शिशुलाई हेरचाह केन्द्रमा राखेर आयआर्जनमा आमा

जिल्लाको म्याङ्लुङ नगरपालिका–८, आम्बुङकी २८ वर्षे डम्बरकुमारी लिम्बुका तीन छोरा र एक छोरी गरी चार सन्तान छन् । आठ वर्षकी छोरी कक्षा १ र ७ वर्षे छोरा एलकेजीमा पढ्छन् । उनका जुम्ल्या दुई छोरा छन् । उनीहरू अहिले तीन वर्षको पुग्दैछन् । ठूला दुई नानी हुर्काउन डम्बरकुमारीलाई निकै हम्मेहम्मे प¥यो । घरको काम र मेलापातमा कतिदिन त नानीलाई पिठ्युँमा बोकेर काम गर्न जानुपथ्र्यो ।
उनीहरूलाई विद्यालय जाने बानी बसाउन झन मुश्किल परेको थियो ।
तर, अहिले दुई जुम्ल्या छोराको बारेमा त्यति धेरै चिन्ता छैन । घरनजिकै खुलेको शिशु हेरचाह केन्द्रमा डम्बरकुमारीले छोराहरूलाई राख्न थालेको १५ महिना भयो । स्थानीय महिला आबद्ध शुम्भोलुङ महिला समूहले खोलेको केन्द्रमा बिहान १० बजेदखि साँझ ५ बजेसम्म छ महिनादेखि विद्यालय उमेरपूर्वका बालबालिकाको हेरचाह गर्ने व्यवस्था मिलाइएको छ । अहिले उनका छोराहरू आफैं केन्द्रमा जान थालेका छन् । हेरचाह केन्द्रमा गएर बस्ने, खेल्ने र आफूजस्तै अरु साथीसँग रमाउने उनलाई बानी परिसकेको छ । घरमा दुई–चारजना मान्छे आउँदा पनि हेरचाह केन्द्रमा रहेका शिशुहरू बोल्न डराउँदैनन् । आमाको काखबिनै पनि उनलाई घुलमिल गर्ने, खेल्ने, रमाउने, खाने बानी परिसकेको छ ।
त्यस्तै सन्जु राईको तीन वर्षकी छोरी पनि केन्द्रमा आफै जाने गरेकी छिन् । उनकी छोरी केन्द्रमा गएपछि ढुक्कले घरायासी काम गर्दै आएकी छन् । केन्द्र स्थापनाले शिशुलाई राम्रो मात्रै होइन, परिवारलाई नै सजिलोसमेत बनाएको छ । शिशुहरू स्याहार, सुसार गर्ने समय आमाहरूले अर्थोपार्जनका क्रियाकलापमा खर्चिएका छन् । आफूले उत्पादन गरेको वस्तुलाई बजारसम्म पु¥याउने अवस्था थिएन यहाँका महिलालाई । गाउँमै समूह स्थापना भएपछि यहाँको अवस्थासमेत फेरिएको छ । करेसाबारीमा उत्पादन भएको तरकारी तथा फलफूल बिक्री गर्ने बानीको विकासमात्रै भएको छैन । विभिन्न व्यवसाय गरी राम्रो आम्दानी लिनसमेत सफल बनेका छन् । खाली जमिनमा अदुवा, अकबरे, साग, मूलालगायत विभिन्न तरकारी उत्पादन गरी आम्दानी लिँदै आएका छन् । शिशुलाई केन्द्रमा राखेर बचेको समयमा आयआर्जनको काममा व्यस्त हुन्छन् यहाँका महिला । करेसामा उत्पादन भएको तरकारी बिक्रीबाट १० रुपैयाँ पनि आम्दानी नै हो भन्ने सोचको विकास भएको समूहका कोमलकुमारी लिम्बुले बताइन् । आफ्नै बारीमा उत्पादन भएको तरकारी बिक्रीले परिवार धान्नसमेत टेवा दिँदै आएको छ ।
तरकारी बिक्रीबाट मात्रै यहाँका माहिलाले मासिक १५ देखि २० हजार आम्दानी लिन थालेका छन् । गाउँमा रहेको समूहले एक्सन एड नेपालको सहयोगमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत देउराली सोसाइटीको सहजीकरणमा शिशु हेरचाह केन्द्र सञ्चालन गरेको छ । केन्द्रमा गाउँका १० जनासम्म बच्चा ल्याउने गरिएको छ । समूहले नै बच्चाको रेखदेखका लागि हेरालु राखेको छ । एकजना हेरालुबाटै केन्द्रमा आउने ८–१० जना बच्चाको रेखदेख, खुवाइपिलाइ र सरसफाइ हुन्छ । समूहको आफ्नै भवन छ । बच्चालाई आवश्यक कपडा, खेलौना, खाना बनाउने सामग्री आदि व्यवस्थापन गरिएको छ ।
केन्द्र खुलेपछि गाउँका महिलाको व्यक्तित्व विकास र आयआर्जन दुवैतर्फ सहयोग पुगेको समूहकी अध्यक्ष योगिता लिम्बूले बताइन् । ०६९ सालमा गठन भएको समूहमा गाउँका ३६ महिला सदस्य छन् । समूहले ०७१ सालबाट सामुदायिक शिशु हेरचाह केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्र सञ्चालनका लागि समूहले स्थापना गरेको अक्षयकोषमा अहिले पाँच लाख १५ हजार जम्मा गर्ने गरेका छन् । समूहमा सदस्यहरूले मासिक १० रुपैयाँ बचत गर्दै आएका छन् भने हेरचाह केन्द्रमा शिशु राख्ने सदस्यले मासिक एक सयका दरले सो कोषमा जम्मा गरिरहेका छन् । स्थानीयवासी प्रेमबहादुर सम्बाहाम्फेले निःशुल्क पाँच आना जग्गा दिएपछि समूहका महिला आफैंले तीन लाख लागतमा एक तले भवन बनाएका छन् । अध्यक्ष लिम्बूका अनुसार लिम्बू समुदायको बाहुल्य रहेको गाउँका महिलाले बच्चालाई केन्द्रमा राखेर आयआर्जनका गतिविधि गरेका छन् । कतिपयले बाख्रा, बंगुुर पशुपालन गरेका छन् भने कतिपयले अदुवा, अकबरे र तरकारीखेती गरेका छन् । त्यसबाट आएको रकमले उनीहरूको व्यक्तिगत र पारिवारिक जीवनलाई सहज बनाएको अध्यक्ष लिम्बूको भनाइ छ । केन्द्र स्थापनाले गाउँका महिलाको दैनिकीसमेत फेरिएको छ ।