुअघि मेडिकलबाट सामान्य ‘फस्ट एड किट’ बोके यात्रा थप सहज हुन्छ ।
अझ घरेलु उपचार सामग्रीहरू तातोपानी, भुटेका मकै, अदुवा, गरम खाद्य, चक्लेट, मिसिरी, पेय पदार्थ र न्यानो कपडाले पाथीभरा यात्रा सहज बनाउने पदयात्री धनगढीकी माया ढकालले बताउँछिन् । ‘पाथीभरा आउँदा मोबाइल, लौरो, क्यामेरा त सारथी नै हुन्’ उनी थप्छिन् ।
सानोफेदीकी रमा लिम्बुका अनुसार पाथीभराको मौसम छिनमै पानी पर्ने, छिनमै घाम लाग्ने त कहिले छिनमै कहिले कुहिरोले ढाक्ने खाल्को छ । पाथीभरा जाँदा वेलावेला सिमसिम पानी दर्किराख्नु पनि सामान्य हो । “त्यसैले तलबाटै प्लाटिकको घुम्टो बोके सहज हुन्छ” उनी भन्छिन्, “पानी नपरेको वेला प्रयोग गरे चाहिँ गर्मीले उकालो चढ्न असहज हुन्छ ।”
त्यसो त पाथीभराको कठिन यात्रा गर्न नसक्ने तर चाहना भएकाहरूका लागि स्थानीयले भरियाको काम पनि गरिदिन्छन् । सानोफेदीबाटै अशक्त दर्शनार्थीलाई सेवा दिने उद्देश्यले स्थानीय युवाले भरियाको कामसमेत गरेको देख्न सकिन्छ ।
स्थानीयका अनुसार भरियाले मन्दिरसम्म पु¥याएको शरीरको तौल अनुसार प्रतिकिलो एक सयदेखि दुईसय रुपैयाँका दरले शूल्क लिने गरेका छन् । यसरी मानिस बोक्ने भरीयाले सिजनमा मासिक ६० हजारसम्म कमाउने गरेको बताउँछन् । विशेष गरी तराई तथा शहरी क्षेत्रका मानिसलाई बोक्ने गरेको उनीहरूको अनुभव छ ।
हेली सुविधा
आजभोलि पाथीभरा दर्शनका लागि हवाइ यात्रा गर्नेको संख्या पनि बढिरहेको स्थानीयको अनुभव छ । अहिले दैनिक जसो हेलिकप्टर चार्टर गरेर दर्शनार्थीहरू तीर्थाटनका लागि आउँछन् ।
काठमाण्डौंदेखि हप्ताको दुईदिन ताप्लेजुङको सुकेटारसम्म पुग्न नेपाल एयरलाइन्सले उडान भर्ने गरेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरे बताउँछन् । धरानदेखि पाथीभरासम्म हेलिकप्टर सेवासमेत सञ्चालनमा छ ।
सुकेटार विमानस्थलबाट सिधै पाथीभरा जान पनि हेली सुविधा छ । सुकेटारबाट मन्दिर परिसरसम्म पुगेर फर्केको हेलिकप्टरले प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने गरेको घिमिरे सुनाउँछन् । समयसमयमा विराटनगर, चन्द्रगढी विमानस्थलबाट उडान सेवा गरिएपनि निरन्तर छैन । घिमिरे भन्छन्, ‘मौसममा आउने खराबीका समस्या भइरहन्छ ।’
मनोकांक्षा पूरा हुने विश्वास
पहाडको टुप्पोमा रहेको पाथीभरा देवीलाई साक्षत देवीका रुपमा मानिन्छ । यसको अवस्थिति अन्न भरेको पाथी जस्तै आकृतिको भएकाले नै पाथीभरा भनिएको कथन रहेको छ । यहाँको प्राकृतिक सुन्दरता पनि त्यतिकै भरिपूर्ण छ ।
देवीको उत्पतिसम्बन्धी किम्बदन्ती अनुसार भेडी गोठालाले गोठ पाथीभरामा सारेका बेला उनको सबै भेडाहरू हराएपछि उनी चिन्तित भएका थिए । राति देवीले आत्मबोध गराउँदै भेडा बलीसहित पूजाअर्चना गर्न निर्देशन दिएपछि उनले सोही अनुसार वलीसहित पूजा गरेपछि हराएका सबै भेडा फेलापरेका थिए । त्यसपछि देवीलाई साक्षत देवीको रुपमा पूजा अर्चना गर्ने प्रचलन रहिआएको धार्मिक मान्यता छ ।
परम्परागत मान्यता अनुसार ‘आफ्नो मनोकांक्षा पूरा गराउने’ भनेर परिचित यहाँ नौरथा सुरु भएपछि दर्शनार्थीहरूको घुइँचो लाग्छ । यहाँ पशुबली अनिवार्य नभए पनि दर्शनार्थीहरूले बोका, भेडा बली चढाउन सक्छन् ।
बनिँदैछ अक्सिजनसहितको उद्दार केन्द्र
पाथीभरा पदयात्राको आनन्द एकातिर छँदैछ तर यात्राका क्रममा केही यस्ता विषय पनि भोग्नुपर्छ, जसले तीर्थालुलाई दिक्क बनाइदिन्छ । उकालो चढ्दा पदयात्रीको सुविधाका लागि शौचालयको व्यवस्था त छ तर भित्र छिर्न सकिन्न । बाटोमा पिउने पानीको व्यवस्था नहुँदा दर्शनार्थी आवश्यक पानी बोकेर लैजान बाध्य छन् ।
पदयात्रीले भोग्ने यस्ता समस्यालाई मध्यनजर गर्दै सरकारले गत वर्ष पानीको व्यवस्थापनका लागि ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । उक्त योजना अन्र्तरगत सानोफेदीदेखि मन्दिर परिसरसम्म ६ वटा खानेपानीको ट्यांकी निर्माण भइरहेको छ ।
पानीको व्यवस्थापन भएसँगै ठाउँ–ठाउँमा शौचालय पनि बनाइने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले सुनाए । “पानी नभएकै कारण चर्पीको व्यवस्थापन गर्न नसकिएको हो । पानी आएसँगै यी समस्या हल हुनेछन्” उनी भन्छन् । उक्त योजना चालु आर्थिक वर्षको मंसिरमा सम्पन्न गर्नुपर्ने भएपनि निर्माण सामग्री ढुवानीका लागि मानिसले नै बोक्नुपर्ने भएकाले समयमै निर्माण सकिनेमा समितिका पदाधिकारी नै शंका गर्छन् ।
पाथीभरा क्षेत्रमा अक्सिजनसहितको ६ बेडको उद्धार केन्द्र र टि स्टेशनसमेत निर्माण गर्ने तयारी पनि रहेको घिमिरे बताउँछन् । चिसोका कारण अक्सिजनको कमि भएर बिरामी पर्ने दर्शनार्थीलाई मध्यनजर गरेर उद्धार केन्द्रको निर्माण गर्ने तयारी रहेको घिमिरेको भनाइ छ । पाथीभरा क्षेत्रमा विद्युत् सेवा पु¥याउनका लागि केन्द्रिय प्रशारण लाइनको विस्तार धमाधम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्