मेयरको घर अगाडि फोहोर फाल्दै विरोध प्रदर्शन

जनकपुरका स्थानीय जनप्रतिनिधिले मेयरको घरअघि फोहोर फालेर विरोध प्रदर्शन गरेका छन् ।
चाड पर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइ गर्न ध्यान नदिएको भन्दै मेयर लालकिसोर साहको घरअघि स्थानीय जनप्रतिनिधिले फोहोर फालेर विरोध गरेका हुन् । उनीहरूले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनका लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको आरोप लगाएका छन् । वडा नम्बर–१ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साह, वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहलगायतले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् ।
वडाध्यक्ष साहले भने, “हामीले यो भन्दा पहिला पनि धेरै पटक फोहोर व्यवस्थापन हुनुपर्छ भनेका थियौं, तर मेयर साबले फोहोर व्यवस्थापनका लागि कुनै चासो नै देखाउनु भएन, जनताप्रति उहाँले बेवास्ता गर्नुभयो, उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापनलाई मेयर साबले वास्ता नै गर्नुभएन, फोहोर व्यवस्थापन हुनुपर्छ भनेर ल्याण्डफिल्ड बनाउनुपर्छ भन्दै आएका छौं, तपाईंले नसके हामी वडाध्यक्षको समूह बनाएर काम गर्छौं भन्दा पनि उहाँले मान्नुभएन, काम नगर्ने मेयर अनि गाली खाने हामी वडाध्यक्ष ? उहाँचाहिँ अहिले काठमाडौं घुम्न जाने चाडबाडको बेला, रमाइलो गर्ने ?”
प्रहरीले नगरप्रमुख साहको घर अगाडि फोहोर फाल्न नदिएपछि उनीहरूले उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर धर्नामा बसेका थिए । वडाध्यक्षहरूले फोहोर व्यवस्थापनका लागि चासो नदेखाएको, आफूहरूलाई ट्याक्टरसमेत उपलब्ध नगराएको र जनताप्रति बेवास्ता गरेको र आफू भ्रष्टाचारमा मात्र केन्द्रित बनेको आरोप लगाएका छन् । जनकपुरधाम उपमहानगरभित्रका विभिन्न वडामा थुपारिएको फोहोर व्यवस्थापनमा असहयोग गरेको भन्दै नगरप्रमुख साहप्रति जनप्रतिनिधिहरू पनि आक्रोशित बनेका छन् ।