बेमौसमी मकै खेतीबाट राम्रो आम्दानी

दाङ-लमही नगरपालिका–८ का हरिनारायण चौधरीको परिवार अहिले मकै खेती स्याहार्न व्यस्त छ । चौधरीले करिव १५ कट्ठामा लगाएको मकै भर्खरै भाँचेर सकेका छन् । अघिल्लो वर्षको तुलनामा खेतीसमेत बढेकाले यस वर्ष राम्रो आम्दानी हुने आशा उनको छ ।
केही वर्ष अघिसम्म तोरी, मसुरो, गँहु रोप्ने र त्यसपछि सुख्खा हुने जमिनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम लागू भएपछि तोरी र मसुरो छोडेर मकै खेतीमा लागेको चौधरीले बताए । कार्यक्रम लागू नहुँदासम्म थोरै जमिनमा खेती गर्दै आएका चौधरीले कार्यक्रम लागूसँगै मकै खेती गर्ने जमिन बढाएका छन् । प्राविधिक सहयोग पाएपछि अहिले साढे तीन विगाह जमिनमा मकै खेती गरेका छन् ।
“पहिले घरका लागि थोरै जमिनमा हिउँदे मकै खेती गर्ने गरेको थिएँ,” उनले भने, “सुपरजोन कार्यक्रमले खेत जोत्नलाई ट्याक्टरदेखि गोड्नलाई यन्त्र सहयोग गरेपछि ठूलो स्केलमा खेती गर्न थालेको छु,” उनले भने, “१५ कट्ठा जमिनको मकै घरमा भिœयाइसकेको छु ।” कुनै बेलामा गोरुले खेत जोत्ने र मकै रोप्ने र फरुवाले खनेर मकै गोड्ने गरेका चौधरीले अहिले प्रविधिको प्रयोेग गरेर मकै रोप्नेदेखि गोड्नेसम्मको काम गर्दै आएका छन् । प्रविधिको प्रयोगले खेती गर्न सहज भएको उनले बताए ।
विगत केही वर्षयता चौधरीले तीन सिजनमा मकै खेती गर्ने गरेका छन । “पहिले मकै खेती बर्षादको समयमा मात्र गरिन्थ्यो, धेरै पानी परेर कहिले त मकै नै हुँदैन थियो,” उनले भने, “तर अहिले बर्खे मकैसँगै हिउँद र बसन्ते सिजनमा पनि खेती गर्ने गरेको छु ।” बर्खे सिजन भन्दा हिउँदे र गर्मी सिजनमा राम्रो मकै उत्पादन हुने र घरबाटै बिक्री हुने गरेको उनको अनुभव छ ।
त्यस्तै लमही नगरपालिका–२ का सुरज चौधरीले पनि १५ कट्ठा खेतमा मकै रोपेका छन् । ट्याक्टर प्रयोग गरेर उनले वर्षमा दुई सिजन मकै खेती गर्ने गरेका छन् । उनले पनि राम्रो आम्दानी गरेका छन् । “गर्न सके देउखुरीमा तीन सिजन नै मकै खेती हुन्छ,” उनले भने, “मकैबाट राम्रो आम्दानी गर्न सकिन्छ ।” उनको परिवारले पनि पछिल्लो समयमा मकैको व्यवसायिक खेती गर्न थालेको हो । “पहिले घरमा हरियो मकै बेच्ने चलन थिएन, घरमा खानका लागि थोरै खेती गरिन्थ्यो,” सुरजले भने, “२÷३ बर्षयता व्यावसायिक मकै खेती गर्न थालेको छु, यान्त्रीकरणको प्रयोगले सहज बनाएको छ ।” खेत जोत्नेदेखि घरमा आएको मकैको दाना छोडाउन प्रविधिको प्रयोग बढेपछि गाउँमा धेरै मकै खेती गर्न सुरु गरेको उनले बताए ।
लमहीकै अर्की किसान देवीमाया थापाको परिवार मकै रोप्ने तयारीमा छ । तोरी निकालेर खाली भएको थप्पामा थापाको परिवारले मकै रोप्न थालेको हो । केही वर्ष पहिलेसम्म तोरी काटेपछि खाली हुने जमिन पछिल्लो समय मकै खेतीमा प्रयोग गर्न थालेको थापा बताउँछिन । “पहिले वेमौसमी मकै खेती गर्दैन थियौं,” उनले भनिन्, “तर पछिल्लो समय गाउँमा धेरैले मकै खेती गर्न थालेपछि हामीले पनि सुरु गरेका हौं ।”
देउखुरीका करिव ५ हजार परिवारले मकै खेती गर्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै सपुरजोन कार्यालय लमहीका सूचना अधिकारी पिताम्बर बस्नेत बताए । सुपरजोन कार्यक्रमअन्तर्गत लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा गरी ६ हजार २ सय ९७ हेक्टरमा मकै खेती हुने गरेको छ । जसमध्य राजपुर र गढवा यस वर्षदेखि थप भएका स्थानीय तह हुन् । सुपरजोन कार्यक्रम लागू भएपछि वर्षमा दुई सिजन मकै खेती गर्ने किसानहरू तीन सिजन खेती गर्न थालेको बस्नेतले बताए । “केही वर्ष पहिलेसम्म वर्षमा एकसिजन मात्र मकै खेती गर्ने किसान पछिल्लो समय २-३ सिजन नै खेती लगाउन थालेका छन्,” सुपरजोनका सूचना अधिकारी बस्नेतले भने । यसले किसानलाई मकै खेतीतर्फ आकर्षित गरेको उनले बताए ।
कार्यक्रमले किसानलाई प्राविधिक सहयोग गर्दै आएको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्न कृषिमा यान्त्रिकरणको प्रयोगसँगै मकै रोप्ने तरिका, सिँचाइसँगै किसानले उत्पादन गरेको मकैको बजार व्यवस्थापनका लागि सहयोग गर्दै आएको बस्नेतले बताए । त्यस्तै कृषकलाई उद्यमशील बनाउन क्षमता विकास, कस्टम हायरिङ सेन्टर स्थापनासँगै किसानलाई यान्त्रीकरण सहयोगमा ५० प्रतिशत तथा सिँचाइ कार्यक्रममा ८५ प्रतिशत अनुदान सहयोग गर्दै आएको छ ।