सहकारीको विकृति नियन्त्रणमा राज्य चनाखो हुनुपर्छ : उपराष्ट्रपति «

सहकारीको विकृति नियन्त्रणमा राज्य चनाखो हुनुपर्छ : उपराष्ट्रपति


उपराष्ट्रपति नन्दबहादुर पुनले सहकारी क्षेत्रमा देखिएका विकृति नियन्त्रण गर्नमा राज्य चनाखो हुनुपर्ने बताएक छन् ।
“सहकारीप्रति आम सर्वसाधारणको चासो र विश्वास बढ्दै गएको छ” बुधबार चौथो ललितपुर साकोस समिट उद्घाटन गर्दै उनले भने, “सहकारीमा देखिएका विकृती, विसंगति नियन्त्रण गर्नमा सरकार चनाखो बन्नुपर्छ ।”
उपराष्ट्रपति पुनले आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी पहिलो माध्यम बन्नुपर्ने बताए । सहकारीमार्फत अधिकतम पुँजी प्रयोग गरी आर्थिक विकासमा जोड पनि आग्रह गरे । सहकारी विश्व अर्थतन्त्रमै मेरुदण्डको रुपमा रहेकाले नेपालमा पनि सहकारीको विकासका लागि ध्यान दिनुपर्ने उनले बताए ।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले केही सहकारीका बदमासी र खराबीका कारण यो क्षेत्र बदनामी भएको बताइन् । सहकारीले निक्षेप पनि बढीमा लिएर कर्जामा पनि बढी लिएको भन्दै अब उत्पादन र उद्यमशीलता बढाउन निक्षेप तथा कर्जा दुवैमा ब्याज घटाउन सुझाव दिइन् ।
कृषिमा ६८ प्रतिशत जनता आश्रित भएपनि वर्षेनि २ खर्ब भन्दा बढी कृषिजन्य वस्तु आयात हुनु दुखद भएको उनले बताइन् । सहकारीमार्फत उत्पादन, रोजगारी र उद्यमशीलता बढाउन उनले निर्देशन दिइन् ।
सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले अनुगमन प्रभावकारी बनाउन लागिपरेको बताए । “अनुगमन गर्ने अधिकार राज्यलाई मात्र छ” उनले भने, “संघहरुले नियमन गर्न खोज्नु उपयुक्त छैन ।” उनले सन्र्दभ ब्याजदर निर्धारण गर्न छलफल भइरहेको जानकारी दिए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले तीन खम्बे अर्थनीतिमा सहकारीलाई अब्बल बनाउन आवश्यक भएको बताए । दिगो विकासका लक्ष्य हासिल गर्न सहकारी अग्रपंक्तिमा आउनुपर्ने उनले बताए ।
केही सहकारीमा समस्या आएको भन्दै अध्यक्ष कँडेलले सहकारी र राज्य मिलेर समस्या निराकरण गर्नुपर्ने बताए । महासंघले १० वर्षे रणनीति बनाएर सहकारीको विकासका लागि लागिपरेको बताए ।
महासंघका पूर्वअध्यक्ष दिपकप्रकाश बास्कोटाले सहकारीमार्फत छरिएको पुँजी एकीकृत गरी राष्ट्र विकासमा लगाउनुपर्ने बताए । स्वदेशी पुँजी लगानी हुन नसकिरहेको अवस्थामा वैदेशिक ऋण र वैदेशिक लगानीमा प्राथमिकता दिन नहुने बताए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले स्थानीय तहले सहकारीलाई प्राथमिकता दिन नसकेको बताए । सहकारी क्षेत्रमा सञ्चालकको मनपरी रहेको, सुशासनमा हिँड्न नसकेको गुनासो आउने भएकाले त्यसलाई रोक्न राज्य र अभियान सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्