महिला हिंसाका उजुरी सुगममा बढी «

महिला हिंसाका उजुरी सुगममा बढी

घरेलु तथा महिला हिंसाका कारण परेको उजुरी सबैभन्दा बढी सुगम क्षेत्रमा देखिएको छ । न्याय निरुपणका लागि संरचनागत व्यवस्था दुर्गम क्षेत्रमा नहुनु, कानुनको अज्ञानता, पारिवारिक दबाबका कारण दुर्गममा महिला हिंसा भए पनि उजुरी नपर्नु र सहरी क्षेत्रमा महिलाहरु शिक्षित बढी भएकोले अन्यायविरुद्ध उजुरी दिनु, महिला आयोग काठमाडौंमा मात्रै हुनाले अन्य प्रदेशभन्दा बढी हिंसाका उजुरी सुगमबाट आएका हुन् ।
राष्ट्रिय महिला आयोगको गत साउनदेखि कात्तिक मसान्तसम्मको तथ्याङ्क अध्ययन गर्दा सबैभन्दा बढी हिंसाका उजुरी प्रदेश ३ बाट परेको देखिन्छ । यो अवधिमा प्रदेश १ बाट १०, प्रदेश नम्बर २ बाट ९, बागमती प्रदेशबाट ४०७, गण्डकी प्रदेशबाट १२, लुम्बिनी प्रदेशबाट ९, कर्णालीबाट २, सुदूरपश्चिमबाट १ र प्रदेश नखुलाईएको उजुरीको संख्या ३ रहेको छ ।
गत आर्थिक बर्ष २०७७-०७८ मा प्रदेश १ बाट ७७, प्रदेश नम्बर २ बाट ७७, बागमती प्रदेशबाट ११ सय ७१ , गण्डकी प्रदेशबाट ५८, लुम्बिनी प्रदेशबाट ८०, कर्णालीबाट २४, सुदुरपश्चिमबाट ५३ र प्रदेश नखुलाइएको उजुरीको संख्या ३० रहेको छ ।
सबैभन्दा बढी मानसिक यातना दिने गरेको पाइन्छ । यो अवधिमा ५५७ मानसिक यातना सम्बन्धि हिंसा, ३२१ ओटा कुटपिटका २८७ ओटा आर्थिक यातना, ९१ ओटा चरित्र हत्या सम्बन्धि उजुरी परेको महिला आयोगको तथ्याङ्क छ ।
आयोगकी अध्यक्ष कमला पराजुलीले ७५ प्रतिशत हिंसा घर, नजिकका आफन्तबाट हुने गरेको जानकारी गराएकी छिन् । “हिंसामा परेकाले न्याय पाउन सुनिश्चित नभएको र घर परिवारसँग सम्बन्ध बिग्रिन्छ भन्ने डरले नै अधिकांश महिला हिंसा विरुद्ध उजुरी गर्न आउँदैनन्,” उनले भनिन् ।
महिला आयोगले गत आर्थिक बर्षमा हिंसा पीडितहरुमध्ये ५८ जनालाई मनोसामाजिक मनोविमर्श सेवा, २३१ जनालाई कानुनी परामर्श दिएको थियो । अयोगका प्रवक्ता श्याम प्रसाद श्रेष्ठले कोरोना भाइरस संक्रमणबाट बच्न सरकारले लगाएको लकडाउनका कारण हिंसा पीडितले उजुरी दिन नपाएको बताए ।
नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले आर्थिक वर्ष २०७७-०७८ मा आएका उजुरी मध्ये सबैभन्दा धेरै घरेलु हिंसाकै रहेको बताए । उनका अनुसार यसवर्ष १४ हजार २ सय ३२ वटा उजुरी प्रहरीमा आएका छन् । यो तथ्याङ्कले हिंसा सहन हुन्न भन्ने चेतना महिलामा बढेको देखिन्छ । तर घरभित्र भएका धेरैजसो हिंसाका घटना अझैपनि प्रहरीकहाँ पुग्न सकेका छैनन् । हिंसाको चरम अवस्थामा पुगेपछिमात्र पीडित प्रहरीकहाँ पुग्ने गरेको पाइन्छ । यसले महिला तथा किशोरीहरु घरभित्रै असुरक्षित रहेको कुरा पुष्टि गर्छ । महिला अधिकारकर्मी सरु जोशीले कानुनी व्यवस्थाको कडाइका साथ कार्यान्वयन हुन नसक्दा महिला हिंसाको घटना बढिरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्