मााछामा आत्मनिर्भर बन्दै दाङ «

मााछामा आत्मनिर्भर बन्दै दाङ

दाङ जिल्ला माछामा आत्मनिर्भर बन्दै गएको छ । केही वर्षअघिसम्म भारतबाट ल्याएर खपत हुने गरेको माछाको बजार अहिले आन्तरिक उत्पादनले बजार धान्न थालेको छ ।
कुनै समय माछाका लागि अरु जिल्लाको भर पर्ने दाङले अहिले वर्षेनि करिब ६ सय मेट्रिक टन माछा उत्पादन गर्ने गरेको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत महेन्द्रप्रसाद यादवले जानकारी दिए ।
जिल्लामा अहिले करिब १ सय ४१ हेक्टर क्षेत्रफलमा माछा पालन हुने गरेको छ । करिब २ सय २५ जना व्यावसायिक कृषक माछा पालनमा आवद्ध छन् । कुनै समयमा कार्प प्रजातीका माछा मात्रै पालन हुने गरेको जिल्लामा अहिले पंगास प्रजातिका माछा पालन हुन थालेसँगै माछा उत्पादनमा बढोत्तरी भएको मत्स्य विकास अधिकृत यादवले बताए । “पहिले पहिले कार्प प्रजातिमा कमन, सिल्भर, रोहु, नैनी लगायत माछा पालन हुन्थ्यो अहिले त पंगास प्रजातिका बैखालगायत प्रजातीका माछा पालन हुन थालेसँगै माछाको उत्पादन पनि बढेको छ” मत्स्य विकास अधिकृत यादवले भने ।
जिल्लामा वार्षिक रुपमा उत्पादन हुने माछाको बजार भने बाह्रै महिना धान्ने अवस्थामा नपुगेको उनले जानकारी दिए । खासगरी, चैत्र, वैशाख, जेठ महिनामा अहिले पनि अन्य जिल्ला वा भारतको माछाको भर पर्नु पर्ने अवस्था रहेको उनले बताए । बाँकी समय भने आन्तरिक उत्पादनले बजारको माग धान्ने गरेको छ ।
व्यावसायिक रुपमा माछा पालन गर्ने कृषकको आकर्षण बढ्दै गएको र राज्यले माछा पालनका लागि कृषकलाई पनि सहुलियत प्रदान गर्ने नीति बनाएकाले यसतर्फ कृषकको रुची बढ्दै गएको उनी बताउँछन् । यद्यपि, माछा खाने उपभोक्ताको अवस्थामा भने सुधार आउन चुनौतीपूर्ण रहेको मत्स्य विकास अधिकृत यादवले बताए ।
स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक भएपनि काँडाको डरले माछा खानेको संख्या अपेक्षा अनुरुप बढ्न नसकेको उनको भनाइ छ । “माछा खानेहरुको संख्या मासु खानेको अनुपातमा कमी देखिन्छ, मानिसहरु रेड मिटमा आकर्षित छन्, जिल्लामा माछाको अपत बढाउन सचेतना पनि आवश्यक छ जस्तो लाग्छ” उनले भने । उत्पादनको सिजनमा माछाको खपत हुन नसक्दा जिल्ला बाहिर पनि निर्यात हुने गरेको उनले जानकारी दिए ।
अहिले पनि जिल्लामा माछाको खपत हुन नसकेको अवस्थामा रुकुम, रोल्पा, सुर्खेतसम्म कृषकले माछा बिक्रीका लागि पठाउने गरेका छन् । माछाको बजार राम्रो रहेकाले कृषकले माछामा घाटा व्यहोर्नु पर्ने अवस्था नरहेको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ । विज्ञ केन्द्रका प्रमुख डा. बेदबहादुर केसीले जिल्लामा माछाको खपत बढाउन र बाह्रै महिना उपलब्ध हुन सक्ने गरी योजनाका साथ कार्यविधि बनाएर काम गर्न थालिएको जानकारी दिए ।
जिल्लामा अहिले पनि वार्षिक प्रतिव्यक्ति १.०८ केजी माछा मात्रै खपत हुने गरेको छ । वार्षिक रुपमा कम्तिमा ५ केजी माछा प्रतिव्यक्ति खपत हुनु पर्ने हुन्छ । जिल्लामा माछाको उत्पादन बढाउन र कृषकलाई मत्स्य पालनमा टेवा दिन चालु आर्थिक वर्ष २०७८÷०७९ का लागि प्रदेश सरकारले फिस मिसन कार्यक्रमका लागि ५० लाख बजेट विनियोजन भएको मत्स्य विकास अधिकृत यादवले बताए । उक्त बजेट पोखरी निर्माणका लागि माछा पालक कृषकलाई सहुलियतमा प्रदान गरिने छ । जसअन्तर्गत प्रतिहेक्टर पोखरी निर्माणका लागि ५ लाख विनियोजन गरिएको उनको भनाइ छ । यो कार्यक्रमका लागि प्रदेश सरकारबाट अझै कार्यविधि आई नसकेकाले सूचना प्रकाशन नगरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्